भारतीय ठेलामा नेपाली व्यापार , भारतीय नागरिकले गर्ने कर छलिको एउटा गतिलो नमुना

Advertise with us

 

Buddha International Hospital

नवीन अभिलाषी

Advertise with us

दाङ, चैत ११ । दाङको घोराही बजारमा पहिलेजस्तो जथाभावी ठेलागाढाहरु गुड्दैनन् । २० वर्षपछि जनप्रतिनिधीआएपछि बजार व्यवस्थापन हुन थालेको छ । तर धेरै ठेलाहरु नियम विपरित सञ्चालन भैरहेका छन् । ठेला हटाउनु त्यति अफ्ठेरा चुनौती पनि हैन तर झिनामसिना विषयमा अल्झिनु परेको वडा अध्यक्षहरुको अनुभव छ ।

केहि दिन अगाडि घोराही बजार अनुगमन समितिले केहि ठेलाहरु नियन्त्रणमा लियो । घोराही उपमहानगरपालिकाले बनाएको बजार व्यवस्थापन कार्यविधि २०७४ ले अव्यवस्थित भनेका केहि ठेलाहरु नियन्त्रण भए । त्यसमध्य २ वटा ठेला भारतीय हुन् ।

घोराही उपमहानगरपालिकाकोकार्यपालिकाको बैठकले बजार व्यवस्थापन, अनुगमन तथा नियन्त्रणको जिम्मेवारी वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीलाई दिएको छ । फोहोर मैला व्यवस्थापनको आन्दोलनमा सक्रिय हुँदै जनप्रतिनिधि बन्नु भएका वडा अध्यक्ष डाँगीलाई ती नियन्त्रणमा रहेका भारतीय २ वटा ठेलाले झञ्जट नै बनायो ।

ती दुई ठेलाहरु छोड्नका लागि घोराहीका ठुला भनिने ब्यक्तिहरुले फोन घुमाउनु अनौठो भएन, वडा अध्यक्ष डाँगीलाई भारत स्थित राजस्तानको जयपुरबाट समेत फोन आयो । ‘बजार व्यवस्थापन गरौँ, बजारका चौक चौकमा अव्यवस्थित रुपमा चल्ने ठेलाहरुलाई नियन्त्रण गरौँ भन्दा फोन आउछ ।’ वडा अध्यक्ष शक्तिराम डाँगीले भन्नुभयो ।

ठेला छोड्नका लागि भारतबाट समेत फोन आएको वडाअध्यक्ष डाँगीले बताउनुभयो । भारतमा बसेर नेपालमा ठेला परिचालन गर्ने र स्थानीय सरकारले अव्यवस्थित रुपमा उठाएका ठेलाहर छोड्नुस् भन्नलाई भारतबाटै फोन आउनु नयाँ कुरा भएको बताउनुभयो ।

राजस्तान बसेर दाङमा ठेला
रोशन गुज्जर भारतको राजस्तान स्थित जयपुरमा बस्छन् । भारतमा बसेर उनले दाङको घोराही तुलसीपुर सहित पश्चिम नेपालका शहरहरुमा ठेलाहरु सञ्चालन गर्छन् । भारतबाटै आएका युवाहरुलाई ठेला दिएर काममा लगाउछन् ।

मजदुर गर्ने युवाहरुका अनुसार एउटा ठेलाबाट मासिक ५० हजारको कारोबार हुन्छ, त्यसमध्य मासिक तलव दिएर काममा लगाउछन् । घोराहीमा मात्रै रोशन गुज्जरको आधा दर्जन ठेलाहरु छन् भने तुलसीपुर, नेपालगंजमा समेत ठेलाहरु सञ्चालन भैरहेका छन् ।

उनका ठेलाहरु भारतबाटै आएका युवाहरुले चलाउछन् । राजस्तान, नानपारा, बहराईज लगाएतका स्थानबाट रोजगारीका लागि भारत आउने युवाहरुलाई उनले मासिक तलव दिएरै ठेलाहरु सञ्चालन गरिरहेको भारत उत्तरप्रदेश बहराईज घर भई घोराही बस्ने प्रवेज राईले बताए ।

दाङको घोराहीमा मात्रै भारतबाट आएर मौसमी व्यापार गर्नेहरु करिव २ सय भन्दा बढि भएको बुझिएको छ । रोजगारीका लागि नेपालमा आउने र मौसम अनुसारको ब्यापारका लागि २ सय भन्दा बढि भारतीय नागरिकहरुले ठेलाहरु सञ्चालन गर्दै आएको फलफूल व्यवसायी समिर सिद्धिकीले बताउनुभयो ।

ठेलाहरु भारतबाटै अबैध रुपमा भित्राउने गरेको भारतीय युवाहरु बताउछन् । रुपैडिया नाका हुँदै नेपालगंज भित्रिने विभिन्न प्रकारका ठेलाहरु घोराहीसम्म आउने गरेका छन् । ती ठेलाहरु १० हजार देखि ३५ हजार सम्म पर्ने गरेको सिद्धिकीले बताए ।

