ठगी र जवरजस्तीकरणी गरेको अभियोगमा दाङमा एकजना पक्राउ

घोराही, १५ चैत्र | लाखौ रुपैयाँ ठगी र जवरजस्तीकरणी गरेको अभियोगमा दाङमा एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका महेश भनिने भुवन धिताललाई ठगी र जवरजस्तीकरणी गरेको भन्ने पिडितहरुको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

Buddha International Hospital

Advertise with us

५ जना पिडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा छुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाई छ ।

त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला अनलाईनको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडि सहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटी समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका धितालले शैक्षिक स्तर कमजोर भएका, एकल, श्रीमान विदेश गएका महिला समुहमा बसेर पैसा उठाउने र लगानी ग¥यो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउदै व्यक्ति ठगिमा अग्रसर भएको प्रहरी अनुसन्धानले देखिएको छ ।

साथै आफु पत्रकार भएको, प्रहरीका हाकिमहरु सँग राम्रो सम्बन्ध भएको, वेज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाईदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ परेका धिताललाई दाङबाट भाग्ने क्रममा दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले धिताल माथी अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनेमा म्याद थप गरेको जनाएको छ भने थप अनुसन्धानका लागि सम्पत्ती शुद्धिकरण बिभागलाई समेत पठाउने जनाएको छ ।