लोप हुँदै कुसुण्डा भाषा

Advertise with us

 

Buddha International Hospital

दाङ,  ११ चैत्र| ‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । तर यो भाषा अहिले लोप हुने खतरामा छ । लोपोन्मुख जाति कुसुण्डा समुदायको भाषा लोप हुन थालेपछि समुदाय चिन्तित छ ।

Advertise with us

सिंगो समुदायमा पुर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् । ८२ वर्षीया ज्ञानीमैया कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डाले मात्रै भाषाको पुर्ण बक्ता हुनुहुन्छ । दाङको कुलमोडमा बस्दै आउनु भएकी ज्ञानीमैया र मसोट खोला बस्दै आउनु भएकी कमला कुसुण्डा भाषाको एक मात्र स्रोत हो । ‘थोरै धेरै बोल्नेहरु छन्, तर कुसुण्डा भाषाको विज्ञको रुपमा सिंगो समुदायका दुई जना महिलाहरु मात्र हुन् ।’ कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डाले बताउनुभयो, ‘अलि अलि यो भाषा जान्नेहरु पनि दैनिक बोल्दैनन्, आवस्यक परे बोल्ने हो, बोल्ने अबसर पनि हुँदैन, किनकी यो भाषा कसैले बुझ्नै सक्दैन ।’

यो भाषा जान्ने व्यक्तिहरु घट्दै जानु र नयाँ युवा पुस्ताले सिक्न नसक्नुको साथै सिक्ने वाताबरण नहुँदा यो भाषा अहिले संकटमा परेको छ । ‘देशभर १५÷२० घरधुरी कुसुण्डा छन्, उनिहरु फरक फरक स्थानमा बस्ने भएका कारण भाषा संरक्षणमा समस्या भएको छ ।’ अध्यक्ष धनबहादुरले भन्नुभयो । ‘अन्य समुदायले चासो दिएको छैन, यहि समुदायले यो भाषा जोगाउनु पर्ने बाध्यता छ, सरकारले हामीलाई एकै स्थानमा बस्ने वाताबरण मिलाए, कुसुण्डा समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण हुने थियो ।’

यो भाषा थोरै समय सिकेर नहुने कुसुण्डा समुदायका जानकार उदयराज आलेले बताउनुभयो । ‘यो भाषा केहि महिना सिकेर हुँदैन, धेरै कठिन भाषाको रुपमा कुसुण्डा भाषालाई लिने गरिएको छ ।’ उहाले भन्नुभयो, ‘यो भाषाका लागि सधैं बोल्ने र अभ्यास चाहिन्छ ।’ जंगलमा बाबुआमाबाट सिकेको भाषा नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेपछि भाषा नै संकटमा परेको अनुसन्धानकर्मी आलेले बताउनुभयो । ‘गाउँमा बसेपछि नेपाली भाषा नै बोल्न थालियो, पहिलो भाषाको महत्व थाहा भएन, जति बेला थाहा भयो, अहिले ढिलो भैसक्यो, कुसुण्डा भाषामा कसैले चासो दिएन ।’ समुदायमा यो भाषा जतिले जानेका छन, त्यसैमा सीमित भएको छ ।

कुसुण्डा विकास समाजका अनुसार दाङमा ९८ र देशभर २ सय ७३ जना कुसुण्डा छन् । ८२ वर्षीया ज्ञानीमैयालाई भाषा लोप हुने अबस्थामा पुगेको प्रति चिन्ता छ । ‘हामी त अब मर्ने बेला भैसक्यो, हाम्रो समय पछि यो भाषा जान्ने कोही छैनन्, नयाँ केटाकेटी सिक्नै मान्दैनन् ।’ ज्ञानीमैया भन्नुहुन्छ, ‘सबैले यो भाषा सिके हुन्थ्यो, ठाउँठाउँमा मलाई बोलाउनु हुन्छ, जान्छु, अहिले सबैले चासो त दिनु भएको छ तर सिक्ने काम भएको छैन ।’

