कथा : वान साइड लव

दीपक जीएम आर्जव

Buddha International Hospital

 

Advertise with us

गहभरी आँशु लिई सागर आफैमा बरबराई रहेको हुन्छ । खै दैवले के त्यस्तो नगर्नु गरेछन् । र जसले गर्दा आज आएर आफ्नो जीवनलाई धिक्कार्दैछ । बेडमा रहेको फोटो हेर्न थाल्छ र अतितका पाना पल्टाउन पुग्छ । जहाँ एउटा दलदलभित्र उसको सुन्दर संसार थियो ।मध्यम परिवारमा हुर्केको सागरमा कुनै कुराको कमी थिएन ।

हाँस्दै खेल्दै जीवनलाई पार गर्दै थियो कि अचानक उसको घर नजिकैमा कुनै नयाँ छिमेकको बसाइँसराई हुन पुग्छ । सागर कलेजबाट फर्किन्छ र घरमा आफू पास भएको खुशखबरी सुनाउँछ । यो सुनेर उसका परिवार हर्षित हुन पुग्छन् । तर अचानक सागर झस्कन्छ किनकी घरमा उसको परिवारबाहेक अरु सदस्यहरु पनि हुन्छन् तर सागरले नचिनेको कारण एकटकसँग उनीहरुतिर टोलाईरहन्छ ।

यत्तिकैमा सागरको आमाले उसलाई “नमस्ते गर बाबु हाम्रो नयाँ छिमेकी र तेरो बुबाको पुरानो साथी हुनुहुन्छ ।” सागरले सबैलाई नमस्ते भनि सम्बोधन गर्दछ । अनि किचनमा पुग्छ । उसलाई निकै भोक लागेको कारण किचनमा केही पाकेको छ कि भनेर हेर्न थाल्छ र उसको नजर अचानक झ्यालदेखि बाहिर अर्को घरमा पर्छ । जहाँ एउटा सुन्दर युवती हुन्छे ।

 

सागर एकटकसँग ती युवतीतिर हेर्न थाल्छ र मनमनै आहा कति उज्यालो अनुहार, कति लामो केश कुनै कुराको कमी नभएको सायद नै भगवानले स्वर्गकी परीलाई पृथ्वीमा उतारेछन् । यतिकैमा सागरको आमाको आगमन हुन्छ जसले गर्दा सागरको ध्यान भंग हुन्छ र उ केही नबोली त्यहाँबाट निस्कन्छ । हातमा एउटा पेन्सील कापी लिन्छ, अघि देखिको ती युवतीको आकृतिलाई कापीको पानामा उतार्न थाल्दछ । एकाएक ढोकामा टकटकको आवाजले उ झसँग हुन्छ ।

हत्त न पत्त कापी लुकाउँछ अनि ढोका खोल्छ । ढोका खुलेको मात्र के हुन्छ ऊ केही बोल्न नपाउँदै “हाई म प्रिया तपाईलाई मैले डिस्टर्व त गरिन” अकमकाउँदै सागर बोल्छ– हैन हैन केही होइन, म त यत्तिकै बसिरहेको थिएँ । बरु भित्रै आउनुहोस् न । उनीहरुबीच कुराकानी हुन थाल्छ । रमाइला रमाइला मीठा मिठा गफहरु हुन थाल्छन्, त्यत्तिकैमा तलबाट प्रिया जाने होइन भनि प्रियाको आमाले आवाज दिनुहुन्छ । ल म जान्छु है भन्दै प्रिया तल ओर्लिन्छिन् ।

सागर बेडमा पल्टिन्छ र अघिका क्रियाकलापहरुलाई सम्झिन थाल्छ । अर्को दिन विहान सागर कलेज पुग्छ र प्रियालाई आफ्नो कलेजको गेटमा देख्छ । प्रियाले सागरलाई त्यही कलेजमा भर्ना लिएको कुरा बताउँछिन् । सागर खुशी हुन्छ र यसरी उनीहरु एउटै कक्षामा पढ्न थाल्छन् । नजाने कुराहरु एक आपसमा छलफल गर्न थाल्छन् । उनीहरुबीच मित्रता गाढा हुँदै जान्छ । सागर भने प्रियालाई भित्र भित्रै मन पराउन थाल्छ । तर भन्न सकिरहेको हुँदैन । अनि मन मनै “भोलि प्रेम दिवस हो म जसरी भए पनि आफ्नो मनको कुरा भन्छु ।” के उनले मेरो प्रेम प्रस्ताव स्वीकार गर्लिन् त । यस्ता कुराहरु मनमा खेलाउँदै एउटा पत्र कोर्न थाल्दछ । केही क्षणपश्चात उ बजार पुग्छ र प्रियाको निम्ति एउटा गिफ्ट किन्छ अनि घर फर्कन्छ ।

