महायज्ञमा सुरक्षा व्यवस्था मजवुत छ


घोराहीदेखी ९ किलोमिटर दक्षिणमा रहेको पाण्डवेश्वर महादेव धाममा आजदेखी श्रीमद्भागवत ज्ञान महायज्ञ लाग्दैछ । बजार क्षेत्र भन्दा टाढा मन्दिर परिसरमै महायज्ञको आयोजना गरीएकोले सुरक्षा चुनौती पनि त्यत्तिकै छ ।

Buddha International Hospital
Advertise with us

अहिलेसम्म आयोजना भएका महायज्ञ भन्दा फरक उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङले उचित प्रवन्ध मिलाउने प्रतिवद्धता जनाईसकेका छन् । त्यस्तै शसस्त्र प्रहरीले पनि शुरक्षा दिने बताउदै आएको छ भने राष्ट्रिय अनुसन्धान कार्यालयले पनि सुरक्षा दिने बताएको छ । मन्दिर परीसरमै महायज्ञको आयोजना गरीएको छ । सुरक्षा व्यवस्था कसरी मिलाईएको छ भन्ने वारेमा गणतन्त्र राष्ट्रिय दैनिकका लागि सन्तोष अधिकारीले गरेको कुराकानीको सार संक्षेप …………….सम्पादक ।


टेकनाथ आचार्य
संयोजक
महायज्ञ सुरक्षा उपसमिति
१ आजदेखी आयोजना हुनलागेको महायज्ञको सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ ?
धारपानी एक पवित्र स्थल हो । यहाँको धार्मिक मान्यताले गर्दा पनि एक खालको मनोविज्ञान रहि आएको छ । तै पनि महायज्ञ स्थलको सुरक्षाको लागि मन्दिर परीसरमै रहेको अस्थायी प्रहरी पोष्टमा जिल्ला प्रहरी कार्यालय दाङले संख्या बढाएको छ । मन्दिरको चारैतर्फ तथा महायज्ञ स्थललाई विचमा पारेर नेपाल प्रहरीको घेरा रहने छ ।

सुरक्षाको रणनीति नेपाल प्रहरीको आफ्नै प्रकारको रहेकोले त्यो विषयमा जानकारी दिनु नपर्ला । त्यस्तै महायज्ञ परीसरमा जिल्ला प्रशासन कार्यालयले पनि आफ्नै प्रकारले अनुसन्धानका कर्मचारीहरु खटाउने छ । त्यसैगरी शसस्त्र प्रहरीले पनि महायज्ञको उद्घाटन देखी महाशिवरात्री पर्वसम्म सुरक्षा प्रवन्ध मिलाउने आश्वासन हामिले पाएका छौ । त्यसैगरी आयोजक समितिले पनि स्वयंसेवकको रुपमा एक घेरा बनाएर सुरक्षा प्रदान गर्ने हाम्रो योजना छ । यीनै सुरक्षा संयन्त्रहरु परिचालन गरी महायज्ञ सञ्चालन गर्ने तयारी हाम्रो रहेको छ ।

२ महायज्ञको उद्घाटन र त्रीशुल उद्घाटनको दिन सुरक्षा व्यवस्था फरक छ ?
अवश्य पनि सुरक्षा कडा हुने नै छ । महायज्ञको उद्घाटनका लागि संघिय संसदका सभामुख कृष्णबहादुर महरा आउदै हुनुहुन्छ भने त्यो दिन नेपाली सेनाले पनि सुरक्षा दिने छ । घोराही देखी धारपानी सम्मको सवै क्षेत्रमा जिल्ला स्थित सुरक्षा सन्यन्त्रहरु सकृय हुनेछन् । त्यसैगरी १४ गते त्रीशुल उद्घाटनका लागि पर्यटन संस्कृति तथा नागरीक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गर्ने कार्यक्रम रहेको छ । अन्य दिन पनि सुरक्षाको व्यवस्था भने मजवुद नै छ भने नेपाल सरकारका मन्त्री तथा सभामुख आउने दिन सुरक्षा व्यवस्था अलि कडा हुने स्वाभाविक नै हो ।

