गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ

 

Buddha International Hospital

काठमाडौं– गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

Advertise with us

महाशाखाले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुरमा गौचन लगायत अन्यको हत्यामा समीरमानकी श्रीमती मायाको पनि संलग्नता रहेको देखिएपछि उनलाई पनि पक्राउ गरिएको हो।

गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र  रोशन बुढाथोकीलाई पक्राउ गरेपछि उनको संलग्नता खुलेको देखिएको हो।
पक्राउ परेकाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिएका थिए। उनीहरुको बयानको आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।

समीरमानकी श्रीमतीको गौचन हत्या, गुण्डा नाइके दावामा लामामाथि गोली प्रहार, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या लगायतमा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको हो।

उनले दावालाई गोली हान्ने बेलामा काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिइकी थिइन्। पछि दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा भनिसकेका छन्।

गौचनलाई गोली हान्ने बेलामा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफूले गोली हानेको अम्बरले बताएका छन्।

पति समीरमान भने अहिले जेलमै छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते बस्नेतलाई सार्वजनिक गरेको थियो।