सेनाले बनायो अपांगमैत्री शौचालय

लमही,  चैत २२ | नेपाली सेनाले दाङ राजपुर गाउँपालिका–३ प्रतापुरमा रहेको बेला स्वास्थ्य चौकीमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ। रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाद्वारा दुईकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरिएको हो। अपाङ्गता भएका बिरामीलाई सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको गणका प्रमुख सेनानी सुमन थापाले बताए।

Buddha International Hospital

Advertise with us

मध्यपश्चिम पृतना हेटक्वार्टरको ‘क्वाइक इम्प्याक्ट प्रोजेक्ट’को रु दुई लाख र रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाको १८ दिनको श्रमद्धानबाट शौचालय निर्माण गरिएको हो। उक्त शौचालयको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरे। शौचालय स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरिएको छ।

त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष केसीले विकास निर्माणमा नेपाली सेना अग्रपङ्तिमा रहेको भन्दै उनले उक्त कार्यको प्रशंसा गरेका थिए। त्यस अवसरमा सेनानी थापाले देशको हितमा अहिलेसम्म काम गर्दै आएको तथा अझ दुर्गम र विकट क्षेत्रमामा विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने दाङका १८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा निर्वाचन क्षेत्रमा ६÷६ का दरले १८ सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको हो। विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए।

उनका अनुसार दाङ क्षेत्र नं १ मा गढवाका दुई, राप्तीका दुई र घोराही तथा राजपुरका एक/एक विद्यालय छनोट भएका छन्। त्यस्तै दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका तीन, बङ्गलाचुली गाउँपालिकाका दुई र तुलसीपुर उपमहानगरपालिकाको एउटा विद्यालय परेका छन्। त्यस्तै क्षेत्र नं ३ मा तुलसीपुर उपमहानगरका दुई, शान्तिनगर गाउँपालिकाका दुई, दङ्गीशरण र बबई गाउँपालिकाका एक/एक विद्यालय परेका छन्।

माविस्तरका विद्यालयको भौतिक संरचना प्रभावकारी भएको, विद्युत्, कम्प्युटर शिक्षकको उपलब्धता, विद्यार्थी सङ्ख्या, धेरै पिछडिएको वर्गका बालबालिका अध्ययन गर्ने गरेका आधारमा छनोट गरिएको उनको भनाइ छ।