कोइलाबासको फर्केर आउला त जवानी ?

जीतसागर जी.एम.

Buddha International Hospital

दाङ, १३ कार्तिक। गढवा गाउँपालिका–८ कोइलाबासका पदम रावल अहिले ७२ वर्षको भए । उनी जवान हुँदा अर्थात ३०÷३५ वर्षको उमेरमा कोइलाबास नाका पनि जवानी अवस्थामा थियो, अर्थात अहिले खण्डहर बनेको कोइलाबास त्यो समयमा उनिजस्तै जवान थियो । आजभन्दा करिब ४० वर्ष अघि उनलाई लाग्थ्यो कोइलाबास बजार कोइलाबास नाका थिएन्, त्यो त भारतको बम्बै सहर भन्दा कम थिएन् ।

Advertise with us

कोइलाबासमै जन्मीएर त्यही हुर्केका रावल बाल्य अवस्थामा हुँदै वृद्ध अवस्थामा पुगे । समय र परिस्थिति अनुसार उनीजस्तै बजार पनि वृद्ध अवस्थामा पुग्यो, अर्थात मानिसहरुको चहलपहल कमी हुँदै गएपछि कोइलाबास बजारको जवानी खस्किदै गयो । अन्त्यमा करिब ४५ वर्ष अघि बजारका मानिस पनि विस्थापित भए ।

आज भन्दा ४५ वर्ष अघि अर्थात उनी ३० वर्षको उमेरमा हुँदा कोइलाबास नाकामा व्यापार व्यवसाय भएको देख्दा उनलाई लाथ्यो , कोइलाबासको अहिलको अवस्थाजस्तो हुँदैन् । ‘कोइलाबासै जन्मीए बाबु, यतै हुर्किएँ, यस्तो होला भन्ने त कल्पना सम्म पनि गरेको थिएन, उहिले पसल चलाएका घरहरु अहिले जंगली जनावरको बास हुने गरेको छ ’ उनले भने–‘ कोइलाबास बजार सुक्नु भनेको कारण कृष्णनगर नाका संचालनमा आउनु हो, त्यो मात्रै नभएर गाउँ–गाउँमा विकास पुगेका कारण पनि कोइलाबास बजार सुकेको हो ।’

दाङसहित साविक राप्तीका रोल्पा, रुकुम, सल्यान, प्युठानका नागरिकले नुन लगाएत दैनिक उपभोग्य वस्तु ल्याउन जाने ठाउँ कोइलाबास नाकामा ४५ वर्ष अघि निकै व्यापार व्यवसाय र मानिसको चहलपहल सम्झिँदा उनलाई अहिले त्यो सपनाजस्तै लाग्छ । ‘उतिबेला त अहिलेको बम्बै सहरजस्तै हो कोइलाबास, तर विस्तारै समयले कोल्टे फेर्दै गयो, परिस्थिति उस्तै भएन्, गाउँगाउँमा बाटो पुगेपछि अहिले हामीलाई सपनाजस्तै लागेको छ ’ उनले भने–‘ त्यो समयमा राम्रै व्यापार हुन्थ्यो र यतै बसियो, सम्पूर्ण जीवन सकिन लाग्यो, तर अहिले गुजारा चलाउने पनि अवस्था छैन् ।’

स्थानीय बिएम रत्न तुलाधरले पनि बाल्यकालमा कोइलाबास बजारको चहलपहललाई सम्झछन् । उनलाई कोइलाबास बजार अहिलेको जस्तो खण्डहर हुन्छ जस्तो लागेको थिएन्, समय र परिस्थिति फेरिदैँ जाँदा अरु ठाउँको विकास भयो तर कोइलाबास सुक्दै गयो । कुनै समय कोइलबासका स्थानीयलाई आम्दानका प्रशस्त संभावना भएपनि अहिलेको अवस्थामा दैनिक ज्याला मजदुरी नगरी खान लगाउन नपुग्ने उनले बताए ।

‘व्यापार व्यवसाय सपनाजस्तै भयो, मानिसहरुको चहलपहल नै नभएपछि के व्यापार व्यवसायको आशा गर्नु र ? उनले भने–‘ जसले गर्दा अहिले रोजगारीका लागि विदेशीनुको विकल्प छैन् ।’ सडक कालोपत्रै भएपछि अब फेरि कोइलाबास परिवर्तनको पखाईमा रहेको उनले बताए । ‘प्रदेशको राजधानी पनि भएको छ र बाटो पनि पक्कि भएको छ, यसले पनि नाकामा अब चहलपहल बढ्ने आशा गरेका छौँ’ उनले भने–‘नाका अहिले बन्द भएका कारण पनि चहलपहल बढेको छैन्, सरकारले तत्काल नाका खोल्नमा पहल गरोस् ।’

बाबुबाजेले नुन लगायत दैनिक उपभोग्य वस्तु लिनका लागि महिनौँ दिन लाग्ने कोइलाबास बजारमा पुग्न अहिले सडक पक्कि भएपछि १÷२ घण्टामात्रै लाग्ने गरेकोे छ । सडक कालोपत्रे भएसंगै कोइलाबास बजारमा किनमेल गर्नेहरुका लागि जाने भन्दा पनि बाबुबाजेले नुन ल्याउने ठाउँ कस्तो होला भन्दै पुग्ने गरेका छन् । सडकको विस्तार भएसंगै कोइलाबास नाकामा पछिल्लो समय दैनिक १००÷२०० जना पुग्ने गरेका छन् ।

कोरोना माहामारीका कारण कोइलाबास नाका बन्द अवस्थामा रहेको छ । कोइलाबास नाका बन्द भएपनि नाकामा दैनिकरुपमा अवलोकन गर्न आउने मानिसको संख्या बढ्दै गएको गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिए । ‘ सडक पक्कि भएपछि लमहीबाट २०÷३० मिनेटमै कोइलाबास आउन सकिन्छ, यसले गर्दा पनि पुराना पुस्ताको बजार कस्तो रहेछ भनेर आउनेको संख्या बढ्दै गएको छ ।’

नाका बन्द रहेका कारण पनि बाह्य व्यक्तिको आगमन हुन नसकेको उनले बताए ।‘ भारतबाट आउने नागरिक आउन पाएका छैनन्’ उनले भने–‘अहिले आन्तरिक पर्यटकमात्रै आउने गरेका छन्, त्यसले व्यापार व्यवसाय बढाउन सकेको छैन् ।’ कोइलाबास नाकामा बजार पनि विस्तार हुन नसकेको वडा अध्यक्ष सिद्धिकीले बताए ।

‘मानिसहरुको चहलपहल नभएका कारण पनि बजार विस्तार हुन सकेको छैन्’ उनले भने–‘सडक पक्कि भएपछि अब बजार बस्ने र चहलपहल बढ्ने अपेक्षा गरेका छौँ । कोइलाबास नाकामा अहिले पहिलेका लगभग सबै घर भत्किएको अवस्थामा रहेका छन् भने केहि थोरै व्यक्तिमात्रै बसोबास गरेका छन् । खण्डहर बनेको कोइलाबास परिवर्तनको पर्र्खाइमा छ । स्थानीयहरु अब फेरि बजार पुरानै अवस्थामा फर्किन्छ कि भन्ने आशामा बसेका छन् ।

Advertise with us