बाघसँगको गहिरो प्रेम, जसलाई लियोनार्दा डिक्याप्रियोले पनि भेटे

Advertise with us

बाघ आक्रमणमा परेर आँखा गुमाउँदा संसारै अध्यारो भएको पीडा त हुन्छ नै, त्यो भन्दा बढी आफूलाई आक्रमण गर्ने बाघप्रति आक्रोस सबैमा उठ्ने गर्छ।  बाघको आक्रमणमा परेर महिनौँ दिन अस्पतालमा छट्पटाउँदा पनि कमै मान्छे हुन्छन् आक्रमणकारीलाई बचाएर राख्ने सोच बनाउने।

आक्रमणमा परी बाँच्ने र मर्ने दोसाँधमा पुगेका बेला प्रतिशोध साध्नतर्फ नभई बाघको संरक्षण गर्नुपर्छ भन्दै बाघलाई माया गर्छन्, मधुवन नगरपालिका खाता गाउँका भदै थारू।  थारूको अचम्मको व्यवहारबाट हलिउड स्टार लियोनार्दा डिक्याप्रियो प्रभावित हुन्छन्।  भदैको बर्दियामा पर्ने मधुवन हलिउड स्टार लियोनार्दाले भदैलाई अँगालोमा बेरेर फोटो खिचाउँछन्।

Buddha International Hospital

भदैलाई सम्झनास्वरुप चस्मा उपहार दिन्छन्।  सात वर्षदेखि त्यही चस्मा लगाएर भदै हिँड्छन्।  डिक्याप्रियोले उपहार दिएको चस्माले बाघ संरक्षणमा भदैलाई हौसलाका साथै उत्साह मिलेको छ।  भदैको दुई आँखामध्ये एउटा आँखा छैन।  हिँड्दा चस्माको सहाराले हिँड्नु पर्छ।  अपाङ्ग भएर बाँच्नु पर्दा उनलाई पश्चाताप छैन।  दुई छाकको जोहो र छोराछोरीको अभिभारा उनकै काँधमा छ।  त्यतिबेला लियोनार्दाले बर्दिया राष्ट्रिय निकुञ्जमा चार दिन बिताएका थिए।  उनले सामुदायिक वनका पदाधिकारी र स्थानीय प्रतिनिधिसँग पनि भेटेका थिए।

Advertise with us

गाउँ संरक्षणको गीत गाउँदै हाँसीखुसी जीवन बिताइरहेका छन् उनी।  उनलाई संरक्षणमा जागरुक हुनका लागि संरक्षणमा लागिपरेका सङ्घसंस्थाले हरेक कार्यक्रममा उनलाई निम्तो दिएर बोलाउँछन्।  भदैले दाहिने आँखा गुमाएका छन्।  घरका परिवारले गरेको खेती किसानीले गुजारा चलेको छ उनको।

सामुदायिक वनमा खरखडाइ खुलेकाले कसैले वन्यजन्तु मार्लान् भनेर जङ्गल गएको थिए उनी।  त्यसै दिन उनीमाथि बज्रपात पर्‍यो।  संरक्षणमा तत्पर भदै थारू २०६० पुस २२ गते आफू अध्यक्ष रहेको गौरी सामुदायिक वन रेखदेखका लागि पुगेका थिए।  त्यतिबेला बाघसँग जुध्दा उनले दाहिने आँखा गुमाएका हुन्।

बाघसँग पैठे जोरी खेलेपछि ज्यान त जोगाए तर उनले दाहिने आँखा गुमाए।  उनलाई तीन महिना अस्पतालमा बस्नु परेको थियो।  आक्रमणमा परेको आँखाले काम गर्न नसक्दा करीब एक वर्ष कोठामा बिताए।  घरको काम गर्न नसकेपछि पारिवारिक समस्या थपिँदै गयो।

‘‘आँखा नखेख्ने भनेर मलाई छिमेकी र साथीहरुले पनि हेला गर्थे’’, उनले पीडादायी क्षण स्मरण गर्दै भने।  उनी भन्छन, “अमेरिकाको हिरोले आधा घण्टा कुरा गरेर सँगै फोटो खिचेर लगेका छन्, आफन्त र छिमेकीहरु भने मलाई हेय भावले हेर्छन्। ’’ उनलाई वन्यजन्तु पनि छोराछोरीसरह लाग्दछ।  ‘‘यिनको संरक्षण गर्नु हाम्रो कर्तवय हो”, भनी भन्छन्।  उनको वन्युजन्तु संरक्षणप्रतिको योगदानको कदर गर्दै संरक्षण पुरस्कार पनि प्रदान गरिएको छ।

बाघको आक्रमणमा परी अस्पतालको शय्या र घरमै आराम गरेर बस्दा उनमा साहित्यको भाव फुर्‍यो।  मोफसलको पत्रिकामा उनका सयभन्दा बढी थारू भाषाका गजल, कविता स्थानीय पत्रपत्रिकामा प्रकाशित भइसकेका छन्।  उनी लेख्न जान्दैनन्।  अपाङ्ग भएका भदैका मनमनै गुनेर बनाएका गजल, कवितालाई छोराले कापीमा लेखेर उतारी दिन्छन्।