कहिल्यै नसुनेका शब्दलाई कण्ठस्त पार्नुपर्ने, कठिन भाषा, दैनिक रुपमा बोलचाल नहुने भएपछि यो भाषा सिक्नेहरुलाई समेत समस्या भएको ज्ञानीमैया बताउनुहुन्छ । तर भाषा कठिन भएपनि आफ्नो भाषा सिक्नै पर्ने बाध्यता रहेको समाजका अध्यक्ष धनबहादुरले बताउनुभयो । ‘जातिको पहिचान बचाउनको लागि पनि कुसुण्डा भाषा सिक्नै पर्ने बाध्यतामा छौँ ।’ धनबहादुरले भन्नुभयो, ‘भाषा हरायो भने कुसुण्डा जातिको संस्कृति र पहिचान नै हराउने खतरा छ ।’

‘समुदाय आफै लोपन्मुख अबस्थामा रहेको छ, भने यो समुदायको भाषा लोप हुने अन्तिम खतरामा छ ।’ कुसुण्डा भाषाको अनुसन्धानकर्ता तथा साहित्यकार टीकाराम उदासीले भन्नुभयो, ‘कुनै पनि भाषासँग नमिल्ने भएका कारण पनि यो भाषा सिक्न धेरै गाह्रो छ ।’ केही अनुसन्धानकर्ताले शब्द अर्थ र यो भाषाको विषयमा पुस्तकहरु भने प्रकाशन गरेका छन् । लोपोन्मुख कुसुण्डा जाति जंगलको फिरन्ते जीवनबाट रूपान्तरित हुँदै सामाजिक रुपमा बस्दै आएको छ । उनीहरू जंगलमा बस्दा आफ्नै जीवनशैली र भाषा थियो । गाउँमा बस्दा आपसमा समन्वय र भेटघाट नहुँदा भाषा, संस्कृति संरक्षण हुन नसकेको विज्ञहरु बताउछन् ।

भाषा संरक्षणमा चासो

लोपन्मुख कुसुण्डा जातिको भाषा संरक्षणका लागि सरकारी तथा व्यक्तिगत प्रयास पनि भएका छन् । कुसुण्डा जातिको भाषालाई आधार मानेर लेखीएको पुस्तक प्रकाशित छन् भने देश तथा विदेशबाट आएका व्यक्तिहरुले समेत यो भाषाको अध्ययन गर्दै आएका छन् ।

कुसुण्डा जातिको शब्दकोष तयार पारेर अनुसन्धानकर्मी उदयराज आलेले ‘कुसुण्डा जाति र शब्दकोष’ प्रकाशन गर्नुभएको छ । आलेले पाँच वर्षको अध्ययन, अनुसन्धानवाट पुस्तक तयार पारेको बताउनुभयो । कुसुण्डा समुदायको भाषा, संस्कृतीको संरक्षणमा व्यक्तिगत रुपमा अनुसन्धान गरेर लेखिएको पुस्तक थप अध्ययन अनुसन्धानका लागि विद्यार्थीहरुको लागि सहज हुने उदेश्यले प्रकाशन गरिएको लेखक आलेले बताउनुभयो ।

लोप हुन लागेको कुसुन्डा भाषा बचाउन भाषा आयोग नेपालले समेत चासो दिएको छ । उसले कुसुन्डा भाषालाई बचाउनका लागि दाङको लमहीमा गत पुस महिनामा कुसुण्डा भाषाको कक्षा समेत सञ्चालन गरेको थियो । सबै कुसुन्डासम्म भाषा पु¥याउने उदेश्यले सञ्चालन गरिएको कक्षामा २० जना कुसुण्डा समुदायका महिला पुरुषहरु दाङ जिल्लाको साथै प्युठान र सुर्खेतबाट समेत सहभागी भएका थिए ।

नेपालमा बोलिने १२३ भाषामध्ये ३७ वटा भाषा संरक्षण गर्नुपर्ने अवस्थामा छन भने ३ वटा भाषा लोपोन्मुख अवस्थामा छन । यी संकटमा रहेका दुरा, तिलुङ र कुसुन्डा भाषाको संरक्षणका लागि कक्षा सञ्चालन भएको भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले बताउनुभयो ।