घोराहीमा ठेला व्यवसाय गर्न स्थान निर्धारण, बजारमा गुडाउन रोक

घोराही,  फागुन | घोराही उपमहानगरपालिकाले घोराही बजार क्षेत्रमा ठेला गुडाउनमा रोक लगाएको छ । उपमहागरको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु दिदै गुडाउनमा रोक लगाएको हो ।

Buddha International Hospital

Advertise with us

नगर प्रमुखको संयोजकत्वमा रहेको बजार व्यवस्थापन समितिले प्रभावकारी कार्य सञ्चालन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा उपसमिति गठन गरेर बजार व्यवस्थापनका काम थालेको हो ।

उपसमितिले सोमबार नगरका ठेला व्यवसायीहरुलाई भेला गराई व्यवसाय सञ्चालन गर्न निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला गुडाउन नपाउने विषयमा जानकारी गराएको हो । उपमहानगरले बजार व्यवस्थापन सँगै ठेला व्यवसायलाई सुरक्षित बनाउदै आवागमनमा सहजता र दुर्घटनाको जोखिम हटाउन यस्तो निर्णयमा पुगेको जनाएको छ ।

उपसमितिले घोराहीको पुरानो बसपार्क स्थिती सभागृह निर्माण स्थलको बाहिर, बालमन्दिर र ट्राफिक चोकको पिपल बोटमा ठेला व्यवसाय सञ्चालनका लागि स्थान निर्धारण गरेको छ । उपसमितिका संयोजक शक्तिराम डाँगीले ठेला व्यवसायलाई सुरक्षित बनाउनका लागि गुडाउन रोक लगाउदै निश्चित ठाउँको व्यवस्था गरिएको र एक व्यक्तिले एउटा ठेलामा मात्रै व्यवसाय गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

अटेर गरी सडकमा ठेला गुडाएको पाईएमा बजार व्यवस्थापन कार्यबिधीमा भएको नियम अनुसार ५ सुय देखी १० हजार रुपैयाँ सम्म जरिवाना हुने छ । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिब माया पोख्रेलले ठेला व्यवसायीहरुलाई सरकार र संघको नियमनमा आउन आग्रह गर्नुभयो ।

त्यसैगरी ठेला व्यवसायी समितिका अध्यक्ष अजित मन्सुरीले स्थानिय सरकारको नियमलाई आफुहरुले पालना गरि बजार व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाउनुभयो । घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेका छन् ।

Advertise with us