राप्ती प्रादेशिक अस्पतालमा प्रसुति सेवा लिने बढे

जीतसागर जी.एम.

TMart

दाङ, ३१ भदौ। कोरोना कहरका बिचमा पनि राप्ती प्रादेशि अस्पतालमा प्रसुति सेवा लिने महिलाको संख्या बढेको छ । प्रादेशिक अस्पतालमा अन्य समयमा मासिक ३ सयले सेवा लिने गरेकोमा पछिल्लो समय मासिक ५ सय बढीले सेवा लिने गरेका छन् । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण विभिन्न बार्थिङ सेन्टर बन्द भएको र जिल्ला बाहिर जान पनि कोरोनाको जोखिम भएका कारण अस्पतालमा सेवा लिनेको संख्या बढ्दै गएको अस्पतालका प्रसुति प्रमुख डा. किरण पोखरेलले जानकारी दिइन् ।

‘कोरोनाको जोखिम बढेकाले धेरै जसो वर्थिङ सेन्टर बन्द भएका छन्, प्रसुतिका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था पनि छैन्’ उनले भनिन्–‘लकडाउनमा अहिलेको समयमा सेवा लिनका लागि प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता छ ।’ अस्पतालमा गतवर्षमा दैनिक १७ जनाले सेवा लिने गरेकोमा अहिले ८० जनाले समान्य प्रकारको प्रसुति सेवा लिने गरेको उनले बताईन् ।

‘अस्पतालमा सेवा लिने अन्य विरामीको संख्या कमी आएपनि प्रसुतिका लागि आउने संख्या बढ्दै गएको छ, यो सकारात्मक पक्ष पनि हो ’ उनले भनिन्–‘ अझ अहिलेको समयमा शल्यक्रिय गरेर प्रसुति गराउनेको संख्या झन् बढेको छ ।’

बितेको वर्षमा अस्पतालमा दैनिक २९ जनाले शल्यक्रिया गरेर सेवा लिने गरेकोमा अहिले यस आर्थिक वर्षमा १ सय बढीले शल्यक्रिय गरेर अस्पतालबाट सेवा लिने गरेको उनले बताइन् । अस्पतालमा दाङसहित रुकुम, रोल्पा, सल्यान, प्युठान लगायतका जिल्लाबाट प्रसुति सेवा लिनेका लागि आउने गरेका छन् ।

सेवा लिनेको संख्या बढेपछि जनशक्ति अभाव

राप्ती प्रादेशिक अस्पतालमा सेवा लिनेको संख्या बढ्दै गएपछि जनशक्ति अभाव हुन थालेको छ । अस्पतालमा पछिल्लो समय प्रसुति सेवा लिनेको संख्या बढ्दै गएपछि जनशक्तिको अभाव हुन थालेको प्रमुख किरण भण्डारीले जानकारी दिइन् ।‘ सिमिति जनशक्ति भएपनि सेवालाई निरन्तरता दिएका छौँ’ उनले भनिन्–‘सामान्य अवस्थामा सेवा लिनेको संख्या पनि सामान्य नै थियो तर पछिल्लो समय बढेको छ, सेवा लिनेको संख्या बढेपछि सोहि अनुसार जनशक्ति हामीसंग छैन् ।’

अस्पतालमा अहिले जम्मा नर्सिङ स्टाप ३७ जना भएपनि सेवा प्रवाह गरेअनुसारको जनशक्ति नभएको उनको भनाई छ । ‘कोरोनाको जोखिम बढीरहेको समयमा स्टाप कम हुँदा पनि समस्या आउन सक्छ तर अहिलेसम्म जनशक्तिले धानेकै छ’ उनले भनिन्–‘के गर्नु सर, पानी खान पनि फुर्सद छैन् ।’

उनले कोरोना जोखिम बढीरहेको समयमा पर्याप्त सुरक्षाका सामग्रि पाउन नसकेको बताएकी छन् । ‘जोखिम बढेको छ, तर स्वास्थ्य सुरक्षाका सामग्रि पाउन सकेका छैनौ, उनले भनिन्–‘जति जोखिम भएपनि सेवा दिनुपर्ने बाध्यता छ ।’