मेरो बाल्यकाल र बाबा

Buddha International Hospital

 

Advertise with us

बाबा किन तिमी यति निष्ठुरी भयौ ? हास्न पनि बिर्सियौ की ? किन तिम्रो बोलीमा पहिलेको जस्तो मिठास पाउन सकिरहेको छैन ?
हो, यीनै प्रश्नहरुको जवाफको लागि म बाबाको आगमनको लागि कुरेर बस्थे र कुन बेला निद्राको कोखमा पुगि सक्थे भन्ने कुरा आफुलाई नै होस हुदैन थियो मलाई । हो म सानो छदा आफ्नो बाबाको व्यस्ततामा यीनै किसिमका प्रश्न गर्ने गरेको अझै पनि याद आउछ । के यो समयको खेल थियो या कार्य व्यस्तताले बिस्तारै आफ्नो हैकम चलाईराको थियो मेरो बाबा माथि ।
कस्तो विडम्वना सधै ‘व्यस्त छ’ु को नारा बजिराको थियो एकनासले । र, म आफैैलाई नै सम्हाल्न खोजिराको थिए की मेरो बाबा संसारकै व्यस्त मान्छे । फुर्सदै नभएको या फुर्सद नै निकाल्न नसक्ने गरि आफ्नो जिम्मेवारीमा अल्झेको ।
अझै पनि याद छ एकदिन मलाई मेरो बाबाले एक किलो र पाँच किलोको ढकलाई डोरीले बानेर पालै पालो एउटा औलाले पकड्न पठाउनुभएको । एक किलोको ढक नै धेरै बेर थेग्न नसक्ने सानो मान्छेले कसरी पाँच किलोको ढक थाम्न सक्नु र ?
यति सब हुदाँसम्म सानो मनमा अनेक प्रश्न उब्जीनु स्वभाविक नै थियो तर जसरी मेरो बाबाले आफ्नो जिम्मेवारीको उदाहरणलाई त्यससँग जोडेर भन्नुभयो कि हो मेरो दुवै हातमा यिनै ढकका भारी छन र काधँमा क्विन्टलका बोरा जो मैले कहिल्यै विसाउन सक्दैन किनकि ती हातका र काधँका भारी भनेको मेरो वच्चा र परिवारको जिम्मेवारी हो जो मैले बिसाउनै सकिदैन ।
हो त नि बाबा यो समाजले सम्पुर्ण जिम्मेवारीको थुप्रो तिमी माथि नै लादीदियो तिमीलाई पुरुषत्वको झझल्को बारम्बार दिईरह्यो । जिम्मेवारी पुरा गर्दागर्दै तिमी जंन्जीरमा त बाधिएनौ बाबा ?
दिनरात भनेनौ, भोक प्यास भनेनौ, आराम गर्नु त कुन चरीको नाम भन्ने भैसक्यो तिम्रो लागि….
हो बाबा तिमीलाई म हिजोआज एक कुशल योद्धाको रुपमा देख्दैछु । जो पितृसत्ताको शासक बनेर जीवन विरुद्धको लडाई निरन्तर लडिरहेको छौ ।
बाबा तिमी त हाम्रो परिवारमा त्यो सूर्य जस्तो हौ ।
जसको आफ्नो प्रकाश छ, जसको हातमा स्रोत साधन र आम्दानी छ, आउनु, जानु, निर्णय गर्न स्वतन्त्रताका छ, तिमीबाट लिएको प्रकाशले नै हामी चम्किन्छौ,
सायद हामी तिम्रो उपग्रह भएर होला । सत्य हो बाबा तिमीले नै हामीलाई उज्यालो दिईरहेको छौ । निरन्तर अघि बढ्नको लागि । तिम्रो प्रकाश विना हाम्रो जीवन नै अन्धकार हुनेछ जस्तो लाग्छ । तिमी बिनाको हाम्रो जीवन एक अकल्पनिय यात्रा नै हो, सायद ।
हो अब म अर्को दृष्टिबाट हेर्दै छु, म बुझ्ने कोशिस गर्दैछु ।
यो समाजलाई की पुरुष प्रधान भनेर पुरुषलाई पनि दवाव दिईन्छ । महिला सरह उसलाई पनि निश्चित भुमिका निभाउन बाध्य बनाईन्छ । वास्तवमा पुरुषको हातमा पनि छनौट गर्ने अधिकार छैन । उ पनि मूख्य धाराबाट बाहिर आउन सक्दैन ।
यो यस्तो सामाजिक ढाँचा र रितिरिवाजहरुको व्यवस्था हो जहाँ पुरुषलाई सर्वेसर्वा बनाएर शक्ति प्रयोग गर्न लगाइन्छ । जहाँ काम र जिम्मेवारी व्यक्तिको इच्छा तथा योग्यतामा आधारीत होस नकी कसैको लिङ्गका आधारमा ।
परिवारमा सवैले आफ्नो अहंकार, स्वार्थ, माया त्याग सेवाको भावले सबै ओतप्रोत होउन । यस्तो नहोस कि जहाँ कोहि हरवखत त्याग गर्दै रहोस र अरुको सेवा गर्दै रहोस र कोही मुकदर्शक बनिरहोस ।
निकै होडवाजि चलिरहेको छ, समान अधिकार, समान पहँुचको तर यो समानताको दौडमा बाबा तिमी नै सहभागि हुन नसकेको देखिराको छु । किनकि तिमी त परिवारको पालक र रक्षकको भुमिका निभाउनमा नै व्यस्त छौ । सन्तानको चाहना निभाउनमा नै तिमी निकै अभ्यस्त रह्ने गरेको छौ ।
त्यसैले बाबा अब तिम्रो जिम्मेवारीको भार अलिकति पनि कम भएको देख्न चाहन्छु । उत्तरदायित्वले चाँपिदा चाँपिदै आफ्नो जिन्दगी बाच्न नपाउदै गल्दै थला परेको देख्न चाहन्न बाबा म तिमिलाई ।
हो बाबा म अब तिमिलाई बाचेको देख्न चाहन्छु । आफनो लागि, समय अनुसार परिवर्तन हुन सिक बाबा, यो संसार तिमिले कल्पना गरेको भन्दा अतुलनिय मनमोहक छ ।
समाजले देख्न चाहदैन कि तिमी भित्र पनि पिडा हुन्छ भनेर, तिम्रा पनि चाहनाको बलिदान भएका होलान तर तिमीलाई पुरुषको उच्च ओहोदामा राखेर तिमीबाट नै तिमीलाई अल्लग्याउन खोजिरहेको जस्तो मलाई अनुभुति भैरहेको छ बाबा ।
कुनै पनि व्यवश्था निश्चित र अपरिवर्तनिय हुदैन । यी सबै आखिर व्यक्तिले नै बनाएको हो । शाश्वत हैन ।
त्यसैले अव यस्तोे परिवार र समाजको परिकल्पना गरौ जहाँ सबैको बराबर अधिकार होस् । बराबर सेवा सुविधाहरु होस, प्रगति गर्दै अघि बढ्ने मौका होस र जहाँ न्याय होस । परिवार भित्रका सबै असमानतालाई चिर्दै परिवारमा लिङ्ग, वर्गका आधारमा घर भित्र र बाहिरको काम र वच्चाको रेखदेखमा समान भुमिका होओस ।
सायद यसो भएमा मजस्तो अरुले पनि आफ्नो बाबाको समय र साथ पाउनका लागि तड्पिन पर्दैन थियो होला । मेरो बाल्यकालमा तिम्रो साथको आभाष हुन्थ्यो होला है ।

Advertise with us