प्रधानमन्त्री ओलीलाई गोविन्द केसीको जबाफः मेरो उपचार खर्च म आफैँ बेहोर्छु

काठमाडौं । कोरोना संक्रमण भएपछि टिचिङ्ग अस्पताल महाराजगञ्जमा उपचाररत डा गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ ब्यहोर्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री के पी शर्मा ओलीले ट्वीट गर्दै उनलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए भने उनको उपचार खर्च सरकारले जिम्मा लिने बताएका थिए ।

जबाफमा डा केसीले सरकारले नागरिकप्रतिको आफ्नो कर्तव्य पूरा गरे पुग्ने बताएका छन् । उनले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उपचार खर्च आफैँ ब्यहोर्ने बताएका हुन् ।

Buddha International Hospital

डा केसीले जारी गरेकाे विज्ञप्तिः–

Advertise with us

 

म कोभिड-१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।

 

कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।

 

हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।

 

तसर्थ हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु।

Advertise with us