गढवा गाउँपालिकामा पनि शिक्षक परिचालन गरेर पठन-पाठन सुरु

सन्तोषकुमार गुप्ता/ शिबराज पन्थी

दाङ, ९ असोज । कोरोनाका कारण बन्द रहेको पठन-पाठनलाई निरन्तरता दिन गढवा गाउँपालिकाले गाउँ–गाउँमा शिक्षक पठाएर निरन्तरता दिएको छ । गत भदौ ३१ गते गाउँपालिकाको शिक्षा शाखाले सबै समुदायिक बिद्यालयका प्रधानाध्यापकहरुसँगको छलफल पछि अहिले गाउँ गाउँमा शिक्षक परिचालन गरेर पठन-पाठन सुरु गरेको शिक्षा शाखाका प्रमुख श्याम बिकले जानकारी दिनुभयो । उहाँका अनुसार गढवा गाउँपालिकाका कुल २९ वटै बिद्यालयहरुले सोही प्रकृया अपनाएर पठान-पाठन सुरु गरेका छन्।

Blog Post Ad

गढवाको जनता माबिले ९ वटा केन्द्र बनाएर सबै तहका शिक्षकहरु परिचालन गरी ४ घण्टा पढाई संचालन गरेको बिद्यालयका प्रधानाध्यापक रामसुरत यादवले बताउनुभयो। जस अनुसार कान्छीगाउँ, मनिकापुर, प्रनाहा, कुमालगाउँ, क्याम्पसडाँडा, चन्दनपुर, मानपुर, आँटीपाकर, घोराहा, बालाखुटी चौर गरि ९ वटा केन्द्रमा पढाई संचालन गरेको पाइएको छ । त्यस्तै जनता माबि कालाकाटेले जुरौनी बालउद्यान,कालाकाटे र वनबारी गरि ३ वटा केन्द्रहरु बनाएर पढाई संचालन गरेको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले जानकारी दिनुभयो ।

Blog Post Ad

शिक्षकहरुलाई बार अनुसार पठन–पाठन संञ्चालन गरिएको र उत्साहपुर्वक बिद्यार्थीहरु आइरहेको उहाँले बताउनुभयो । यसैगरी सरस्वती माध्यमिक बिद्यालय गोबरडिहाले कुल ५ वटा केन्द्र र केन्द्र अन्तर्गत थप उपकेन्द्रहरु समेत बनाएर बिद्यार्थीहरुलाई पढाइरहेको सो बिद्यालयका प्रधानध्यापक सुर्यप्रकाश बर्माले बताउनुभयो ।

त्यस्तै दिपेन्द्र होमजुन माबि पर्सेनीले पनि बिद्यालय नजिकैको चौतारो, पर्सा र परस्पुरमा केन्द्र बनाएर बिद्यार्थीहरु पढाई रहेको प्रधानध्यापक लालबहादुर भण्डारीले बताउनुभयो । यता माबि चैनपुरले मगहर, चैनपुर, लोखरपुर र लालपुर गरि ४ वटा केन्द्रमा पढाउन सुरु गरेको प्रधानध्यापक बिष्णुप्रसाद कुमाल चौधरीले जानकारी दिनुभयो।

माध्यमिक बिद्यालयहरुले मात्र होइन प्राबि र आधारभूत बिद्यालयहरुले पनि यहि तरिकाबाट गाउँगाउँमा शिक्षक पठाएर टोल–टोलमा पढाई सुरु गरेका छन्। गढवाको बालकल्याण आधारभूत बिद्यालय र मनिकापुर स्थित दुर्गा आधारभूत बिद्यालय लगायत अन्य बिद्यालयहरुले पनि यसरी नै बिद्यार्थीहरुको पठन–पाटन संचालन गरेका हुन । दुर्गा आधारभूत बिद्यालयले ९ वटा केन्द्रमा पढाइ संचालन गरेको छ । जसमध्ये मदपुर, मनिकापुर, सिमलखुटी, लाहुरेटोल, अत्तरबेदुवा, दंगालटोल, हुलाकी टोल र बनघुस्री लगायतबका गाउँहरुमा शिक्षकहरु खटाएर पढाई संचालन गरेको प्रधानध्यापक मन्सराम चौधरीले जानकारी दिनुभयो ।

यसैबीच मंगलबार गढवा गाउँपालिकाको शिक्षा शाखाले गाउँ गाउँमा हुन थालेको पठन पाठनको स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा बिद्यार्थीहरु पढ्नका लागि आत्तिएकोले पनि जाँगरका साथ उपस्थित हुने गरेको पाइएको शिक्षा शाखाले जनाएको छ । सो क्रममा सामाजिक दुरी कायम गरि मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री प्रयोग गरेर आउन बिद्यार्थीहरुलाई निर्देशन दिएको शिक्षा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *