घर आँगनमै व्यवसाय दर्ता गर्दै तुलसीपुर उपमहानगर


तुलसीपुर,फागुन १२ । तुलसीपुर उपमहानगरपालिकाले व्यवसायीको घर आँगनमै पुगेर व्यवसाय नविकरणका साथै दर्ता नभएका व्यवसायीहरुलाई दर्ताका लागि आग्रह गर्ने भएको छ । उपमहानगरपालिकाका वित्तिय अधिकृत ललित घर्तिका अनुसार व्यवसाय नविकरण र दर्तालाई प्रभावकारी वनाउनका लागि उपमहानगरपालिकाले यस्तो काम अगाडि वढाइएको हो ।

‘व्यवसाय दर्ता नगरेर सञ्चालन गर्ने र एकपटक दर्ता गरेपछि नविकरण नगर्ने प्रवृत्तिको अन्त्यका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’ घर्तिले भने । उनले तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा दुइ समुह वनाएर उपमहानगरपालिका क्षेत्रभित्र परिचालन गरिएको समेत जानकारी दिए । प्रारम्भिक चरणमा तुलसीपुर वजार क्षेत्रभित्र भएपनि विस्तारै हरेक वडामा अभियान सञ्चालन गरिने पनि अधिकृत घर्तिले वताए ।


यस क्षेत्रमा पछिल्लो समय व्यवसायीहरुको सँंख्या वढेको भएपनि दर्ता गर्ने प्रक्रियामा निकै कमी रहेको भन्दै उपमहानगरपालिकाले यो अभियान सञ्चालनमा ल्याएको हो । उपमहानगरपालिकाले पछिल्लो समय यस क्षेत्रमा सञ्चालन भएका व्यवसाय अनिवार्य रुपमा दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने कानुनी प्रावधानलाई कडाइ गर्दै लगेको छ ।

यसका साथै घर तथा जग्गा वहालमा दिने घरधनी तथा जग्गाधनीहरुलाई पनि करको दायरामा ल्याउनका लािग तथ्यांक संकलन र त्यसका वारेमा जानकारी दिने भएको छ । यस अगाडि नेपाल सरकारले घर तथा जग्गावहाल कर लिने गरेकोमा नेपाल सरकारकै निर्णय वमोजिम गत चैत्रदेखि स्थानीय तहले कर असुली गर्ने गरेको थियो ।

उपमहानगरपालिकामा लक्ष्य अनुरुप कर असुली नहुँदा घाटा वजेट भइ विकास निर्माणमा समेत प्रभाव परेको प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले वताए । उनले लक्ष्य अनुसारको कर उठाउनका लागि करदातामा करसम्वन्धि शिक्षा दिनुपर्ने कुरामा जोड दिए ।