चाडपर्वमा बालबालिकालाई कसरी खुसी बनाउने ?

बडादसैं अर्थात् नेपालीको महान चाड। दसैं भन्ने बित्तिकै शरीरमा नयाँ कपडा, निधारमा टीका, कानमा जमरा, दक्षिणा अनि मिठा–मिठा परिकार सबैको मानसपटलमा आइहाल्छ।

Buddha International Hospital

मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद थापेर दसैं मनाउनुको मज्जा नै बेग्लै छ। यदि परिस्थिति विगतका वर्षहरुको जस्तो सामान्य हुन्थ्यो भने दसैंको रौनक नै फरक हुन्थ्यो। यस वर्षको दसैं सबै नेपालीका लागि फरक अनुभव हुनसक्छ। बढ्दो कोरोनाको जोखिमले विगतका वर्षहरुमा जसरी दसैं मनाउने अवस्था अहिले छैन।

Advertise with us

विश्वलाई त्रसित बनाएको कोरोनासँग जुध्दै अघि बढेको करिब ९ महिना भयो। यो अवधिमा नेपालीले लकडाउन, कफ्र्यु अनि निषेधाज्ञाको सामना गर्नु परेको छ। लकडाउन नेपालीका लागि विल्कुलै नयाँ अनुभव अनि सिकाइ थियो।

सामाजिक दूरी कायम राख्दै मास्कको प्रयोग अनि साबुनपानीले हात धुनु अनिवार्य भइसकेको छ। यिनै कुराहरुलाई अबलम्वन गर्दै हामीले दसैंलाई उत्साहका साथ मनाउनु छ।

चाडपर्व भन्ने बित्तिकै विशेषगरी बालबालिका बढी उत्साहित हुन्छन्। चाडपर्वलाई लिएर उनीहरुको अपेक्षा पनि धेरै नै हुने गर्छ। बालबालिकाका लागि चाडपर्वको अर्थ रमाइलो गर्ने, घुमफिर गर्ने अनि मिठा परिकार खाने हुन्छ। यो परम्परादेखि चल्दै आएको एक किसिमको परिपाटी पनि हो।

चाडपर्व आफ्ना बालबालिकालाई संस्कृति र परम्परा सिकाउने अभिभावकका लागि अवसर पनि हो। यसले बालबालिकालाई चाडपर्वको महत्व मात्र होइन, विभिन्न धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न समेत प्रोत्साहन गर्छ। तर अहिले अवस्था सामान्य छैन। देशमा कोरोनाको जोखिम र त्रास दैनिक बढ्दो छ।

बजारमा किनमेल गर्न जान पनि निकै सावधानी अपनाउनुपर्छ। सामाजिक दूरी कायम गरेर दसैं मनाउनुपर्ने भएकाले पनि के–कसरी दसैं मनाउने भन्ने एक किसिमको अन्योल छ अहिले।

बालबालिकामा देखिन सक्ने मनोवैज्ञानिक समस्या
कोरोनाका कारणले आएको उतारचढावबाट प्रत्यक्ष असर पर्ने समूहमध्ये बालबालिका पनि एक हुन्। बढ्दो कोरोनाका कारण बालबालिकामा मनोवैज्ञानिक असर समेत परेको छ। बालबालिकाको मनोविज्ञान बुझ्नु अभिभावकहरुका लागि आवश्यक अनि चुनौती दुवै छ।

कान्ति बाल अस्पतालका बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर कोरोनाका कारण बालबालिकालाई मनोवैज्ञानिक रुपमा समेत असर पुगेको बताउँछन्। उनी भन्छन्, ‘सामाजिक दूरी कायम गरेर दसैं मनाउनुपर्ने भएकाले के–कसरी गरेर दसैं मनाउने भन्ने एक किसिमको अन्योल देखिन्छ। त्यसमा पनि बालबालिका झन् बढी अन्योलमा छन् जस्तो लाग्छ।’

डा कुँवरका अनुसार चाडपर्वको बेला बालबालिकामा मनोवैज्ञानिक समस्या कम देखिने गर्छ। चाडपर्वमा उनीहरु रमाइलो गर्ने भएकाले पनि मनोवैज्ञानिक समस्या कम देखिने गरेको उनले बताए। तर अहिले चाडपर्वको समय भए पनि रमाइलो गर्ने, घुमफिर गर्ने अवस्था छैन। सामान्य रुपले मनाउँदै आएको चाडपर्व फरक किसिमले मनाउनुपर्दा बालबालिकामा एक किसिमको र समस्या देखिन सक्ने उनले बताए।

बालबालिकाले देखाउने संकेत 
कुनै पनि बालबालिकामा मनोवैज्ञानिक असर पर्दा उनीहरुले विभिन्न किसिमका संकेत देखाउने गर्छन्। यी संकेतलाई अभिभावकले बुझेर सोही अनुसार व्यवस्थापन गर्न आवश्यक छ।

बालबालिका डराउने, आत्तिने, चिन्ता गर्ने, घरमा भएका ज्येष्ठ नागरिक सदस्यको मृत्यु हुन्छ की भनेर डराउने खालका समस्या देखिने गरेको डा कुँवर बताउँछन्। उनका अनुसार अहिलेको परिस्थितिमा बालबालिकाले यी सबै देखाउने व्यवहार एक किसिमले स्वभाविक पनि हो।

उनले भने, ‘अहिलेको अवस्थामा बालबालिकाले यस किसिमको व्यवहार देखाउनु सामान्य पनि हो। यो समय बित्दै जाँदा विस्तारै ठिक हुँदै जान्छ। ठूला मानिसलाई त डर–त्रास भएको बेला बालबालिकामा हुनु अस्वभाविक होइन।’

