दूध, अन्डा र माछामासुमा आत्मनिर्भर बन्दै प्रदेश ५

दाङ फागुन ७ । प्रदेश सरकारले आगामी ३ वर्षभित्र दूध, अन्डा, मासु र माछामा प्रदेश–५ लाई आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । प्रदेश पशुपक्षी तथा मत्स्य निर्देशनालयका अनुसार सरकारले यसका लागि आव २०७५/७६ को बजेटसमेत सार्वजनिक गरेको छ ।

Buddha International Hospital

Advertise with us

पशु आहाराको व्यवस्थापन, नश्ल सुधार, पशु स्वास्थ्यमा सक्षमता, विभिन्न तालीम र बजारीकरणमार्फत प्रदेशलाई पशुजन्य पदार्थ उत्पादनमा आत्मनिर्भर बनाउन सकिने देखिएको छ । प्रदेशमा वार्षिक रूपमा ४ लाख ९ हजार ४३४ लिटर दूध आवश्यकता रहेकोमा अहिले ३ लाख ३१ हजार ३९२ लिटर दूध उत्पादन भइरहेको छ । अपुग दूध चालू आवमा २० हजार लिटर र यसलाई वर्षेनि बढाएर लक्ष्य हासिल गरिने सरकारले योजना अगाडि सारेको छ ।

६२ हजार ९ सय मेट्रिक टन मासुको आवश्यकता रहेको यस प्रदेशमा ५७ हजार ३३९ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । अपुग मासु चालू आवमा २ हजार ५ सय मेट्रिक टन र यसलाई वर्षेनि बढाएर लक्ष्य हासिल गरिनेछ । २ लाख १५ हजार ९६५ अन्डा आवश्यक भएकामा अहिले १ लाख ५७ हजार २१ अन्डा उत्पादन भइरहेको छ । अपुग भएको अन्डा चालू आवमा ३० हजार र त्यसपछि क्रमशः उत्पादन बढाउने लक्ष्य लिइएको छ ।

त्यस्तै, २२ हजार ४ सय ९६ मेट्रिक टन माछाको आवश्यकता रहेको छ । तर, प्रदेशमा १२ हजार ३ सय १३ मेट्रिक टन मात्र माछा उत्पादन हुँदै आएको छ । अपुग भएको माछा १ हजार मेट्रिक टन चालू आवमा पूरा गरिने र यसलाई वर्षेनि बढाएर लगिने नीति रहेकोे पशुपक्षी तथा मत्स्स निर्देशनालयले जानकारी दिएको छ ।

Advertise with us