कथा : एक रात अस्पतालमा

मिनिता पौडेल

“आज त तपाईंले जसरी पनि बताउनै पर्छ बहिनी !”

Blog Post Ad

एउटा पेपर क्लीपवोर्डमा च्यापेर डा. जान्वी म बसेको क्याबिनमा आउनुभयो । म बसेकै बेडको विपरीतको बेडकी लगभग २६–२७ वर्षकी विरामीको छेवैमा मेच तानेर वस्नुभयो । म एउटा माइनर अपरेसन गरि एक दिनको बेड रेस्टमा थिए । उनी किन भर्ना भएकी हुन थाहा थिएन । त्यसदिन विहान देखि हामी एउटै क्याविन को फरक वेडमा थियौ ।

उनको घाँटीमा पट्टी लगाइएको थियो, हातमा व्यान्डेज पनि । बेलाबेलामा उनका आफन्त भेट्न आँउथे तर उनी बोल्दैनथिन । उनीबारे के अनुसन्धान गर्नु थियो कुन्नी डा. जान्वी तेश्रो चोटी रहेछ उनको छेउमा आएर केही बुझ्न खोज्नुभएको । एउटै क्याबिनमा रहे पनि उनी र मबीच कुनै संवाद भएको थिएन । उनी प्राय चुप रहन्थिन ।

डा.जान्वीले उनलाई प्रश्न गर्नुभयो– “तपाईंको नाम त भन्नुस आज ”

उनले पुलुक्क म तर्फ हेरिन्, लाग्थ्यो उनलाई म त्यहाँ भएको पटक्कै मन परेको थिएन । उनलाई सहज होस भनेर मैले वेवास्था गर्दै निदाएजस्तो अभिनय गरँे । मलिन स्वरमै भए पनि जवाफ दिइन्,

“रचना थापा ।”

नाम भनेपछि उनी चुप भईन् । डा. जान्वीले एक गिलास पानी रचनाको हातमा थमाउदै भन्नुभयो– “म यसै अस्पतालको मनोचिकित्सक हुँ, तपाईंले आत्महत्याको निर्णय किन गर्नुभयो ? मनको बह त पोखे हल्का हुने हैन र ?”

म झसंग भए । ओहो यिनले त आत्महत्या पो गर्न लागेकी रैछिन । मैले आफु निदाएको अभिनय गर्न छोडिनँ । आँखा चिम्ले पनि मेरो मनको आँखाले हरेक कृयाकलाप नियालिरहेको थिए ।

उनले व्यान्डेज नलाएको हातले पानी समातिन एक घुट्की पिइन् अनि बोल्न थालिन् ।

“म अहिले २६ वर्षको भए, पढाई सकेर जागिरे भइसकेपछि मेरो मागी विवाह भयो, सरकारी जागीर भएको इमान्दार अनि खानदानी केटा भनेर परिवारको राजीखुसीमा विवाह सम्पन्न भएको थियो । श्रीमान् असल थिए जाड, रक्सी, चुरोट, विडी केहीको लत नभएको त्यसैमाथि शाकाहारी पनि । सासुससुरा झनै भन्नै नपर्ने, देउता जस्ता । म त्यो घरमा बुहारी होइन छोरीको दर्जा पाएर बसेकी थिए ।

श्रीमान् र म दुवैजना आफिस जान्थ्यौ, बेलुका दुवैजनाले आ–आफ्नो अफिसमा भएको कुराहरु एकअर्कोलाई सुनाउथ्यौ । दिनहरु हाँसिखुसि चलिरहेको थियो ।

विवाह भएको २ वर्षपछि हाम्रो छोरा जन्मियो, आमाको अनुहारको रहेछ भाग्यमानी हुन्छ भन्थे धेरैले , म मनमनै मख्ख पर्दथे ।

त्यसपछि उनी रोकिन्छिन् र लामो श्वास फेर्छिन डा. जान्वी के टिपोट गर्दै हुनुहुन्थ्यो कुन्नी उनीपट्टी फर्किएर भन्नुभयो –“अनि अरु सुनाउनुस् बहिनी त्यसपछि के भयो ?”