भोलिपल्ट विहान उ कलेज पुग्छ अनि प्रियासँग भेट्छ । प्रियालाई अरु दिनभन्दा आज अलि खुशी नै देख्छ । जस कारण न हिच्किचाई उ प्रिया सामु गई उभिन्छ । सागरले केही भन्न खोजेको हुन्छ कि प्रियाले पे्रम दिवशको शुभकामना भन्दै आफ्ना झोलाबाट गिफ्टको प्याकेट निकालेर दिन्छिन् । सागरले धन्यवाद भन्दै आफूसँग ल्याएको गिफ्ट र पत्र प्रियालाई दिन्छ । दुबै जना निकै खुशी हुन्छन् । प्रियाले त्यो पत्रमा के लेखेको छ भन्दै प्रश्न गर्छिन्– सागरले केही होइन, घर गएर पढ्नु ।

हुन्छ भन्दै पत्रलाई प्रियाले आफ्नो गोजीमा राख्छिन् । अनि उनीहरु आफ्नो कक्षातिर लाग्छन् । केही समयपछि प्रियालाई पत्र पढ्दै गरेको देख्छ ,सागरको ढुकढुकी बढ्न थाल्छ ’’ ला अब के हुन्छ ,के उनले मेरो प्रेम प्रस्तावलाई स्वीकार्छीन होला त…! सागरको एकतर्फी मायाले उसलाई सोच्न बाध्य बनाएको थियो ,मनमा अनेकौ कुराहरु खेलाउँदै सागर आफ्नो कक्षा तिर लाग्छ ।

बेलका कलेज बाट फर्किदै गर्दा सागरको नजर प्रिया माथी पर्न जान्छ ,शायद उनी केही किनमेल गर्दै थिइन । प्रियाले नदेख्ने गरी सागर एक कुनामा गई लुक्छ अनि प्रियालाई गुपचुप हेर्न थाल्छ ,मनमनै ’’ कति मिलेका दांत अनि त्यही माथी घायल पार्ने त्यो लजालु मुस्कान जसको निम्ति म सारा सँसारलाई जित्न सक्छु होला ,उनको त्यो स्पर्शरुपी कोमल शरीर अनि चिट्टिक्क परेको उनको जीउडाल लाग्छ उनलाई भगवानले मेरै निम्ति यो पृथ्वीमा पठाएको हुन ’’ । त्यतिकैमा कसैले उसको ध्यान भंग गर्दै चिम्टी लाउछ । ’’ अइया नि मार्यो भन्दै सागर पछाडी फर्किन साथ प्रियालाई देखेर झसंग झस्किन्छ ।

’’ के भयो सागर के सोच्दै बसेको छौ भनी प्रियाले प्रश्न गर्छिन , अक्क्मकाउदै सागरले जवाफ दिन्छ ’’ के केही होइन ,म त यतिकै…’’ । ’’ल हिंड घर जाउँ भन्दै प्रियाले सागरको हात समाउँदै तान्छिन ,प्रियाले यसरी हात नै समाएर हिंडेको देखेर सागर मख्ख पर्छ । क्षणभर मै दुवैजना घर पुग्छन ,’’ म अहिले जान्छु बेलका भेट ल मलाई ,तिमीलाई सरप्राइज दिनु छ ’’ ।

प्रियाको कुरा सुनेर सागर मख्ख पर्छ ’’ बाटोभरि किन केही भनेनि भनेको त प्रियाले मलाई सरप्राइज दिनको लागी पो रहेछ ’’ खुसी हुदै सागर घर भित्र छिर्छ र बेडमा गई पल्टिन्छ। प्रियालाई सम्झिदै आफ्नै दुनियामा सोच्न बाध्य हुन्छ ,’’आजको दिन मेरो लागी एकदमै महत्वपूर्ण छ ,मेरो जीवनको अमूल्य क्षण भनेकै प्रियाले मलाई स्वीकार गर्नु हो जून की आज आएर पूरा हुदैछ ।’’

