जीतसागर जी.एम
दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशमा किसानहरु बढी हिंसामा परेको देखिएको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशमा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा प्रदेशका १२ वटै जिल्लामा ४ सय बढी किसानले हिंसाका घटनामा परेको उजुरी दिएका छन् । प्रहरीका अनुसार प्रदेशमा किसानपछि गृहणी हिंसामा परेको देखिएको छ । चालु वर्षको साउनदेखि कार्तिक मसान्त सम्मको अवधिमा प्रदेशमा २ सय ६८ गृहणीले आफुहरु हिंसामा परेको उजुरी दिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता राजकुमार वैदवारले जानकारी दिए ।
‘हामीले विभिन्न पेशासंग सम्बन्धित तथ्यांक राखेका छौँ, चार महिनाको अवधिमा प्रदेशमा ४७७ किसानले हिंसामा परेको उजुरी दिएका छन्’ उनले भने–‘ हिसांमा पर्ने पेशाकर्मीमध्ये गृहणी दोस्रोमा रहेका छन् ।’ प्रदेशमा चार महिनाको अवधिमा २७ ज्याला÷मजदुरी, व्यापारी २०, बेरोजगारी १३ जना हिंसामा परेका छन् । त्यसैगरी विद्यार्थी ९, कर्मचारी ८ र वैदेशिक रोजगारीमा गएका १ जनाले हिंसामा परेको प्रहरीमा उजुरी दिएको प्रवक्ता वैदवारले जानकारी दिए । प्रहरीको तथ्यांक अनुसार चार महिनाको अवधिमा मधेशी समुदायका २८० व्यक्ति हिंसामा परेका छन् ।
त्यसैगरी जनजाति १५४, ब्राह्मन समुदायका १४२, मुस्लिम समुदायका १२४ , दलित समुदायका ८ र अन्य समुदायका ३ जना व्यक्तिहरु हिंसामा परेको उजुरी प्रहरीमा परेको छ । प्रदेश प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा सबैभन्दा बढी लैंगिक हिंसाका घटना भएका छन् । प्रदेशका १२ वटै जिल्लामा असोजमा २५८ वटा लैंगिक हिंसाका घटनाको उजुरी परेको प्रहरीले जनाएको छ । त्यसैगरी साउनमा २१०, कार्तिकमा १८४ र भदौमा १७१ वटा लैंगिक हिंसाका घटना प्रहरीमा परेका छन् ।
प्रदेशमा चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ८ सय २३ वटा विभिन्न हिंसाका घटना भएको प्रवक्ता वैदवारले जानकारी दिए । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा दाङमा ५६ वटा लैंगिक हिंसाका घटना भएको उनले बताए । प्रदेशमा चार महिनाको अवधिमा १२ वटा जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै २७२ र रुकुमपूर्वमा ४ वटा लैंगिक हिंसाका घटना भएका छन् ।
त्यसैगरी रुपन्देहीमा १६१, बर्दियामा ३८, नवलपरासि पश्चिममा ८२ , अर्घार्खाचीमा ३२ , गुल्मीमा २६, पाल्पामा १४, रोल्पामा ६, प्युठानमा १३ र कपिलवस्तुमा ९१ लंगिक हिंसाका घटना भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा २१ सय ९९ सय वटा विभिन्न हिंसाका घटना भएको उजुरी परेको छ भने आर्थिक वर्ष २०७६÷२०७७ मा १८ सय ४४ वटा उजुरी परेका छन् ।