कविता ” सपना र म “

निरन्जना चन्द ” निरु “
चाङमाथि चाङ लगाएर
गह्रुङ्गा ती सपनाहरू
गन्दै गन्दै हिँडेथे म
बोक्दै बोक्दै हिँड्थे म
निन्द्रा अन्जान हुने बेलाहरुमा
फुरुफुरु नाच्ने अनगिन्ती उमंगहरु
हुरुहुरु उड्ने सिमली भुवाहरु
अनन्तसम्म अनन्तसम्म
कहिले हेरेरै रमाएँ कहिले गनेरै रमाएँ
कहिले अघिअघि र कहिले पछिपछि
सपना र म
म र सपना
बाबाको छाती कहिल्यै खुम्चिएन
आमाको गाथ कहिल्यै साँघुरिएन
म र मेरा सपनाहरूसँग
म र मेरा सपनाहरूसँग
तर तर
जिम्मेवारीको पहाडले थिचिदियो
आफैंलाई जब
वर्तमान मुर्झाउँदो रह्यो
तिनै सपनाका चाङहरुले मिचिएँ म
निन्द्रा कहाँकहाँ हराउन पुग्यो
सपनाका आकारप्रकारहरु लोलाउँदै गए
धुरुधुरु रुँदै विलीन भए कति
टुटेन जीवनको अन्तरंग
धिपधिप बल्यो बलिरह्यो आशाको दीप
र मनभरी एउटा झिनो त्यान्द्रो रहिरह्यो
बाँच्ने रहर पलाइरह्यो
र त म बाँचे सपनाहरूलाई जितेर
हो म बाँचे स्वयंलाई जितेर
आऊ बाचौँ सपनाहरूलाई जितेर
बाँच्नुपर्छ हामी बचाउनुपर्छ यो सृष्टि
हेरहेर एउटा अनमोल जिन्दगी !
हेरहेर एउटा अनमोल जिन्दगी !!

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *