फुटको राजनीतिले कसलाई फाइदा गर्ला ?

भगवती चौधरी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी यतिबेला आन्तरिक कलहले फुटको अवस्थामा पुगेको छ । नेतृत्व तहमा भएको असमझदारी, पार्टी र सरकार सञ्चालन विच तादम्यता नमिलेपछि उत्पन्न भएको परिस्थितिले जनमतको पूर्ण अवमुल्यन हुने अवस्था देखिएको छ । जनताले नेकपालाई स्थायी सरकार गठन गर्न भनेर जनादेश दिएका हुन् । आधा समयमै सरकार ढाल्न खोज्नु पनि जनमतको अवमुल्यन गर्नु हो । भने, सरकारले पनि पार्टी र जनताका अपेक्षा अनुरुप योजनाबद्ध रुपमा काम गर्न नसक्नु सरकारको कमजोरी हो । पटकपटक सरकारले गरेका काम र निर्णयहरु आलोचित भइरहँदा त्यसलाई सच्याएर जानुपर्दथ्यो तर, त्यसो भएन ।

Blog Post Ad

जनता कोरोनाको भयमा बाँच्दा जनतालाई कोरोना संक्रमणबाट जोगाउनु राज्यको दायित्व थियो, तर सरकार तथा सरकारका केही मन्त्रीहरुले आशातित काम गर्न नसकेपछि नेतृत्व तहमा चौतर्फी आलोचना बढ्नु स्वभाविक हो । छोराछोरीले अभिभावकसँग गुनासो गर्न नपाउनु वा छोराछोरीको जायज माग र आवश्यक्तालाई अभिभावकले पुर्ति नगर्ने हो भने असन्तुष्टि बढि हाल्छ नी ।

सरकार ट्रयाक भन्दा बाहिर गइरहेको छभने पार्टीले बेलैमा निर्देशन दिने, सल्लाह दिने रणनीति बनाउनु पर्ने भएपनि यहाँ त कतिपय कुरामा सरकारलाई नै असफल बनाउने काममा नेतृत्व लागि परे । फलस्वरुप पार्टी नेतृत्व र सरकारको नेतृत्व गर्नेविच दुरी बढ्दै गयो ।

त्यसो त कोरोना संक्रमणले विश्वकै अर्थतन्त्रमा गम्भिर असर गर्दा हाम्रो सरकारले चैं जादुको छडी जस्तो तुरुन्त सबै समस्या हल गर्नुपर्छ भन्ने हैन । सरकारलाई पनि साधन स्रोत ब्यवस्थापन गर्न र जनशक्ति तयार गर्न समय लागि हाल्छ । तथापि, जति गर्नुपर्ने थियो त्यत्ति गर्न नसकेको चैं अवस्य हो । कोरोना संक्रमण आउँदै गर्दा कसैले पनि त्यसको उपचार, रोकथामका उपाय पत्ता लगाएका थिएनन् र अहिलेसम्म लाग्न सकेको छैन । यो कुरा नेतृत्वले आम जनतालाई बुझाउन पनि सकेनन् । र, अवसरलाई सदुपयोग पनि गर्न सकेनन् । कतिपय सरकारका जिम्मेवार तहमा बस्नेहरु कोरोनाका नाममा पार्टी र सरकारलाई बद्नाम गराउन उद्यत पनि भए । कोरोना स्वास्थ्य सामग्री खरिदमा चलखेल भए नभएको छानविनले बताउला तर, देश संकटमा परेको बेला त्यसकै फाइदा उठाउँदै राज्यको ढुकुटीमा लुछाचुँडी गर्नु चैं कदापि सैह्य हुने कुरा होइन । त्यसकारण सतहमा देखिएका विवादहरु अस्वभाविक हैनन् तर, तिनलाई संवोधन नगरी एकापसमा हिलो छेपाछेपको जुन राजनीति भयो त्यो चैं गलत हो ।

पार्टीभित्र र नेतृत्वभित्र देखिएको विवाद र अन्तरद्वन्द्व शुरुकै अवस्थामा हल गर्न सक्नु पर्दथ्यो तर, जहिल्लै विवादहरुलाई थामथुम गर्ने, लुकाउने काम मात्र भयो । सचिबालय, स्थायी समितिले आशातित सरकारलाई सहयोग गर्न सकेन । सरकारले पनि पार्टी र कार्यकर्ताको मनोभावना अनुसार काम गर्न सकेन । फलस्वरुप पार्टीका कार्यकर्ता र जिम्मेवार नेतृत्व आलोचित बन्नु परेको हो ।

कमजोरी सरकारको पनि हो र पार्टी नेतृत्वको पनि हो । अब कमजोरी केलाएर आगोमा घिउ हाल्ने कि, आगो निभाउने ? नेतृत्वले ठण्डा दिमाग लगाएर सोच्ने बेला आएको छ ।

सरकार ट्रयाक भन्दा बाहिर गइरहेको छभने पार्टीले बेलैमा निर्देशन दिने, सल्लाह दिने रणनीति बनाउनु पर्ने भएपनि यहाँ त कतिपय कुरामा सरकारलाई नै असफल बनाउने काममा नेतृत्व लागि परे । फलस्वरुप पार्टी नेतृत्व र सरकारको नेतृत्व गर्नेविच दुरी बढ्दै गयो । नेतृत्व भित्र सल्किएको असमझदारीलाई न्यूनिकरण गर्ने, उनीहरुलाई आउट अफ ट्रयाक हुनबाट बचाउन सरकारका सल्लाहकार, विगतमा पटक–पकट सरकारको नेतृत्व गरेका, पार्टीको नेतृत्व गरेर अनुभव हासिल गरेकाहरुले सानो प्रयास पनि गरेनन् । बरु उल्दै दुई नेतृत्वविच फाटो ल्याउने, असमझदारी बढाइदिने र आगोमा घिउ थप्ने काम मात्र भयो ।

