गाउँगाउँ पुग्दै विकास, शान्तिनगरका ९४ गाउँमा सडक पुग्यो

Advertise with us

दाङ, चैत २२ । दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

“हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म ९४ गाउँमा सडक पुगिसकेको छ ।” बाँकी रहेका तीन गाउँलाई पनि चालू आवमै सडकसँग जोड्ने लक्ष्य रहेको उहाँको भनाइ छ । उहाँले ग्रामीण क्षेत्रमा केही कठिनाइ भएको भए पनि चालू आवभित्रै सबै गाउँमा सडक सञ्जाल विस्तार गर्ने बताउनुभयो । सात वडा रहेको उक्त गाउँपालिकामा अहिलेसम्म नौ किलोमिटर मात्रै सडक ओटासिल रहेको छ । साथै गाउँपालिकाले खानेपानीलाई पनि विशेष महत्व दिएको छ । अहिले तीन सिँचाइ योजनाको काम भइरहेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

विकटमा स्वास्थ्यचौकी

गाउँपालिकाले तीन स्वास्थ्यचौकी निर्माण गरेको छ । गाउँपालिकाको विकट क्षेत्रको वडा नं १, ३ र ५ मा तीन स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष डाँगीले बताउनुभयो । वडा नं १ को पेदीखोला, ३ को बस्तेखोला र ५ को रगैँचामा स्वास्थ्य सेवा दिन थालिएपछि बिरामी उपचारकै लागि तीन घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँले जानकारी दिनुभयो ।

“यसअघि उपचारका लागि बिरामी तीन घण्टा बढी हिँड्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “तर अहिले स्वास्थ्य सेवा शुरु गरेपछि भने सहज भएको छ ।” साथै गाउँपालिकामा बिरामीलाई सहजरुपमा अस्पतालसम्म लैजान एउटा एम्बुलेन्स पनि खरीद गरिएको उहाँले बताउनुभयो । साथै बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

कृषिलाई तीन पकेटमा विभाजन

कृषिको लागि उपयुक्त रहेको उक्त गाउँपालिकाले कृषिलाई तीन पकेटमा विभाजन गरेको अध्यक्ष डाँगीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको उत्तरी क्षेत्रलाई अदुवा, बेसार, तोरी तथा बाख्रापालनका लागि वर्गीकरण गरिएको अध्यक्ष डाँगीले बताउनुभयो । त्यस्तै गाउँपालिकाको बीच भागलाई तोरी र गाईपालन तथा तल्लो भागलाई गहुँखेती तथा भैँसीपालनका रुपमा वर्गीकरण गरेको उहाँको भनाइ छ ।

यसरी वर्गीकरण गरेर गाउँपालिकालाई कृषिले समृद्ध बनाउने योजना रहेको उहाँको भनाइ छ । साथै किसानलाई प्रोत्साहन गर्न हातेट्र्याक्टर, मल, बीउ अनुदानमा उपलब्ध गराउने गरिएको अध्यक्ष डाँगीले बताउनुभयो । साथै मौरीपालक किसानलाई ८० घार वितरण गरिएको छ । गाउँपालिकाका सबै बस्तीमा अझै विद्युत् पुग्न नसकेको समेत उहाँको भनाइ छ । उहाँका अनुसार वडा नं १, २ र ३ का केही बस्तीमा अझै पनि विद्युत् पुग्न नसकेको हो ।