“सागर ए सागर भनी आमाले बोलाउनु हुन्छ’’ हजुर आमा भन्दै सागर आमा सामु गई उभिन्छ ।’’ सुन त बाबु म बजार जांदै छु केही सामान किनमेल गर्नु छ ,तँ कतै नगएस हैं बाबु ’’ ।’’ हुन्छ नि आमा भन्दै सागरले शिर हल्लाउँछ । घरमा आफू एक्लो भएपछि हत्त न पत्त छतमा जान्छ अनि प्रियालाई हेर्न थाल्छ ,तर प्रियालाई नदेखे पछि निराश हुदै तल कोठामा झर्छ । त्यतिकैमा ढोकामा बजेको घण्टीले सागर झसँग झस्किन्छ ,ढोका खोल्न पाएको हुदैन की प्रियाले सागरलाई अँगालो मार्छीन । सागरको खुसीको सीमा रहँदैन ,उसलाई के गरम कसो गरम हुन थाल्छ ,प्रियाले सागरको हातमा एउटा फोटो थमाउँदै भन्छिन ’’ हेर न कस्तो छ यो फोटोको मान्छे,यदि तिमीलाई मन पर्दैन भने म यो केटा संग बिहे गर्दैन’’।

सागरको होस उडछ ,क्षणभर मै उसको सपना चकनाचुर हुन पुग्छ ,आँखा भरी आँसु ल्याउँदै फोटो हेर्छ अनि प्रियाको आँखामा हेर्दै बोल्छ ’’ तिम्रो रोजाई एकदम राम्रो छ मलाई मन पर्यो ’’ । सागरको कुरा सुनेर प्रिया खुसीले उफ्रीन थाल्छिन ’’ मलाई थाहा थियो मेरो मिल्ने साथीले यही नै भन्छ भनेर ,थ्यांक यु सो मच सागर ’’ ऊ बाहिर नै छ म बोलाउँछु हैं भन्दै ’’ राज आउ न भित्र भनी सम्बोधन गर्छिन ? ’’हुन्छ भन्दै आँखा बाट चुहिन थालेका आँसुहरु पुछ्दै पीडालाई आफू भित्र लुकाउँदै देखावटी मुस्कान दिन्छ ।

प्रियाले दुवैजनाको एकअर्का संग परिचय गराउँदै राजको हात समाउछिन’’। “अ साची सागर तिमीले दिएको पत्र मैले अहिले सम्म पढेकै छैन ,राजले राखेको पत्र मार्फत प्रेमप्रस्तावले मैले सबथोक भुलेछु त्यसैले तिमीले दिएको पत्र पढ्न नै पाएकी छैन’’ अनि सुन न राज मेरो एकदम मिल्ने साथी भनेको सागर नै हो’’ । राज हांस्दै सागर तिर हेर्छ अनि ’भेटेर खुसी लाग्यो ल अब हामी जान्छौ हैं भन्दै प्रियाको हात समाउछ, बाय भन्दै प्रिया अनि राज निस्किन्छन ।

उनीहरू जांदै गरेको देखेर सागरको आँखा बाट आँसुका धाराहरु बग्न थाल्छन ,आफूले माया गरेको मान्छे यसरी क्षणभर मै टाढिन्छ भनेर सागरले कल्पना पनि गरेको थिएन । रुंदै बेडमा पल्टिन्छ, उसका सपनाहरु सबै निस्सासिएर बिलिन भएका थिए ।

यसरी टुक्रेको मुटुलाई गांठो पार्दै सागर कलेज जान छोड्छ र बुवाको व्यापारमा सघाउन थाल्छ ,घरमा बुवाआमा छोरामा आएको परिवर्तन देखेर अचम्म परेका हुन्छन । यता प्रिया भने राज संग आफ्नो बेग्लै दुनियामा रमाइरहेकी हुन्छिन ,राजलाई भेटे देखी सागरलाई पूर्णरुपमा बिर्सेकी हुन्छिन । कलेजमा सागरलाई नदेखेर धेरैले प्रियालाई सागरको बारेमा सोध्छन तर उनीहरूको कुराहरुलाई बेवास्ता गर्दै राज संग खुसहाल जीवनमा आफूलाई पुरै समर्पित गरेकी हुन्छिन ।