अब, आगो त सल्किइसक्यो, त्यसलाई कसरी निभाउने ? त्यसतर्फ सोच्नु पर्दछ । हामी नविर्सउँ, जनताले नेकपाबाट धेरै आशा राखेका छन्, इतिहासमै पहिलो पटक झण्डैझण्डै दुई तिहाईको सरकार बनेको छ । रपनि हामीले जनताको जिवनस्तर उकास्ने, जनजिविकाका सन्दर्भमा आशातित काम गर्न सकेका छैनौं । कमजोरी हाम्रै हो । कमजोरी सरकारको पनि हो र पार्टी नेतृत्वको पनि हो । अब कमजोरी केलाएर आगोमा घिउ हाल्ने कि, आगो निभाउने ? नेतृत्वले ठण्डा दिमाग लगाएर सोच्ने बेला आएको छ ।

अहिलेको विषम परिस्थितिमा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्नु नेकपालाई घातक हुन्छ । यही सरकारलाई निरन्तरता दिँदै जन अपेक्षा अनुरुप काम गर्ने हो भने अझै केही विग्रिएको छैन । नेतृत्व सच्चिएर जानु पर्यो, अढाई वर्षमा धेरै काम गर्न सकिन्छ । राष्ट्रियताको सवालमा मिलेर जानुको विकल्प छैन ।

यति चै नेतृत्वले प्रष्ट हुनै पर्दछ की, पार्टी फुटेमा, फुटाइएमा इतिहासले नेकपालाई कहिल्लै माफि दिनेछैन । पार्टी फुटेपनि नफुटे पनि त्यसको जस अपजस बर्तमान नेतृत्वले लिनै पर्दछ । कामना नगरौं, कदाचित पार्टी फुटि हाले कुनैपनि पक्ष त्यसको दोषबाट पन्छिन पाउँदैन । इतिहासले त्यो नेतृत्वलाई धिक्कार्नेछ जसले यस्तो विषम परिस्थितिमा पार्टीलाई फुटाउने कुटील चाल खेल्दैछ ।

‘फुटाउ र शासन गर’ हरुमा कुनै राष्ट्रियता हुँदैन, कुनै देश हुँदैन । नेकपाभित्र पनि, सरकार भित्रपनि यस्तै सिद्धान्त बोकेकाहरुको प्रवेश भएको छ । जसलाई अब फाल्ने बेला आएको छ ।

यतिबेला राष्ट्र संकटमा छ, राष्ट्रियता धरमरमा छ, यो बेला पार्टी र नेतृत्वले आफुभित्र रहेका मतान्तरलाई विर्सिदिउँ, गल्ती मान्छेबाटै हुन्छ । गल्तीलाई सुधारेर अगाडी बढ्नुको महानता अरुमा छैन । त्यागको राजनीति गरौं, फुटको हैन ।

राष्ट्रियता, राष्ट्रिय एकता बलियो बनाउन हामीसँग जुट्नुको विकल्प छैन । हामीले बुझ्न पर्दछ कि नेकपा फुटोस र समाप्त होस भन्ने तत्वहरु पार्टीमा पनि छन्, देशभित्र पनि छन् र कतिपय विदेशी शक्ति पनि सक्रिय छन् । ‘फुटाउ र शासन गर’ भन्ने सिद्धान्त बोकेकाहरुले कहिल्लै राष्ट्रहित सोच्दैनन् । उनीहरुको उद्देश्य त लडाएर हुन्छ कि फुटाएर हुन्छ सत्ता र शक्ति कब्जा गर्ने मात्र हुन्छ । ‘फुटाउ र शासन गर’ हरुमा कुनै राष्ट्रियता हुँदैन, कुनै देश हुँदैन । नेकपाभित्र पनि, सरकार भित्रपनि यस्तै सिद्धान्त बोकेकाहरुको प्रवेश भएको छ । जसलाई अब फाल्ने बेला आएको छ । फुटको राजनीतिले कसैलाई फाइदा गर्दैन भन्ने हामीले इतिहासबाट किन नसिक्ने ? इतिहासमा कम्युनिस्टहरु पटकपटक फुटेको हैन, इतिहासमा कांग्रेसीहरु फुटेका हैनन् ? खै त्यो टुटफुटको राजनीतिले कसलाई फाइदा पुग्यो त ?

यथास्थितिमा रमाउने, मुलुकलाई प्रगतिको पथमा लैजान नचाहने, जनतालाई सदैव दास सम्झने प्रवृत्तिका विरुद्ध एकाकार होउँ । मुलुकलाई उदार समाजवाद तर्फ उन्मुख गराउनका लागि आदरणीय नेतृत्व, फुटेर हैन जुटेर शासन गरौ, जनमतको कदर गरौं ।

नेतृ चौधरी पूर्वराज्यमन्त्री तथा नेकपाकी केन्द्रीय सदस्य हुन् ।