शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।

Buddha International Hospital

Advertise with us

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जितसँगै आर्मी अङ्क तालिकामा १० अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । आर्मीले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा ल्याएको थियो ।

त्यस्तै लिगमा सङ्कटाको भने यो पहिलो हार हो । सङ्कटाले यसअघि खेलेको तीन खेलमा लगातार जित हासिल गरेको थियो । सङ्कटाको ९ अङ्क छ । खेलको मध्यान्तरसम्म २–१ ले अगाडि रहेको आर्मीले खेलको मध्यान्तर पछि तीन गोल थप्यो । त्यस्तै खेलमा पहिलो अग्रता भने सङ्कटाले लिएको थियो । खेलको नवौँ मिनेटमा सङ्कटाका विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरेका थिए ।

सङ्कटाको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । मध्यान्तर अघि १७औँ मिनेटमा आर्मीका खेलाडी टेकबहादुर बुढाथोकीले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको २९औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले एक गोल गरे । खेलको ६३ औँ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रिकिकमा गोल गरे भने सन्तोषले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै आर्मीका टेकबहादुरले अर्को गोल गरे । त्यसैगरी खेलको ७५ औँ मिनेटमा आर्मीका दीनेश हेन्जनले थप एक गोल गरेपछि आर्मीले सङ्कटामाथि सहजै ५–१ को जित निकाल्यो ।