मजबुर छन् मजदुर
स्थानीय तहको निर्वाचनपछि नेपालगंज, सुर्खेतका स्थानीय सरकारले ठेला सञ्चालन गर्न रोक लगाए । नेपालीलाई कानुनी दायरामा लिएर भारतीय नागरिकहरुलाई कडाई गर्न थाले । मजदुरीका लागि नेपाल छिरेका भारत राजस्थात चित्यौलगढका प्रकाश गुज्जर त्यहाँ बस्न नसकेपछि घोराही आए ।

रोशन गुज्जरबाटै एउटा ठेला लिएर प्रकाशले ब्यापार गर्न थालेको एक वर्ष भएको थियो । दैनिक दुई हजार पाँच सय रुँपैयासम्मको ब्यापार गर्ने प्रकाशले मासिक ७ हजार भारतीय रुपैया तलव पाउछन् । तर मासिक एउटा ठेलाबाट ७५ हजारसम्मको कारोबार हुने प्रकाश बताउछन् ।

बजार अनुगमन समितिले ठेला नियन्त्रणमा लिएपछि प्रकाश चिन्तामा परे । किनकी त्यो ठेला थियो रोशन गुज्जरको । स्थानीय तहले ठेला फिर्ता नगरे आफैले तिर्नुपर्ने प्रकाशले बताए । उनका अनुसार आईक्रिम बेच्ने ठेलालाई ३० हजार भारतीय रुपैया पर्छ ।

सुराकी परिचालन
गत बुधबार घोराही उपमहानगरपालिकाबाट अनुगमन समिति बजारमा निस्कियो । त्यो दिन समितिले एउटा साईकल समेत नियन्त्रणमा लियो । त्यो साईकल थियो, बजार अनुगमन समितिको विषयमा गोप्य सुचना दिने (सुराकी)को ।

घोराहीको बजारमा अव्यवस्थित रुपमा ठेला गुडाउनेहरुले मासिक तवल नै दिएर सुराकी परिचालन गर्ने गरेको पाईएको छ । वडा अध्यक्ष डाँगीका अनुसार घोराहीमा दुई जना ब्यक्तिले घोराही उपमहानगरपालिकाबाट अनुगमन समिति निस्किए पछि घुमन्ते ठेला ब्यापारीलाई जानकारी दिने गरेका छन् ।

तीन दुई जना ब्यक्तिले ठेला व्यवसायीहरुबाट ६÷६ हजार रुपैँयाको दरले मासिक तलव खाने गरेको पाईएको छ । तीन पटकको अनुगमनको क्रममा समितिको पछि पछि हिड्ने गरेको आशंका पछि उक्त ब्यक्तिलाई नियन्त्रणमा लिन खोज्न साईकल छोडेर भागेपछि साईकल मात्रै नियन्त्रणमा लिएको अध्यक्ष डाँगीले बताउनुभयो ।

कर छलिको गतिलो नमुना
सरकारले कर बढाएको छ तर दायरा बढाएको छैन भनेर स्थानीय सरकारलाई प्रहार भैरहेको छ ।  त्यसो त नेपालीहरुले नै ब्यापार व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघले बताएको छ । अध्यक्ष नारायण भुषालका अनुसार ४० प्रतिशत पसलहरुको दर्ता छैन ।

तर भारतबाट आएर ठेलामा पसल गर्नेहरुले कर छलि गरेर नेपाली पैसा भारत लाने गरेका छन् । एउटा पसल सञ्चालन गर्नको लागि स्थानीय सरकार, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालयमा दर्ता भई व्यापारिक संघसंगठनमा आवद्ध हुनुपर्छ ।

तर भारतबाट नेपाल छिरेका भारतीयहरुले मौसम अनुसार कुनै पनि दर्ता प्रक्रियामा नगई लाखौँको ब्यापार गर्छन् । चुराटिका देखि तरकारी, फलफूल, बदाम र आइसक्रिम सम्मको ब्यापार गर्छन् । दैनिक तीन देखि पाँच हजार रुपैयाको कारोबार गर्नेहरुले कुनै पनि निकाय मार्फत नेपाल सरकारलाई कर नतिरेर भारत फर्किने गरेका छन् ।

कार्यविधिमा यस्तो छ व्यवस्था
गत बैशाख १३ गते घोराही उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरेको बजार व्यवस्थापन कार्यविधि २०७४ ले मुख्यबजार क्षेत्रमा रहेका सडक तथा फुटपाथमा ठेलाहरु गुडाउन नपाईने भनेको छ । कार्यविधिको दफा ११ मा मुख्य बजार क्षेत्रमा रहेको सडक तथा फुटपाथमा कुनै पनि प्रकारले अबरोध हुने गरी विक्रि गर्ने ठेला, डोका, नांग्लो वा भुईमा तरकारी फलफूल राखेर व्यापार गर्न पाईने छैन भनेको छ ।

कार्यविधिले दफा १७ को ३ मा दफा ११, १२, १३, १४ र १५ बमोजिम कसुर गर्नेलाई पहिलो पटक पाँच सय, देखि २ हजारसम्म, दोस्रो पटक दुई हजार देखि पाँच हजारसम्म र तेस्रो पटक वा सो भन्दा बढि भएमा १० हजार रुपैयासम्म जरिवाना असूल गर्न सकिने व्यवस्था गरेको छ ।