३ धारपानी जंगलको नजिकै भएकोले सुरक्षा चुनौति छ भन्छन् त ?
धारपानी धार्मिक तथा पर्यटकिय क्षेत्र हो । यो सवैको साझा सम्पत्ति पनि हो त्यसैले यसको सुरक्षा र विकाश गर्नु हामी सवैको दायित्व पनि हुन आउछ । सुरक्षामा खटिने सुरक्षाकर्मी भन्दा पनि बढि सुरक्षा त हामिले गर्नुपर्ने हुन्छ । तै पनि हामीले सुरक्षा निकाएको सहयोग लिएका छौ । सवैले धारपानीको विकाशका लागि एकपटक गहिरिएर सोच्यौ भने सुरक्षामा चुनौति छ जस्तो मलाई लाग्दैन ।

अव रह्यो जंगल नजिक भएकोले सुरक्षा चुनौतिको कुरा । अहिले गाँउघरमा भन्दा शहर बजारमा चोरीका घटनाहरु बढि हुने भएकोले यो यकान्त ठाँउ, यो पुण्यभुमिमा त्यस्तो हुदैन भन्ने हामीले विश्वास लिएका छौ । हाम्रा प्रमुख बाचक वाचन प्रविण पंण्डित दीनवन्धु पोखरेल पनि सुरक्षा व्यवस्था राम्रो भएकोले मन्दिरकै धर्मशालामा बस्नुहुने भएको छ । हामिले उहाँको बस्ने प्रवन्ध यतै मिलाएका छौ । त्यसैले सुरक्षा चुनौती छ भन्नु गलत प्रचार मात्र हो ।

४ जिल्लाका सुरक्षा सन्यन्त्रले कहिलेसम्म सुरक्षा दिने भएका छन् ?
धार्मिक क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीले अस्थायी प्रहरी पोष्ट स्थापना गरेर सुरक्षा दिदै आएको छ भने अहिले आयोजना हुन लागेको महायज्ञका लागि ११ गते देखी सुरु हुनेछ । महायज्ञको १८ गते समापन हुने छ । त्यसैगरी २० गतेको महाशिवरात्रीलाई मध्यनजर गर्दै सुरक्षा निकायले २० गते राती सम्म सुरक्षा दिने छन् । त्यसैगरी नेपाली सेनाले महाशिवरात्रीका दिन पाण्डवेश्वर धाममा गई सलामी लिने कुरो भएको छ । सलामीका लागि नेपाली सेनाको रिपुमर्दन गणवाट नेपाली सेना विहान धारपानी मन्दिर जाने छ ।

५ यातायातका सवारी सधानको सुरक्षा पनि गर्नुहुन्छ कि हुदैन ?
यातायातको सुरक्षा भन्दा पनि सहजताका लागि जिल्ला ट्राफिक प्रहरी प्रमुख मदनबहादुर कुँवरले सहमति जनाउनु भएको छ । यातायातका सवारी साधनको चाप अलि वढि हुने भएकोले रुट गाईडको कुरा तथा सडकमा सञ्चालीत सवारी साधनको व्यवस्थापन ट्राफिक प्रहरीले गर्ने छ भने महायज्ञस्थलमा पार्किङगरी राखेका सवारीका साधनहरुको सुरक्षाको जिम्मा भने आयोजक समितिले नै गर्ने छ । मन्दिर व्यवस्थापन समितिले पहिले देखी नै पार्किङ शुल्क लिएर सुरक्षा दिदै आएको थियो भने अहिले पनि त्यो लागु हुने छ ।

६ अन्त्यमा केही भन्नु छ ?
महायज्ञ तथा शिवरात्री पर्वमा दर्शन तथा अवलोकनका लागि आउने भक्तजनहरुलाई सुरक्षाको चिन्ता नलिई ढुक्क संग आउनका लागि आग्रह गर्दछु । त्यस्तै धार्मिक स्थलमा महायज्ञ स१चालन गर्नुको उद्देश्य हुने गर्छ । धारपानी धाममा पनि गौशाला निर्माण तथा बेद पाठशाला निर्माणको लक्ष्यलाई सफलतामा पुराउनको लागि यहाँहरुको सहयोग हुने छ भन्ने आशा लिएको छु ।

धारपानी मन्दीरमा आयोजना हुनलागेको महायज्ञमा कथा श्रवण गर्न तथा शिवरात्रीमा पाल्नुहुने भक्त तथा पर्यटकहरुले सहजता महशुष गर्नेगरी सुरक्षाको प्रवन्ध मिलाएका छौ । त्यस्तै महायज्ञका वेलामा त्यहाको सुरक्षा अवस्थाको वारेमा जानकारी दिनका लागि स्थान दिएकोमा यहाँलाई पनि धन्यवाद छ ।