“छोरो जन्मिएपछि ९८ दिनको सुत्केरी विदा सकेपछि म फेरि अफिस जान थाले, दुधे बालकलाई छोडेर ८–१० घण्टासम्म अफिसमा रहदाँ वच्चाको यादले एकदमै पिरोल्थ्यो ।

छेउछाउमा कुनै वच्चाको आवाज सुन्दा पनि आफ्नो वच्चा रोइरहेको छ कि जस्तो लाग्थ्यो । फेरि पनि आफुलाई सम्हाल्थे किनकी नेपालमा जति पनि रोजगार महिला छन् ति सबैले भोग्ने पिडा मेरो जस्तै हो । यसैगरी दैनिकी चलिरहेको थियो ।

विश्वभर कोरोना भाइरस (कोभिड –१९) को संक्रमण बढ्यो । नेपालमा पनि एक दुई गर्दै संक्रमितको संख्या बढ्न थाल्यो, देशको स्थिति त्रासपूर्ण भएपछि अन्ततः नेपाल सरकारले लकडाउनको घोषणा गर्यो ।

पेशाले म नर्स । नेपाल सरकारले छुट्याएको अत्यावश्यक सेवा भित्र पर्दथ्यो । त्यसैले अस्पतालले हप्ताको दुई दिन, अथवा पालो मिलाएर डिउटीमा खटिनुपर्ने व्यवस्था मिलाएको थियो । एक त काखमा सानो दुधे बालक अर्को तिर कोरोना महामारीको त्रास । त्रास, बाध्यता र कर्तव्य बीच रुमलिएको थिए म ।

कोरोना माहामारी बढेपछी घर परिवारबाट जागिर छोडेर घरमै बस्ने दवाव आउन थाल्यो । मेरो सोच जागिर छोड्ने तिर थिएन् । बल्लतल्ल मिलेको जागीर अनि सम्पूर्ण सुरक्षा विधि अपनाएर अफिस जाने गरिएको थियो, म घर परिवारलाई बारम्बार भन्ने गर्दथे । यस्तो माहामारीको वेला हामीजस्ता स्वास्थ्यकर्मिले सेवा नगरे कस्ले गर्छ, यो माहामारीमा विरामीको सेवा गर्नु त मेरो कर्तव्य हो । यस्तै विवादमा बेलाबेला श्रीमान् र म बीच चर्काचर्की हुन थाल्यो ।

“दुधे बालकको चिन्ता छैन तँलाई, समाजसेवा गर्नुपर्ने, त्यसैमाथि अस्थाई जागीर” भन्दै श्रीमान्ले वेलालेला शब्दको वाणले घोचिरहन्थे । उनी बोल्दाबोल्दै फेरि रोकिइन ।
म निदाएझै गरी डा. जान्वी र रचना बीचको सम्पूर्ण कुरा सुनिरहेको थिए, आँखा चिम्लिएर निदाएको जस्तो अभिनय गर्दै मैले उनको व्यक्तिगत कुरा सुन्ने अपराध गरिरहेकी थिएँ । एक घुट्की जति पानी पिएर उनी फेरि बोल्न सुरु गरिन् ।

“विवादको वावजुद पनि म अस्पताल गइनै रहे । मेरो जागिर कोरोनाको विपत अघिको सुमधुर वैवाहिक सम्बन्धमा दरार ल्याउने कारण वनेको थियो । कहिले रात कहिले दिन गरेर विरामीको सेवामा खटिदा खटिदै मलाई ज्वरो आउने खोकि लाग्ने हुन थाल्यो । अन्ततः शंका लागेर मैले पिसिआर टेस्ट गराए, रिपोर्टले मेरो होस हवास नै उडायो किनकी मलाई कोरोना पोजेटिभ देखायो । म माथि सिंगो आकाश खसेजस्तो अनुभुती भइरहेको थियो अकौतर्फ थोरै खुसिको पनि अनुभुति थियो किनकी कन्ट्याक टे«सिङमा परेको मेरो परिवारका सदस्य र मेरो सानो वच्चालाई भने नेगटिभ देखायो ।

त्यसपछि आफु काम गर्ने अस्पतालकै आइसोलेसन कक्षमा उपचारार्थ भर्ना भए । अस्पताल र मेरो घर नजिकै थियो । सुरुवाती चरणमानै पत्ता लागेकाले होला मलाई खासै गाह्रो अनुभुती त भएको थिएन तर वच्चाको यादले एकदमै सताउथ्यो । उसको हेराइको एक झिल्को मात्र पाउन पाए पनि म अनुगृहित हुनेथिए जस्तो लाग्थ्यो ।