सामान्य तरिकाले दसैं मनाउन नपाउँदा बालबालिकामा एक किसिमको नैराश्यताको समस्या पनि देखिन सक्ने मनोविद डा करुणा कुँवर बताउँछिन्।

कोरोनाका कारणले कतिपय परिवारमा आर्थिक समस्या पनि देखिएको छ। बालबालिकाको अपेक्षा अनुसार नयाँ कपडा लगाउन नपाउँदा, मिठा खानेकुरा खान नपाउँदा पनि उनीहरुमा निराशापन आउने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘बालबालिकाको लागि दसैं भनेको नयाँ कपडा, मिठा खानेकुरा, घुमफिर हुन्छ। कोरोना कारण कतिपय परिवारमा आर्थिक समस्या छ। उनीहरुको अपेक्षा अनुसार यी सब नहुँदा निराशापन पनि हुन सक्छ।’

उनका अनुसार बालबालिकाले झर्को मान्ने, रिसाइरहने, झगडा गर्ने, अभिभावकसँग झुन्डिरहने, निद्रामा पनि बर्बराउने, खानपिनमा मन नगर्ने खालका व्यवहार देखाए उनीहरुमा मनोवैज्ञानिक रुपमा असर परेको छ भनेर थाहा पाउन सकिन्छ।

अभिभावकको भूमिका
यो समयमा बालबालिकाका लागि अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने गर्छ। मनोविज्ञान बुझेर अभिभावकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मनोविद् कुँवर बताउँछिन्।

‘यस्तो व्यवहार देखाउँदा अभिभावकहरु झन् रिसाउने पनि गर्छन्। यस्तो संकेत देखेपछि अभिभावकले झन् बुझ्नुपर्छ, रिसाउनु हुँदैन,’ उनले भनिन्।

परिवारबाट टाढा रहेका बालबालिकामा यी समस्या बढी देखिन सक्ने उनले बताइन्। यी संकेत देखिएका बालबालिकालाई विशेष हेरचाह आवश्यक पर्ने र बढी सचेत रहनुपर्ने उनी बताउँछिन्। अभिभावकहरुले उनीहरुलाई समय छुट्याउने, उत्प्रेरणा गर्ने, सम्झाउने, उनीहरुको कुरा सुन्ने गर्नुपर्छ।

अभिभावकले बालबालिकालाई अहिलेको अवस्थाबारे स्पष्ट रुपमा जानकारी दिन अति आवश्यक भएको बाल मनोरोग विशेषज्ञ डा कुँवर बताउँछन्। विशेषगरी उनीहरुलाई कोरोनाबाट कसरी बच्ने, मास्क कसरी लगाउने, सामाजिक दूरी कसरी कायम गर्ने लगायत विषयमा जानकारी दिनुपर्ने उनले बताए।

तनावपूर्ण स्थिति भए पनि अभिभावकले सामान्य किसिमको दिनचर्या बिताउने प्रयास गर्नुपर्ने बताउँदै उनले भने, ‘समयमै उठ्ने, समयै खाने, समयै सुत्ने, योगा, व्यायाम गर्ने जस्ता कामहरु ग¥यौं भने उनीहरुलाई पनि सामान्य महसुस हुन्छ।’

उनका अनुसार अभिभावकले दैनिक एउटा रुटिन बनाउनुपर्छ। बालबालिकासँग समय बिताउने, रमाइलो गर्ने गर्नुपर्छ।

यो बेला बालबालिकाले अभिभावकको बढी साथ खोज्छन्। अभिभावक आफू त्रसित भए पनि बालबालिकालाई यसको अनुभूति गराउन नहुने उनले बताए।

उनले भने, ‘अभिभावकहरु आफू डराए पनि बालबालिकालाई डराएको अनुभूति गराउनु हुँदैन। यो बेला उनीहरुले अभिभावकबाट बढी साथ खोज्छन्। यदि उनीहरु नै डराए भने बालबालिका झन् डराउँछन्।’

मनोविद डा कुँवर पनि बालबालिकालाई घर परिवारमै रमाएर दसैं मनाउने वातावरण बनाउनुपर्नेमा जोड दिन्छिन्। अहिलेको परिस्थितिमा बालबालिकालाई बुझाउन सक्ने क्षमता अभिभावकमा हुनुपर्ने उनको भनाइ छ।

बालबालिकामा हुन सक्ने मनोवैज्ञानिक समस्या आउन नदिने अर्को उपाय भनेको सामाजिक सञ्जालबाट टाढा राख्नु पनि हो। दिनमा एक÷दुई पटकभन्दा बढी समाचार नसुनाउन उनीहरुको आग्रह छ।

डा अरुण र डा करुणा दुवै भन्छन्, ‘कोरोनाको बारेमा जानकारी दिने समाचार दिनमा एक दुई पटक भन्दा बढी सुनाउनु हुँदैन। मृत्यु भएका अनि अन्य खबरहरु बारम्बार सुन्यो भने उनीहरु झन् डराउने हुन सक्छ। सत्यतथ्य जानकारी दिनुपर्छ तर धेरै पटक समाचार सुनाउनु हुँदैन।’

विद्युतीय सामानसँग दुई घन्टा बढी खेल्न दिन नहुने बाल मनोरोग डा कुँवर बताउँछन्। मनोविद् डा करुणा कुँवर टाढा भए पनि आफन्तसँग भिडियो कल गरेर रमाउन सक्ने बताउँछिन्।

यी सब कुरालाई ध्यान दिन सके कोरोनाबाट जोगिएर दसैं खुसीका साथ मनाउन सकिने उनीहरु बताउँछन्।

स्वास्थ्य खबरबाट

Advertise with us