‘एक्सन’मा एक्लै ट्राफिक प्रहरी

घोराही, चैत । पटक पटकको निर्देशनको अवज्ञा गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराही बजारका अव्यवस्थित ठेलाहरुलाई नियन्त्रणमा लिएको छ । शुक्रबार घोराहीको तुलसीपुर चौक, दामोदर चौक, बालमन्दिर चौक, सभागृह निर्माण स्थल, ट्राफिक चौकमा पुगेर प्रहरीले केहि ठेलाहरुलाई नियन्त्रणमा लिएको छ भने, अधिकांश ठेलाहरुलाई हटाएको छ ।

Buddha International Hospital

Advertise with us

घोराही उपमहानगरपालिकासँगको सर्वपक्षिय बैठकले ट्राफिक चौक, खानेपानी डिभिजन अगाडीको सब्जीमण्डी र सभागृह निर्माणस्थल आसपासमा ठेलाहरु राख्ने निर्णय गरेको थियो । ‘घोराही बजारका ठेला व्यवस्थापनका लागि हामीले पटक पटक सम्झाएका छौँ, सल्लाह दिएका छौँ ।’ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुंवरले भन्नुभयो, ‘जति भन्दा पनि नमाने पछि कानुनको कार्यान्वयन गर्नुपरेन ?’

घोराही उपमहानगरपालिकाको ट्रिपरमा ठेलाहरु राखेर ट्राफिक प्रहरी कार्यालयको प्राङगणमा थन्काईएको छ । दाङको घोराहीमा १५० भन्दा बढि ठेला तथा ढेब्लीहरु रहेको ठेला तथा ढेब्ली व्यवसायी समितिका सहसचिव कृष्णबहादुर नेपालीले बताउनुभयो । ठेला व्यवसायीले स्थानीय सरकारले काम गरेर खान समेत नदिएको भन्दै आक्रोश पोखेका थिए ।

अव्यवस्थित ठेला नियन्त्रणका लागि ट्राफिक प्रहरी सडकमा रहँदा जनप्रतिनिधिहरु भने देखिएनन् । ‘शहर व्यवस्थित बनाउने भन्दै भएको निर्णयमा सबैको हस्ताक्षर छ, तर जनप्रतिनिधिहरु बोल्ने मात्रै काम गरे, एक्सन लिदा सबै लुक्छन्’ प्रहरी निरिक्षक कुँवरले भन्नुभयो । प्रहरीको काम शान्ति सुरक्षा मात्रै भएको उहाँले बताउनुभयो । ‘निर्णय गरेर छोड्ने तर कार्यान्वयनमा सहयोग नै नगर्ने ? सबै प्रहरीको टाउकोमा राखेर हुन्छ ?’ ट्राफिक प्रहरी प्रमुख कुँवरले बताउनुभयो ।

दाङको घोराही बजारमा सवारी आवागमनलाई सुरक्षित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले गतिविधिहरु सक्रिय बनाएको छ । सुरक्षित टेम्पो तथा अटो रिक्साको यात्रा, फुटपाथमा अव्यवस्थित रुपमा राखिएका ठेलाहरुको नियन्त्रण, क्षमता भन्दा बढि यात्रु तथा सामग्रीहरुको नियन्त्रण देखि नीजि सवारी साधनहरुमा कालो सिसा हटाउनेसम्मको काम गरेको ट्राफिक प्रहरी प्रमुख कुँवरले बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयले दाङमा सञ्चालन भैरहेका अटो रिक्साको चालकहरुलाई अनिवार्य रिफ्लेक्टर ज्याकेट लगाउने व्यवस्था लागु गरेको छ । पेशागत मर्यादा, चालक पहिचानमा सहजता र रात्रीकालिन यात्रामा सुरक्षाका लागि समेत रिफ्लेक्टर ज्याकेट अटो रिक्सा चालकहरुले लगाउनु पर्ने प्रहरीले बताएको छ । ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दैनिक ५० जनाको औषतमा अटोरिक्सा चालकहरु कारवाहीमा पर्ने गरेका छन् ।

प्रहरीको तथ्यांकमा दाङका विभिन्नमा गरेर ३ हजार ७ सय भन्दा बढि अटोरिक्साहरु सञ्चालन छन् । ४ वटा समितिमा आबद्ध अटोरिक्सा चालकहरुलाई समिति अनुसारको रिफ्लेक्टर ज्याकेट बनाएर अनिवार्य लगाउन आग्रह गरिएको र निर्देशन उल्लंघन गर्नेलाई पाँच सय देखि १ हजार ५ सय रुपैयासम्म जरिवाना गरिरहेको प्रहरी निरिक्षक कुँवरले बताउनुभयो ।

क्षमता भन्दा बढि यात्रु तथा सामग्रीहरु बोक्ने ठुला साधनहरुलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले हिजोआज विना प्रयोजन बढि सामग्रीहरु बोक्ने मोटरसाईकललाई समेत नियन्त्रणमा लिएर कारवाही गरेको बताएको छ । ‘वर्षौ पुरानो मोटरसाईकलमा पचास लिटरका पाँच वटा दुधका क्यान बोक्ने गरेको पनि पाईयो, त्यसता मोटरसाईकलमा न लाईट हुन्छ, न साईड लाईट, न ब्रेक राम्रो त्यस्तालाई कारबाही भएको छ ।’ प्रहरी निरिक्षक कुँवरले बताउनुभयो ।

यस्तै नीजि सवारी साधनहरुमा कालो सिसा लगाएर हिड्नेहरुलाई समेत ट्राफिक प्रहरीले कारबाहीको दायरामा लिएको छ । ‘कस्ले कस्ले कालो सिसा लगाएर हिड्ने भने कानुनमा उल्लेख छ, तर यहाँ त सबैले कालो सिसामा हिड्ने गरेको पाईयो ।’ कुँवरले भन्नुभयो, ‘सुरक्षालाई मध्यनजर गरेर हामीले कारबाही गरेका छौँ ।’ कार्यालयले शुक्रबार मात्रै ५ वटा नीजि सवारी साधनको कालो सिसा हटाएको छ भने जरिवाना गरेर छोडेको छ ।

यसैविच सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुको स्वास्थ्य जाँच अभियान अहिलेका लागि सकिएको बताएको छ । प्रहरीका अनुसार जिल्लाका ७ स्थानमा विभिन्न समयमा गरेर एक हजार एक सय २७ जना चालकहरुको स्वास्थ्य जाँच गरेको छ ।

Advertise with us