१५ दिन आइसोलुसनमा रहदाँ मैले आफुलाई सबथोकबाट परित्यक्त अनुभुत गरिरहेकी थिएँ । एउटी आमालाई सन्तानको माया कति हुन्छ, त्यसमाथी ६ महिनाको बालक जिवित आमाको ममता विहिन भएर वस्नुपरेको थियो । त्यो समय उसका कलिला ओठले, कलिलो वाल मस्तिष्कले कती सम्झियो होला, भक्कानो फुटेर आउथ्यो । दुध वेस्सरी चर्किन्थ्यो तर पूर्वजन्मको पापले अभिशप्त आफैलाई धिकार्नु सिवाय केहि विकल्प थिएन ।

मलाई खान मन लाग्दैनथ्यो । निद्रा लाग्दैनथ्यो त्यो समय म गहिरो डिप्रेसनमा गइसकेको थिए । प्रत्येक पलपल आफू मरेर भएपनि मैले आफ्नो शरिरको कोरोना मार्न सके, अर्थात मैले कोरोनासँगको युद्ध जितें।

तेश्रो पटकको जाँचमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि म घर जान सक्ने भए । अस्पतालले डिस्चार्ज गरिदिने भयो । मैले श्रीमानलाई फोन गरेर यसवारे जानकारी दिए । आसा थियो लिन आउनुहुन्छ होला भन्ने, तर ट्याक्सी लिएर आउनु भन्ने निर्देशन भएपछि त्यसै अनुसार म घर गए ।म फुरुङ्ग थिए, मेरो छोरा मेरो मुटुको टुक्रालाई अंगाल्ने छु, छातिमा टास्नेछु, चुम्बन गर्नेछु अनि हृदयभरी संचित भएर वसेको सवै ममता पोख्याउने छु ।”

यति बोल्दासम्म उनको गला अवरुद्व भइसकेको थियो । उनी चुप लागिन् डा. जान्वी पनि चुप लागिरहिन्, एकैछिनमा त्यहाँको माहोलमा सन्नाटा छायो । तर अकस्मात निदाएको नाटक मञ्चन गरिरहेकका मेरा नयनहरु खुले , यसो रचना तिर हेरें उनका अश्रुकुण्डबाट आँसुका थोपा गुडुल्कीएर झरिरहेका थिए । सबै चुप भए त्यसपछि के भयो होला रचनाको जिन्दगीमा भन्ने खुल्दुली डा. जान्वीलाई भन्दा बढी मलाई भयो । वर्षौ देखि रोकिएको बोली अकस्मात फुटेजस्तो आत्तिएर जुरुक्क उठेर बोल्नु पुगेछु, “ त्यसपछि के भयो वहिनी ?”

उनले पुलुक्क म तिर हेरिन डा. जान्वीले पनि मलाई नै हेरिरहेकी थिइन् । मलाई पनि बीचमा किन प्वाक्क बोल्नुपरेको होला । आफै देखि रिस उठ्यो । एकछिनको मौनता पछि रचना आफ्नो घटनाको नालीबेली लगाउदै गइन् ।

“रिपोर्ट नेगेटिभ आएर अस्पतालले समेत डिस्चार्ज गरिसकेको मलाई घरमा गइसकेपछी वच्चालाई भेट्न दिइएन । म प्रति सवै परिवारजनमा हेयभाव थियो । घरको स्टोर रुम खालि गरेर सानो बेड हाली मलाई छुट्टै बस्ने व्यवस्था पो मिलाइएको रहेछ ।

छोराले मलाई देखिहाल्यो र चिच्याएर रुन थाल्यो, बोलि नफुटेको भएपनि उसले आफ्नो कारुणिक रुवाईबाट १५ दिन देखिको वेदना पोखिरहेको थियो,मेरोे मनले उसको रुवाईको भाषा बुझिरहेको थियो । मेरो छाती चिरिएर आयो आफुलाई रोक्नै सकिन र वच्चातर्फ अगाडि वढे तर मलाई छुनै दिइएन । दुई चार दिन आफै अलग वस्नु भन्ने सासु ससुरा र श्रीमानको आग्रहलाई शिरोधार्य गरि अलग्गै वस्ने निर्णय गरे । अङ्गाल्न नपाए पनि कमसेकम मैले मेरो मुटुको टुक्रालाई देख्न सम्म त पाएको थिए ।

