अदालतमा प्रविधिको प्रयोग, हिरासतबाटै अभियुक्तको अदालतमा बयान

दाङ, चैत  । बालिका करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका एक अभियुक्तको अदालतमा नै नआई म्याद थप भएको छ । दाङ देउखुरी जिल्ला अदालतले भिडियो कलमार्फत प्रहरी हिरासतका अभियुक्तको बयान लिने व्यवस्था मिलाएको छ । ति अभियुक्तले पनि जिल्ला प्रहरी कार्यालय दाङबाटै भिडियो मार्फत बयान दिएपछि म्याद थप गरिएको हो ।

Buddha International Hospital

Advertise with us

हरेक क्षेत्रमा सुचना र प्रविधिको प्रयोग हुँदै गर्दा दाङ देउखुरी जिल्ला अदालत र त्यससँग सम्बन्धित निकायले आफ्नो न्यायीक गतिविधिका लागि समेत प्रविधिको प्रयोग सुरु गरेका छन् । ‘हामीले केहि समय पहिलेदेखि नै श्रब्यदृश्यको माध्यमबाट म्याद थप कार्य गर्दै आएका छौँ ।’ दाङ देउखुरी जिल्ला अदालतका न्यायधिश हेमन्त रावलले भन्नुभयो, ‘मंगलबारबाट यो विधिवत रुपमा उद्घाटन भएको छ ।’

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, मुलुकी देवानी कार्यविधि संहिता २०७४ मा आरोपित व्यक्ति, कारागारमा रहेको व्यक्ति वा अदालतले बयानका लागि बोलाएको व्यक्तिले श्रब्यदृश्य (भिडियो कल) मार्फत हिरासतबाटै बयान दिन सक्ने व्यवस्था गरेको छ । दाङ देउखुरी जिल्ला अदालतले त्यसको कार्यान्वयन गर्न सुरु गरेको न्यायाधिश रावलले जानकारी दिनुभयो । ‘म्याद थपका लागि मात्रै जिल्लाका विभिन्न स्थानबाट अदालतमा अभियुक्तलाई ल्याउने लैजाने गर्दा सुरक्षा, साधनस्रोतका विषयमा समस्या हुँदै आएको छ ।’ न्यायधिस रावलले भन्नुभयो, ‘यो व्यवस्थाले प्रहरी र अदालतलाई धेरै सहज बनाउने छ ।’

यस्तो व्यवस्थाले अदालतमा ल्याएर बयान दिनुपर्ने व्यक्तिहरुले सिधै प्रहरी वा कारागारबाट बयान दिन सक्ने भएपछि समय, इन्धन, जनशक्तिको बचतसँगै सुरक्षामा समेत मद्दत पुग्ने न्यायाधीश रावलले विश्वास व्यक्त गर्नुभयो ।

कुनै पनि मुद्दामा बयान वा सोधपुछ गर्नुपर्ने व्यक्ति अनुसन्धान अधिकारीसमक्ष उपस्थित नभएरै श्रव्यदृश्य भिडियो मार्फत पनि बयान दिनसक्ने भएपछि अदालत र प्रहरीको कार्य प्रभावकारी र छिटो छरितो हुने विस्वास लिईएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताउनुभयो । ‘अहिले प्रविधिविना कुनै पनि कार्य सम्भव छैन, प्रविधिको प्रयोगले अदालतको कार्यलाई प्रभावकारी बनाउछ ।’ महासंघका अध्यक्ष प्रियासनले भन्नुभयो ।

प्रदेश प्रहरी प्रमुखको कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ सहित मातहतका निकायहरुले श्रब्यदृश्यका लागि व्यवस्था गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । ‘आरोपित व्यक्ति, कारागारमा रहेको व्यक्ति वा अदालतले बयानका लागि बोलाएको व्यक्तिले श्रब्यदृश्य मार्फत बयान दिनका लागि जिल्ला प्रहरी कार्यालयले एउटा छुट्टै कोठाको व्यवस्था गरेको छ ।’ प्रहरी उपरिक्षक पाण्डेले भन्नुभयो, ‘जिल्ला प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय, र अन्य ईलाका प्रहरी कार्यालयमा प्रविधि जडान भैसकेको छ ।’

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले प्रदेशका १२ वटै जिल्लाका प्रहरी युनिटहरुमा यो व्यवस्था छिट्टै लागु हुने बताउनुभयो । जिल्ला प्रहरी प्रमुखहरुको बैठकमा भिडियोको प्रयोग हुँदै आएको जानकारी दिदै न्याय सम्पादनको लागि पनि यो व्यवस्था सुरु गर्ने बताउनुभयो । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नहकुल सुबेदीले प्रदेशका केहि जिल्लामा श्रब्यदृश्यको माध्यमको कार्यान्वयन भएको बताउनुभयो । ‘रुपन्देही जिल्लामा म आफैले भिडियो कल मार्फत म्याद थप गर्ने व्यवस्थाको उद्घाटन गरेको थिएँ ।’ मुख्यन्यायधिस सुबेदीले भन्नुभयो, ‘अब प्रदेशका अन्य न्यायीक निकायहरुमा समेत यसको प्रयोगमा जोड दिन्छौँ ।’

साथै भिडियो कल मार्फत बयान लिन थालेपछि विदेशमा रहेका व्यक्ति, कानुन व्यवसायी वा अदालतमा हाजिर हुनुपर्ने व्यक्ति सहजै न्यायालयको पहुँचमा आउने विस्वास गरिएको छ । र विदेशमा रहेका कानुन व्यवसायीले भिडियो कल मार्फत वकालत गर्न सक्ने अदालतले बताएको छ । तर जिल्ला बारका अध्यक्ष प्रदिपकुमार गौतमले यसको विस्वासनीयतामा ध्यान दिन आग्रह गर्नुभयो ।