मागेको जर्सीले जिल्लालाई गोल्डमेडल


घोराही, २० फागुुन  । प्रदेशस्तरिय महिला क्रिकेट प्रतियोगीताको उपाधी दाङले हात पारेको छ । आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलमा रुपन्देही र बाँकेलाई पराजित गर्दै जिल्लाले उपाधी हात पारेको हो ।


Advertise with us
प्रतियोगीताको पहिलो खेलमा रुपन्देहीलाई १६ रनले पराजित गरेको जिल्लाको महिला टिमले फाइनलमा बाँकेलाई ८ विकेटले पराजित गर्दै उपाधी हात पारेको हो । टस जितेर पहिला व्याटिङ रोजेको बाँकेले २० ओभरमा ४ विकेट गुमाएर जम्मा ९५ रन बनाउन सफल भएको थियो । जसमा बाँकेका लागि सोनम पुनले सर्वाधिक २४ र गीता गोसाईले २० रनको योगदान दिनुभएको थियो । खेलमा सामना पुन १४ रनको योगफल तयार पारे पनि अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन् ।

Buddha International Hospital


बाँकेलाई सस्तैमा समेट्ने क्रममा दाङका लागि लक्ष्मी चौधरीले २ विकेट लिनुभएको थियो, भने २ खेलाडी रन आउट भएका थिए । ९६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको दाङले दाङले उत्कृष्ट ब्याटिङ गर्दै १७.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।
जसमा दाङका लागि मधु डिसीले नटआउट २४ र सरस्वती जिएमले नटआउट २२ रन जोड्नुभएको थियो ।

त्यसैगरी लक्ष्मी चौधरीले २२ र नगिता पुनले १६ रनको योगदान दिनुभएको थियो । बलिङतर्फ बाँकेका लागि गायत्री कश्यप र गीता गोसाईले समान १÷१ विकेट लिनुभएको थियो । खेलमा खेलमा २ विकेट र २२ रन प्रहार गरेकी दाङकी लक्ष्मी चौधरीलाई मेन अफ द म्याच घोषित हुनुभएको थियो ।


अर्कैको जर्सी लगाएर खेल्यौं–खेलाडी
जिल्लालाई उपाधी दिलाएका जिल्लाका महिला खेलाडीहरुको पीडा भने व्यग्लै छ । प्रतियोगीताका लागि बाँके लिएको जर्सीमा खेल खेल्न नपाउने भएपछि दाङबाट जर्सी मगाउनु परेको खेलाडीहरुले बताएका छन् । प्रतियोगीताका लागि खेलकुद विकास समितिले जर्सी उपलब्ध नगराएपछि एक वर्ष पहिले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले उपलब्ध गराएको पुरानो जर्सी बोकेर बाँके पुगेका जिल्लाका खेलाडीहरु सेतो रङको जर्सी लगाउन नपाउने भएपछि रातारात दाङबाट जर्सी मगाएर खेल खेल्न बाध्य भएको बताएका छन् ।


‘प्रतियोगीतामा सहभागी अन्य जिल्लाका खेलाडीहरुलाई खेलकुद विकास समितिले जर्सी उपलब्ध गराएको छ । हामीलाई जर्सी उपलब्ध नभएपछि पुरानो जर्सी बोकेर गएका थियौं । आयोजकले सेतो जर्सी लगाउन नपाइने बताएपछि दाङबाट घोराही क्रिकेट एकाडेमीको जर्सी मगाएर खेल खेल्यौं’, क्याप्टेन सर्मिला रोकामगरले भन्नुभयो, ‘आयोजकले तिम्रो जिल्लाको जर्सी खोई ? भनेर सोध्दा नमजा लाग्यो । अन्य जिल्लाका खेलकुद विकास समितिले जर्सी उपलब्ध गराउँदा हामीलाई किन जर्सी दिइएन । खेल जित्दा भएको खुसीसँगै हामीलाई गरिएको उपेक्षाले दुखित पनि तुल्याएको छ ।’

वजेट अभावमा जर्सी दिएनौं–संघ
यता दाङ जिल्ला खेलकुद विकास समितिले वजेट अभावमा खेलाडीहरुलाई जर्सी उपलब्ध नगराएको जनाएको छ । संघका कोषाध्यक्ष कैलास रोकाले खेलाडी छनौटका लागि भनेर संघलाई ३ लाख २५ हजार वजेट आएको भन्दै उक्त वजेट खेलाडी छनौटमा सकिएकाले जर्सी उपलब्ध गराउन नसकेको जानकारी दिनुभयो । महिला क्रिकेट खेलाडीलाई मात्र नभई कुनै पनि खेलका खेलाडीहरुलाई जर्सी उपलब्ध नगराइएको रोकाको भनाई छ ।