दुई तिनदिन अघि देखि छोरालाई भने सन्चो रहेनछ । एकदमै रोइरहन्थ्यो । छोरो रुँदा, खान नमान्दा, मलाई खोज्दा टाढैबाट हेरेर आँशु खसान्न वाहेक केहि गर्न सक्दैनथे । मेरो कारणले ६ महिनाको उमेरमा जिवित आमाको ममताबाट ऊ परित्यक्त हुनुपरेको थियो ।

अलग वस्नुपर्ने दिन कहिले सकिएला भन्दै हर दिनहरु गन्न थाले । बल्ल तिन दिन वित्यो, छोरो झनझनै रुन थाल्यो रुँदारुँदा एकैछिनमा उसको शरिर तातो भैहाल्यो खाना केहि नमान्ने उसलाई फुल्याउन कसैको केहि लागेन । छोराको चिच्याहटले मेरो धैर्यताको वाँध फुट्यो । दगुरेर गएर सासुबाट छोरो खोसेँ, रुँदारुँदा उसका हातगोडा काँपिरहेका थिए । छोरोसँगै आफु पनि रोए, मनभरीका व्यथालाई आँशुले धोए, रोइरहेको छोरालाई जवरजस्ती स्तनपान गराउन खोजे तनतन दुध पिएर पिउदा पिउदै उ भुसुक्क निदायो ,सवैजनाले ट्वाल्ल परेर मलाई हेरिरहे ।

छोराको शरीरको तापक्रम बढिरहेको थियो । आफैले ट्याक्सी बोलाएर अस्पताल लैजाने मेलो गरँे माहामारी चलिरहेको र छोरालाई हल्का ज्वरो आएकोे कारणले पुनः हाम्रो घर परिवारका सदस्य सबैजनाको केरोना परिक्षण भयो ।मेरो भने जिन्दगीकै परिक्षण भइरहेको थियो । भगवानको कृपाले सबैको रिपोर्ट त नेगेटिभ आयो तर छोरालाई निको हुने छाँटकाट देखिएन । उ रोएको रोएै थियो, गाह्रो भएर होला वेला वेला रुन पनि सक्दैनथ्यो । सबै चेकजाँच भैसकेपछि थाहा भयो उस्लाई निमोनिया भैसकेको रहेछ । श्वासप्रश्वासमा समेत समस्या देखिएकाले भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने भयो । त्यो रातभरी डाक्टरहरु राउण्डमा आइरहनु भयो । बाबुको स्वास्थ्य अवस्था झन बिग्रदै गएको बुझिन्थ्यो । त्यस रातको प्रत्येक पल छट्पटिमै बित्यो ।

भोलिपल्ट दिउँसोको लगभग १ वजेको थियो । एकजना सिस्टर हस्याङ्गफस्याङ्ग गर्दै भेन्टीलेटर रुमबाट बाहीर निस्कीइन र डाक्टरलाई के भनिन् कुन्नी सवैजना भित्र जानुभयो,१५÷२० मिनेट पछि सवैजना निस्किएर मेरो छेउमा आएर भन्नुभयो माफ गर्नुहोला, हामिले तपाईको वच्चा वचाउन सकेनौ धेरै ढिला भैसकेको छ ।

त्यो आवाज मेरो कानमा पर्नासाथ म वेहोस भएर ढलेछु, १४ घण्टासम्म के भयो मलाई केही थाहा भएन । व्यूँझिदा म अस्पतालको वेडमा थिए । म अर्धमृत थिएँ, म थिएँ तर मेरो संसार थिएन । मेरो शरीर थियो आत्मा थिएन ।”

उनले त्यति भन्दासम्म उनी पूरै भावविह्वल भैसकेकी थिईन, मेरा आँखाबाट पनि बलिन्द्र धारा आँसु झरिसकेका थिए । डा. जान्वीले लामो श्वास फेर्नुभयो, गला उहाँको पनि अबरुद्व थियो । तर डा. जान्वीको प्रश्न सकिएको थिएन । एक गिलास पानी हातमा थमाइदिदै भन्नुभयो “अनि” ?

