‘तीन वर्षभित्र सबै घरमा विजुली’


दाङ, फागुन  । नेपाल सरकारका उर्जामन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र मुलुकभर विद्युत विस्तार हुने दावी गर्नुभएको छ । पश्चिम दाङको पुरन्धारास्थित सवस्टेसनमा जोडिएको राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गर्दै उर्जामन्त्री पुनले भन्नुभयो, ‘मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउने अभियानमा हामी लागिपरेका छौं । अबको तीन वर्षभित्र सम्पूर्ण घरमा विद्युत जोड्ने गरी सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको छ ।’

Buddha International Hospital
Advertise with us

जनताहरुले परिवर्तनको महसुस गर्नेगरी कार्यसम्पादन गरिरहेको भन्दै उर्जामन्त्री पुनले हरेक कामलाई परिणाममुखी बनाउन आफूहरु लागिपरेको बताउनुभयो । नेपाली जनताहरुले लामो समयसम्म अधिकार प्राप्तिका लागि संघर्ष गर्ने परेको बताउँदै उर्जामन्त्री पुनले अब मुलुकलाई समृद्ध बनाउन सरकार लागिपरेको बताउनुभयो ।

‘लामो समयसम्म अधिकार प्राप्तिका लागि संघर्ष गर्दैमा बितेकाले समृद्धिको यात्राले दिशा पक्रन सकेको थिएन । ऐतिहासिक संविधान सभाबाट पारित संविधानले सम्पूर्ण जनताहरुलाई अधिकार सम्पन्न बनाएको छ’, उर्जामन्त्री पुनले भन्नुभयो, ‘सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको छ । हामी सम्पूर्ण मन्त्रीहरु सोही उद्देश्य प्राप्तिका लागि कार्यरत छौं ।’

मुलुकमा अब ठेकेदारहरुको राज नचल्ने भन्दै उर्जामन्त्री पुनले योजना समयमै सम्पन्न गर्ने गरी आफूहरु लागिपरेको बताउनुभयो । ‘योजनाहरु ठेकेदारको हातमा रहँदा काम समयमै नसकिने परिपाटीको विकास हुनाले योजना समयमै सम्पन्न हुँदैनथे । हामी उक्त परिपाटीको अन्त्य गर्ने दिशातर्फ उन्मुख भइरहेका छौं’, उर्जामन्त्री पुनले भन्नुभयो, ‘योजना समयमै सम्पन्न गर्नतर्फ जनप्रतिनिधिहरुले ध्यान केन्द्रीत गर्नुपर्छ ।’

६ वर्षपछि राष्ट्रिय प्रशासन लाइन

निर्माण कार्य सुरु भएको ६ वर्षपछि बाँकेको कुसुमबाट सिधै पश्चिम दाङको पुरन्धारास्थित सवस्टेसनमा १३२ के.भी क्षमताको राष्ट्रिय प्रशारण लाइन बिहीबार जोडिएको छ । कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले विद्युत चुहावटलाई पूर्णरुपमा अन्त्य गर्नेगरी आफूहरु लागिपरेको बताउनुभयो । चालु अवस्थामा रहेका योजनाहरु सम्पन्न गर्न आफूहरु लागिपरेको भन्दै घिसिङले अबको केही समयमै मुलुक उर्जामा आत्मनिर्भर बन्दै जाने बताउनुभयो ।

Advertise with us