महिला टी ट्वेन्टी लिगको अक्सनमा दाङका २ खेलाडी

Advertise with us

दाङ, चैत १८ । महिला टी ट्वेन्टी फ्रेन्चाईज क्रिकेटको अक्सनमा दाङका २ खेलाडी समेटिएका छन् । एनसीएल स्पोर्ट्स प्रालिको आयोजनामा बैजनाथ क्रिकेट मैदान विराटनगरमा वैशाख ७ गतेदेखि १४ मा हुने लिगको अक्सनमा लक्ष्मी चौधरी र सर्मिला रोका मगर समेटिएका हुन् ।

Buddha International Hospital

Advertise with us

आइतबार काठमाडौँमा भएको अक्सनमा नायिका रेखा थापाको काठमाडौँ सुपर च्याम्पियन्सले लक्ष्मीलाई ४० हजार र भैरहवा क्विन्सले सर्मिलालाई २५ हजार रुपैयामा अक्सनमा पारेको क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो । मुलुककै प्रतिष्ठित मानिने लिगमा जिल्लाका २ जना खेलाडी अक्सनमा पर्नु अत्यन्तै सुखद् पक्ष रहेको भन्दै अध्यक्ष मजगैयाले यो लिगले आगामी दिनमा अन्य नयाँ खेलाडीहरुलाई अक्सनमा पर्न उर्जा प्राप्त हुने बताउनुभयो ।

अक्सनमा दर्ता भएका जम्मा ८० खेलाडीमध्ये हरेक टिमले १३/१३ जना खेलाडी खरिद गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री, टोलीकी सदस्य सीता रानामगर, नेरी थापा, करुणा भन्डारी चार अलग/अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिएको थियो ।

क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीको सहभागिता रहनेछ । सहभागी टोलीका मालिक अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।

प्रतियोगिता खेल्न दर्ता भएका खेलाडीहरुलाई ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको थियो। अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ, बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ, त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहेको थियो।