सिकलसेल पिडित परीवारलाई सहयोग


दाङ, १६ फागुन । घोराही उपमहानगरपालिका १७ चौघेराका एकै परिवारका चार जनालाई सिकलसेल भएको छ । २५ बर्षीया कमला चौधरी र उनका छोरीहरु १० बर्षीया सम्झना, ८ बर्षीया माधवा र ६ बर्षीय छोरा गोविन्दलाई सिकलसेल भएको हो । आर्थिक अभावका कारण परिवारमा समस्या भएको समाचार बुटवल टुडेमा प्रकाशित भएपछि जिल्लाका विभिन्न व्यक्ति तथा सस्थाहरुले सहयोग गर्न थालेका छन् ।

Buddha International Hospital
Advertise with us

दुई बर्षदेखि समस्या भए पनि गत बैशाखमा मात्रै रोग पहिचान भएको थियो । श्रीमान् छेदु चौधरी मात्रै रोगबाट बचेका छन् । छेदु र सिकलसेल पिडित कमलाले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् । आर्थिक अभावका कारण परिवारमा समस्या भएको समाचार बुटवल टुडेमा प्रकाशित भएपछि बिभिन्न व्यक्ती तथा संघसंस्थाले सहयोग गर्न थालेका हुन् ।

घोराही ७ का लेखराज डिसीले विहिवार बालबालिकालाई पढ्नका लागि १० हजार रुपयाँ सहयोग गरेका छन् । बालबालिकाले घोराहीस्थित गोरक्ष रत्ननाथ मावि चौघेरामा पढिरहेका छन् । उनले त्यो रकम दुई वालवालीकाको विद्यालयमा लाग्ने खर्चको लागि सहयोग गरेका हुन् । विद्यालयमा अंग्रेजी माध्यममा पढिरहेका संझना र माधवाको एक वर्षको मासिक तथा भर्ना शुल्क वाफत दश हजारको चेक विद्यालयका प्रधानाध्यापक शेमलाल मल्ललाई हस्तान्तरण गरेका हुन् ।

यो एक वर्षको उनीहरुको मासीक शुल्क हो आगामी वर्षहरुमा पनि सहयोग गर्ने सोचेको छु डिसीले भने । हाम्रो सानो सहयोगले ती वालवालीकाले शिक्षा लिन पाउछन् भने सहयोग गर्न म सधै तयार छु भन्छन् डिसी । यसैगरी घोराहीकी सामाजिक अभियन्ता रजनी श्रेष्ठले उनीहरुको घरको अवस्था देखेर चामल, तेल लगाएतका खाद्यान्न सहयोग गरेकी छिन् ।

दैनीक मजदुरी गरेर खाने परीवारमा समस्या देखर उनले सहयोग गरेको बताईन् । ग्रामिण महिला उत्थान केन्द्रले बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको छ ।


जिल्लामा १ सय ६० सिकलसेलका बिरामी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. रामप्रसाद प्याकुरेलले बताएका छन् । जिल्लामा तीन महिनादेखि औषधी अभाव रहेको र भर्खरै मात्रै भेरी अञ्चल अस्पताल बाँकेबाट केही औषधी ल्याएको उनले बताए । देशभर नै अभाव भएकाले यहाँ पनि समस्या भएको प्याकुरेलले बताए ।

औषधी नभएका कारण बिरामीले तीन महिनादेखि सेवन गर्न पाएका थिएनन् । सिकलसेलका विरामीहरुले तीन महिना देखी आईरन चक्कि खाएर जीवन निर्वाह गरीरहेका थिए ।