रचना बोलिन् – “मेरो होस खुल्दा मेरो वरिपरी सबै परिवारका सदस्य माहुरीको गोलोमा माहुरी झुम्मीएझै झुम्मिएका थिए । त्यहाँ कुनै सामाजिक दुरी थिएन । वेस्सरी कराएर भन्न मन लागेको थियो मलाई कोरोना लागेको छ मेरो वरिपरि नबस भनेर, मलाई मेरो वरिपरि जो मान्छे देखे पनि व्यग्र रिस उठ्न लागेको थियो म आफुलाई सम्हाल्न सक्ने स्थितीमानै थिइन, न त अरुले सम्हाल्दीएको मन प¥थ्र्यो । सानो लापरवाहीले मैले मेरो मुटुको टुक्रा गुमाउनु परेको थियो । ”

उनी थप्दै गईन ।

–“त्यसपछि म जुरुक्क उठेँ । हातको नसाबाट दिइरहेको स्लाईन पानीको बोतललाई वेस्सरी थुतेर फालँे, गोडामा चप्पल पनि थिएन । म पागल जस्तो दौडिएरै घर पुगें, मेरो पछि सबै दौडिरहेका थिए मलाई भेट्ने आसमा, कोही हिडिरहेका थिए,कोहि गुडिरहेका थिए तर म उडेको थिए द्रुत गतिमा ।

मलाई कसैले भेटेनन् । म सरासर घरको स्टोर रुममा गए, जुन मलाई बस्नका लागी खालि गरिएको थियो । भित्रबाट चुक्कुल लगाए, विच्छौनामा घोप्टिएर वेस्सरी चिच्याएर रोएँ अनि सानो छोरासँगै आकाशको तारा हुने सोचले आफ्नो गलामा डोरीको पासो लगाएँ ।

तर यो पापी संसारमा विक्षिप्त भएरै बाँचिरहन लेखेको रहेछ क्यार दैवले मलाई मर्न पनि दिएन, डोरी चुडिएर भुईमा बजारिन पुगे, आफ्नै जिउले थिचेर हात भाँचिएछ, त्यस बेलासम्म ढोका फोरेर मेरा श्रीमान भित्र छिरिसकेका थिए ।”

मैले रचनालाई पुलुक्क हेरँे, उनको हातको व्यान्डेज र घाँटीमा लगाईएको पट्टीको कारण पनि थाहा पाएँ, डा. जान्वीले पेपरमा केही टिप्दै हुनुहुन्थ्यो टिपीसकेर भन्नुभयो,– “आफुलाई बलियो बनाउनुस् बैनि ,अबका दिनमा के गर्नुहुन्छ ?”

रचना बोलिनन्, उनी भुसुक्क निदाईसकेकी थिईन् । एक घण्टाअघि सिस्टरले दिएको निद्राको गोलीले उनी साँच्चिकै निदाएकी थिईन् । मैले जस्तो निन्द्राको अभिनय गरेकी थिइनन् ।

“सिस्टर उहाँको कुरुवा बोलाईदिनु प¥यो” भन्दै डा. जान्वी बाहिरिनु भयो । मेरो भने दिमाग नियन्त्रणबाट बाहिरियो । मलाई एकदमै छटपटाहट भयो, आफुलाई नपरुन्जेल केही न केही भन्छन तर उनको दर्दनाक कहानी सुनेपछि मलाई हरेक व्यथा आफ्नै जस्तो लागिरहेको थियो ।

औषधिको सहाराले निदाउने उनको बाँकी जिवन कसरी व्यतीत होला अब के गर्लिन भन्ने अनेक प्रश्न प्रतिप्रश्नले मेरो मन मष्तिकमा पूरै जालो लगाईसकेको थियो । त्यो रात मलाई पूरै कालो रात झै लागिरहेको थियो, पटक्कै निदाउन सकिन अस्पतालमा विताएका कयौ रातहरु भन्दा मेरो त्यो एक रात अविस्मरणीय थियो ।

म एकोहोरो निदाएकी रचनालाई हेरिरहेकी थिएँ रातभर । विहानीपख मेरो आँखा जोडिएछन् , पछि झल्यास्स ब्यूझिँदा ७ बजिसकेको थियो, आँखा खुल्ने बित्तिकै रचनाको वेडतर्फ हेरेँ , उनको बेड खाली थियो, उनी डिस्चार्ज भइसकिछन्, कहाँ गईन, कता गईन, कोसँग गईन केहि थाहा भएन ।

आज ५ महिनाअघि अस्पतालमा बिताएको त्यो एक रात र रचनालाई सम्झेर म बेलाबेलामा एकोहोरिरहन्छु ।