दिनहरु बित्दै जान्छन ,प्रिया सागरको घर पुग्छिन अनि सागरको आमासँग ’’ सागर खोइ नि आन्टी ,धेरै भयो उनलाई मैले देखेकै छैन ..? खोइ नानी एकाएक हामीलाई केही नभनी कलेज जान छोड्यो अनि अहिले त बुवा संग नै ब्यापारमा लागेको छ ,पढ भन्दा मान्दैन अनि के भन्नु त नानी..! आन्टीको कुरा सुनेर प्रियालाई सागरमा आएको परिवर्तनलाई देखेर अचम्म लाग्छ अनि केही नसोची उतिखेर नै पसलमा पुग्छिन जहा सागर ग्राहकहरुलाई सामान बेच्दै थियो ।

सागरको नजिकै पुगी सोफामा बस्छिन’’ सागर के भयो तिमीलाई किन कलेज जान छाड्यौ..म संग पनि भेट्दैनौ आजभोलि…! सागर बडो नम्र भएर उत्तर दिन्छ’’ यहा बुवालाई सघाउने कोही नभएर मैले कलेज छोडेको हु अनि तिमीलाई पनि त यतिका दिन सम्म मेरो सम्झना आएन नि शायद राज भेटिएर होला होइन र प्रिया…! सागरको रुखो शब्दहरुले प्रियाको मन खिन्न हुन्छ अनि केही नबोली उनी त्यँहा बाट निस्किँछिन ,सागर पनि प्रिया संग गरेको आफ्नो अभद्र ब्यावहारले दुखी हुन्छ ।

दिनहरु बित्ने क्रम चलिरहन्छ ,प्रिया अनि राजको भेट नभएको धेरै भएको हुन्छ ,फोन पनि अ‘ाफ भएको हुंदा राजलाई भेट्ने धेरै प्रयास गर्छिन तर उसको कुनै अत्तोपत्तो हुदैन जसले प्रियालाई अत्यन्त दुखीत बनाएको हुन्छ ।

एकदिन एक्कासी प्रिया रुंदै सागरलाई भेट्न आउँछिन ,प्रियालाई यसरी रोएको देखेर सागर चकित हुन्छ अनि प्रियालाई के भयो भनी सोध्न थाल्छ तर प्रिया केही बोल्दैनीन ।

धेरै सम्झाउँदै जादा अन्तमा प्रियाले सुकसुक गर्दै सागरलाई सबथोक बताउँछिन ,जून कुरा सुनेर सागर छांगा बाट खसे झै हुन्छ । प्रिया भने पुनस् रुन थाल्छिन अनि रुंदै बोल्छिन ’’ धेरै दिन भयो राज संग सम्पर्क छैन ,उसको फोन लाग्दैन र उसको घर कहां हो मलाई थाहा पनि छैन,अब यो पेटमा भएको नासोलाई लिएर म कहां जाउँ। को संग गुहार मांगु तिमी नै भन सागर…!

प्रियाको दयनीय कुरा सुनेर र उनको यस्तो अवस्था देखेर सागर गहिरो सोचमा पर्छ, कसरी प्रियालाई पीडा मुक्त बनाउ भनी सोच्न थाल्छ । प्रिया रुंदै’’ म मर्छु सागर ,मलाई बिष देउ अब म बांचेको कुनै सार छैन ,बेलैमा होस नपुर्याउदा आज मेरो यो दुर्ग्ति भएको छ’’…….।

सागर केही बोल्दैन ,सागरलाई निशब्द देखेर प्रिया झन दुखी हुन पुग्छिन र रुंदै त्यँहा बाट जान लाग्दा सागरले प्रियाको हात समाउँछ । प्रिया केही नबोली उभीरहन्छिन, सागर उनको सामु आई बोल्छ ’’ प्रिया तिम्रो पेटमा रहेको बच्चालाई म आफ्नो नाम दिन्छु र अर्को कुरा म तिमीलाई कहिल्यै पनि एक्लो महसुस हुन दिन्न ,मेरो बिस्वास गर प्रिया…! सागरले बोलेका शब्दहरुले प्रियाको मन हल्का हुन्छ अनि केही नसोची सागरलाई अँगालो मार्छीन ।

दुवैजना मन्दिर गएर विवाह गर्छन र घर गएर आमबुवा सामु सबैथोक बताउँछन ,उनीहरूका कुरा सूनेर एक मन उनका बुवाआमाहरु रिसाउँछन भने अर्को मन सागरको साहस प्रति गर्व महसुस गर्छन ।