सुनसान सक्राम


घोराही , १० चैत । , शान्ति सम्झौता पछि २०६४ साल मंसिर २५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ संक्राममा दीर्घ स्मृति ब्रिगेड अन्तर्गतका तीन बटालियन सहितको दुई हजार जनमुक्ति सेना बस्न थाले ।


Advertise with us
सेना समायोजना पछि लामाखोला महिला सामुदायिक वन क्षेत्रमा दश विगाहा क्षेत्रफलमा फैलिएको तत्कालीन माओवादी शिविर संरचना सुरक्षाका लागि सशस्त्र प्रहरीले २०६८ साल फागुन २७ गते देखि खटियो । तर यही फागुन १ गते सशस्त्र प्रहरी बस्न छोडेपछि हाल उक्त व्यारेक अलपत्र बनेको । अहिले व्यारेकमा कोही पनि छैनन । सुनसान जस्तै छ ।

Buddha International Hospital


व्यारेकमा पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्ड मोहन नेपाली ‘उज्जवल’ भेटिनुभयो । उहाँले जीर्ण संरचनाहरु हेर्दै हुनुहुन्थ्यो । सेना समायोजन पछि स्वेच्छिक अवकाशमा निस्किनु भएका पूर्वकमाण्डर नेपालीले आफैले बनाएको घर, छाएको छानो र पोतेका आँगनहरु अहिले बेहाल बन्दा दुःख लाग्ने गरेको बताउनुभयो । उहाँ त्यहाँको स्थानियवासी पनि हुनुहुन्छ ।


उहाले भन्नुभयो– ‘न संरचना राम्रा छन् । न सेना छन् । अहिले ब्यारेक नाममा मात्रै सीमित छ ।’ संरक्षण हुन नसक्दा राज्यको करोडांै लगानी नोक्सानी भइरहेको उहाँले बताउनुभयो । जसको संरक्षण र विकास गर्न सके जनमुक्ति सेना ब्यारेकलाई एक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने उहाँको भनाई छ ।

राज्यले युद्धका नामबाट स्थापित यस्ता सम्पत्ति संरक्षण र व्यवस्थापन गर्न नसक्दा दश वर्षे युद्धका निशानीहरु मेटिन थालेको उहाँको कथन छ । पुर्व जनमुक्ति कमाण्डर नेपालीले प्रश्न गर्दै भन्नुभयो – ‘कैयांै संमायोजनमा गए । कैयौं बाहिरिए तर सम्पत्ति जोगाउन राज्यले सक्छ नि ? तर त्यसतर्फ ध्यान दिन नसक्दा यस्ता थुप्रै ब्यारेकहरु बेवारिसे बनिरहेका छन् ।’

भौगोलिक, भौतिक, सेवा सुविधा र सुरक्षाका हिवासले उक्त ब्यारेक निकै उपयुक्त रहेकाले राज्यले उक्त ब्यारेकको व्यवस्थापन गर्न अति जरुरी रहेको छ । प्रशस्तै खेल मैदान, सैन्य अभ्यास मैदान, उपयुक्त भौतिक संरचना, खानेपानी, बिजुली लगायतका संरचनाहरु तयार रहेकाले राज्यले कुनै सुरक्षा संयन्त्रलाई उक्त ब्यारेकमा राख्न सक्नुपर्ने उहाको भनाइ छ ।


वि.सं. २०६४ साल मंसिर २५ गतेदेखि करिव दुई हजार बढीको बसोबास सहित शुरु भएको ब्यारेकलाई अहिले गाउँलेले चौकीदारी गर्ने अवस्थामा पुगेको छ । जनमुक्ति सेना समायोजनपछि सशस्त्र प्रहरी बस्दै आइरहेको उक्त ब्यारेक फागुन १ गते देखि सशस्त्र प्रहरीले बस्न छोड्दा गाउँलेहरु पहरामा जुटेको स्थानीय विभिषन रोकाले बताउनुभयो ।


ब्यारेकभित्र रहेका संरचनाहरु संरक्षणका लागि गाउँलेले महिनावारी पैसा उठाउदै तीनजना चौकीदारसहित सुरक्षा दिन थालेको उहाँको भनाई छ । ‘राज्यले संरक्षण गर्न छोड्यो, भएका संरचना जोगाउन गाउँले कस्सिएका छौ ं।’ उहाँले भन्नुभयो ‘काठपात, ढुंगा इट्टा, टिन, पाइपलगायतका सरसामान हराउन सक्ने भन्दै गाउँलेले उक्त ब्यारेकको सुरक्षामा खटिएको छ ।’


जनमुक्ति सेना ब्यारेकमा कराडौं बढीको लगानी लागिसकेकाले राज्यले यसलाई विस्थापित भन्दा व्यवस्थित गराउनेतर्फ लाग्नुपर्ने उहाको भनाइ थियो ।

तुलसीपुर उपमनपालाई जिम्मा
ब्यारेकको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल ज्वालामाई गणले उक्त ब्यारेकको सम्पूर्ण संरचनाको उल्लेख गर्दै गत माघ २८ गते तुलसीपुर उमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाल सशस्त्र प्रहरी र तुलसीपुर उमहानगरपालिका बीच भएको दोहोर हस्ताक्षर सहितको पत्रमा जस्ताका छाना भएको इट्टाका घर ३१ वटा छन । जसमा तीन वटाको झ्याल ढोका केही छैनन् ।

जस्ताका छाना भएको ढुंगा माटोका चार वटा घर छन् । जसमा एउटा भत्किएको छ । जस्ताका छ वटा घर, डिसिमेन्टल घर दुई जसको छानो छैन । पक्की शौचालय १३ वटा छन् । जसका ढोका छैनन् । जस्ताका शौचालय पाँच वटा, काठको घर एउटा, ड्युटी पोष्ट १२ वटा, पक्की पानी ट्याकी पाच, धारा आठ, रिजर्व ट्यांकी एक, प्रवेशद्वार एक र ग्यारेज एक रहेका छन् । जसको जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकालाई दिएको छ ।

राष्ट्रिय क्रान्ति संग्रहालय बनाउने तयारीमा छौं ः मेयर
तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तत्कालीन माओवादी सेनाको ब्यारेक संक्रामलाई राष्ट्रिय क्रान्ति संग्रहालयका रुपमा विकास गर्ने तयारी भइरहेको बताउनुभयो ।

उपमहानगरपालिकाले उक्त ब्यारेकको जिम्मेवारी लिएसँगै उक्त ब्यारेकलाई संग्रहालय बनाउने गृहकार्य भइरहेको उहाको भनाइ छ । युद्ध अध्ययन, युद्ध पर्यटन, ऐतिहासिक युद्धस्थलका रुपमा तत्कालीन ब्यारेकलाई संग्रहालयका रुपमा पुनःनिर्माण गर्ने बताउनुभयो ।

Advertise with us