‘न सम्पत्ती रह्यो, न ईज्जत’

ढुकुटीको नाममा एउटा पुरुषले रित्याए दर्जनौँ महिलाको करोडको सम्पत्ती

 

Buddha International Hospital

दाङ, चैत १६  । आठ महिना पहिले चिनेकै अर्को महिलाहरुको सम्पर्कबाट घोराही १५ की अनु डाँगीको परिचय भयो महेश भनिने भुवन धितालसँग । भेटको क्रममा महिलाहरुको समुह बनाउने र पैसा जम्मा गरेर परेको बेला चलाउने गरी एउटा समूह पनि बन्यो । अहिले त्यो समूहमा २० जना भन्दा बढि महिलाहरु छन् ।

Advertise with us

पटक पटकको भेटपछि बनेको समूह र समूहका प्रति सदस्यले ५० हजारका दरले जम्मा गरेको रकम लिएर धिताल गए । अनुको समूहले यसरी पटक पटक गरेर लाखौँ रकम जम्मा गरेको ६ महिना पुग्यो । तर त्यो पैसा धितालले फिर्ता गर्ने व्यवहार देखाएनन् । त्यसपछि धितालले देखाए आफ्नो असरी अनुहार । हातपात, धाकधम्की, गालीगलौज गर्ने, जवरजस्ती गर्ने र मासिक रुपमा पैसा उठाएर जाने गर्न थाले ।

यो पीडा घोराहीकी अनु डाँगीको समूहलाई मात्र हैन, घोराही १० नारायणपुरकी लिला पुनलाई पनि भयो । १५ भन्दा बढि महिलाहरुको समूह बनाएर ढुकुटी खेलेकी पुनले घर मात्र गुमाउनु भएन, श्रीमान बेपत्ता हुनुभयो । त्यसको साथै लाखौँ रकम पनि धितालले खाएर र ईज्जत संग पनि खेलवाड गरे । घोराहीकी कमला बुढाको ७ लाख डुब्यो नगद मात्र डुबेन पाँच वटा खाली चेकहरु पनि लिएर धितालले मानसिक समस्या दिन थाल्यो ।

यी एक दुई जना महिलाहरु प्रतिनिधि महिलाहरु मात्र हुन् । शैक्षिक स्तर कमजोर भएका, एकल, श्रीमान विदेश गएका महिला समुहमा बसेर पैसा उठाउने र लगानी ग¥यो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउदै धितालले करोड भन्दा बढि ठगि गरेको र ती महिलाहरु माथी हातपात गर्ने गरेको प्रहरी अनुसन्धानले देखिएको छ ।

प्रहरीको कब्जामा धिताल

ढुकुटीको नाममा महिलाहरुबाट करोड भन्दा बढि रुपैयाँ ठगी गरेको र जवरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका महेश भनिने भुवन धिताललाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ठगी र जवरजस्तीकरणी गरेको भन्ने पिडितहरुको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ५ जना पिडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा छुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका धिताललाई दाङबाट भाग्ने क्रममा दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले धिताल माथी अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनेमा म्याद थप गरेको जनाएको छ भने थप अनुसन्धानका लागि सम्पत्ती शुद्धिकरण बिभागलाई समेत पठाउने जनाएको छ ।

करोड बढिको चेक र तमसुक बरामद

पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाई छ ।

त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला अनलाईनको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडि सहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटी समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका पीडित महिलाहरुले आफुहरुमाथि शोषण भएको बताए । घोराही १५ बस्ने अनु डाँगीले समुहमा बसेर रकम बचत गर्ने र काम परेको बेला चलाउने भन्दै धितालले योजना सुरु गरेको बताउनुभयो । उहाँले ७ लाख रुपैँया र साडे ६ तोला सुन बुझाएको र ४ वटा भन्दा बढि खाली चेकहरु हस्ताक्षर गरेर दिएको बताउनुभयो ।

‘ईज्जतसँग खेलवाड’

धितालले फन्दामा परेपछि पुजा वलीको साथीहरु छुटे, आफन्तहरु टाढा भए । दुई लाख रुपैया नगद गुमाएर मात्र भएन, एउटा डेढ तोलाको सिक्री समेत गयो । त्यति हुँदा हुँदै पनि बारम्बारको मानसिक यातना सँगै ईज्जतसँग खेलवाड भएकोमा ठुलो पछुतो छ ।

घोराहीको रिता मिजारलाई पैसा नदिएको भन्दै रातीमा खुकुरी नै देखाएपछि डेढ महिना घर छोडेर भाग्नु प¥यो । सम्पर्क विहिन भएर बस्नु पर्दा छोरीको पढाई विग्रियो । मिलन चौककी सपनाले जिल्ला प्रहरी कार्यालय दाङको प्राङगणमा आँसु नै झार्नुभयो । ‘पैसा त गयो, ईज्जत समेत बाँकी राखेन, सब थोक बर्बाद बनायो ।’

नारायणपुरकी लिला पुनले पैसा तिर्न नसकेपछि विष नै सेवन गर्नुभयो । उपचार पछि बाँच्नु भएकी पुन धितालकै यौन दुब्र्यबहारमा परेर घरबार नै विग्रियो । एक वर्ष देखि श्रीमान टेकबहादुर पुन बेपत्ता छन् । भएको एउटा घर पनि धितालले बेचेर खाईदिएपछि बाँकी केहि रहेन । घोराहीको अनु डाँगीका अनुसार तीन जना महिलाहरु बलात्कृत भएको बताउनुभयो ।

घोराही, फुर्सेखाली, नारायणपुर लगाएतका विभिन्न स्थानमा पुगेर महिलाहरुबाट विभिन्न लोभ देखाउने र पछि धम्की दिएर पैसा असुल्ने गरेको प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेयले बताउनुभयो । साथै आफु पत्रकार भएको, प्रहरीका हाकिमहरु सँग राम्रो सम्बन्ध भएको, वेज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाईदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिउनसभयो ।