दाङका पालिकामा विपदको बजेटमा ७० प्रतिशतले वृद्धि

जीतसागर जी.एम.

TMart

दाङ, ३१ भदौ । कोरोना महामारीका कारण दाङका स्थानीय तहले चालु वर्षमा विपद व्यवस्थापनमा बजेट बढाएका छन् । पालिकाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणसंगै अन्य विपद व्यवस्थापनका लागि चालु वर्षमा ७० प्रतिशत बढीले बजेट बढाएका हुन् । विगतका वर्षमा आगलागी, बाढी÷पहिरो, चट्याङ् जस्ता विपद व्यवस्थापनका लागि बजेट खर्च गर्ने गरेकोमा यसवर्ष कोरोना महामारीका कारण जिल्लाका स्थानीय पालिकाले गतवर्षको तुलनामा यसवर्ष ७० दशमलव ४१ प्रतिशत अर्थात ६ करोड ५५ लाख बजेट बिनियोजन गरेका छन् ।

बितेको आर्थिक वर्षमा जिल्लाका दश वटा स्थानीय तहमा २ करोड ७५ लाख बजेट बजेट बिनियोजन गरेकोमा यसवर्ष ९ करोड ३० लाख बजेट बिनियोजन भएको छ । कोरोना महामारीको विपदलाई व्यवस्थापनसंगै अन्य विपदका लागि जिल्लामा शान्तिनगर गाउँपालिका बाहेक अन्य नौ वटै स्थानीय तहले बजेट बढाएका हुन् ।

शान्तिनगर गाउँपालिकाले भने गतवर्षको भन्दा यस आर्थिक वर्षमा विपद व्यवस्थापनका लागि बजेट घटाएको छ । शान्तिनगर गाउँपालिकाले गतवर्ष ५० लाख बजेट बिनियोजन गरेकोमा चालुवर्षका लागि ४० लाखमात्रै बजेट बिनियोजन गरेको छ । कोरोना महामारीका कारण बजेट आवश्यक भए अन्य कार्यक्रमबाट रकमान्तर गरेर रकम खर्च गर्न सकिने गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

‘बजेट धेरै नभएका कारण विपद व्यवस्थापनमा गतवर्ष भन्दा यसवर्ष झन् कमि आएको हो, उनले भने–‘ बजेट घटेका कारण व्यवस्थापनमा समस्या हुँदैन्, गतवर्ष पनि बजेटले नपुगेपछि अरु बजेट थप गरेर कोरोना महामारीको संकटलाई व्यवस्थापन गरेका हौँ ।

शान्तिनगर गाउँपालिकाबाहेक अन्य पालिकाल बाहेक अन्य पालिकाले चालुवर्षमा विपद व्यवस्थापनमा बजेट बढाएका छन् । चालुवर्षमा जिल्लाका दश पालिकामध्ये सबैभन्दा धेरै लमही नगरपालिका र गढवा गाउँपालिकाले विपद व्यवस्थापनका लागि बजेट बिनियोजन गरेका छन् । विपद व्यवस्थापनमा लमही र गढवाले २÷२ करोड बजेट बिनियोजन गरेका छन् । कोरोना महामारी कारण यसवर्ष विपद व्यवस्थापनमा बजेट उल्लेख्यरुपमा बढाएको सम्बन्धित पालिकाले जनाएका छन् ।

लमहीले वितेको आर्थिक वर्षमा ३९ लाख बजेट बिनियोजन गरेकोमा यसवर्ष २ करोड बजेट बिनियोजन गरेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिए । ‘यसवर्ष कोरोना महामारीका कारण नागरिकलाई रोग र भोक दुवैबाट बचाउनुपर्ने छ, भने अन्य विपद व्यवस्थापनका लागि पनि बजेट आवश्यक छ’ उनले भने–‘कोरोनाकै कारण पनि यसवर्ष विपद व्यवस्थापनका लागि बजेट बढाएका छौँ, अहिलेको बजेट खर्च हुन नसकेपनि केहि हुँदैन् , बिनियोजन गरेको सबै खर्च हुन सक्छ भन्ने होइन, जति आवश्यक हुन्छ ,त्यति खर्च गर्ने हो ।’

गढवा गाउँपालिकाले गतवर्ष १ लाख बिनियोजन गरेकोमा यसवर्ष २ करोड बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले चालुवर्षमा १ करोड बजेट बिनियोजन गरेको छ । उपहानगरले गतवर्षमा ५० लाख बिनियोजन गरेकोमा यसवर्ष कोरोनाकै कारण करिब ५० प्रतिशतले वृद्धि गरेको उपमहानगरका विपद व्यवस्थापन शाखा प्रमुख भिमप्रसाद खत्रीले जानकारी दिए । ‘उपमहानगरमा गतवर्ष कोरोना महामारीका कारण विपदमा बजेट कम भयो, यसवर्ष कोरोना व्यवस्थापन संगै अन्य विपद व्यवस्थापनका लागि १ करोड बजेट बिनियोजन भएको छ’ उनले भने–‘बजेट खर्च गर्ने अवस्थामा खर्च हुन्छ, नभए फेरि अर्को वर्षका लागि जान्छ, बढी हुँदा केहि फरक परेन् तर कम हुँदा समस्या हुन्छ ।’

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा विपद व्यवस्थापनमा ९५ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै बबई गाउँपालिकाले गतवर्ष ५ लाख बजेट विनियोजन गरेकोमा यसवर्ष ७० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी दंगिशरण गाउँपालिकाले गतवर्ष ५ लाख बजेट विनियोजन गरेकोमा यसवर्ष ४० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै गढवा गाउँपालिकाले गतवर्ष १ लाख बजेट बिनियोजन गरेकोमा यसवर्ष कोरोना महामारीका कारण २ करोड बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिए । यसैगरी राजपु गाउँपालिकाले पनि वितेको वर्षको भन्दा यसवर्ष विपदमा बजेट बढेको जनाएको छ । राजपुरले यसवर्षका लागि विपद्मा १ करोड २५ लाख विनियोजन गरेको छ ।

त्यस्तै राप्ती गाउँपालिकाले वितेको वर्ष ३० लाख बिनियोजन गरेकोम दोब्बरले बढाएर ६० लाख पु¥याएको छ । कोरोना महामारीका कारण यसवर्ष विपदमा दोब्बरले बजेट बढाएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिए । ‘कोरोनाको कारण गरिएको बन्दाबन्दीमा समस्यामा परेका नागरिकको सहयोग, क्वारेन्टाइनमा व्यवस्थापन, आइसोलेसन व्यवस्थापन संगै अन्य विपद व्यवस्थापनका लागि बजेट बढाएका छौँ’ उनले भने–‘ बजेट भएमात्रै न काम हुने हो ।’