दाङ, १० मंसिर । पछिल्लो समयमा हुम्ला जिल्लाका विभिन्न खोला किनारमा अवस्थित पानी घट्टहरु लोप हुँदै गएका छन् ।आधुनिक घट्टको विकाससँगै परम्परगत घट्टहरु पछिल्ला केहि वर्षयता लोप हुँदै गएका हुन् ।
आधुनिक घट्टहरु विकास भएपछि जिल्लाका अधिकांश खोला किनारमा रहेका परम्परागत घट्टहरु कम भेटिन थालेका छन् ।बाबु बाजेको पालादेखि पानी घट्ट सञ्चालन रहेको खार्पुनाथ गाउँपालिका–५ का पौमल सुनार पिसनी र कटनी मिल गाउँमा भित्रिएसँगै घट्टको महत्व घट्दै गएको बताउनुहुन्छ ।
तीन पुस्तादेखि घट्ट सञ्चालन गर्दै आएको भएपनि अहिले भने गाउँका घट्टमा पीठो पिस्नेको कमी भएको सुनारले सुनाउनुभयो ।सुरुका वर्षभन्दा आजभोलि पानी घट्टहरुको संख्या घटेको अदानचुली गाउँपालिका –५ काँखेका स्थानीय पदमराज हमालको अनुभव छ ।
विगतका वर्ष तुलनामा पानीहरु पछिल्ला समय विस्थापित भएको हमालले बताउनुभयो ।हुम्ला जिल्लाका कति पानी घट्ट छन् भन्ने त एकिन तथ्याङ्क छैन तर करिब १ देखि २ सय सम्मको हारहारीमा पानी घट्ट अहिले पनि संचालनमा रहेको अनुमान गरिएको छ ।