कोरोना सङ्क्रमितको प्रश्न–सङ्क्रमितको तथ्याङ्क भजाएर आम्दानी गर्न छुट छ ?

सन्तोष अर्याल

TMart

म कोरोना संक्रमित व्यक्ति । जब संक्रमित भएँ अनि केही भोग्ने अवसर पाएँ । संक्रमित भएदेखि बन्द कोठा । एक्लो बसाई । उराठ लाग्दो दैनिकी । कोरोना सङ्क्रमणले धेरै सिकायो मलाई । शारिरीक परिश्रम भन्दा हजारौंं गुणा ठूलो रहेछ मानसिक तनाव । अझ त्यो भन्दा भन्दा लाखौं गुणा ठूलो रहेछ सामाजिक तनाव ।

संक्रमित हुँदा थाहा भयो सामाजिक दृष्टिकोण । कोरोनाको महामारीका बीच डाक्टर, नर्स, प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार, बैंकरको कर्मलाई स्वावासी दिने समाजले संक्रमित भएपछि गरेको व्यवहार देख्दा साह्रै पीडाको महसुस भयो ।

अस्पताल बन्द गर्नुहँुदैन । बैंक वित्तीय संस्था बन्द गर्नुहुँदैन भन्ने समाजको मागलाई पूर्ति गर्न मुखमा डवल माक्स, हातमा सेनिटाइजरको एलर्जी सहँदै ग्लोप्सको भरमा काम गरेका हामीहरुले संक्रमणपछि ब्यहोरेको पीडा जति बयान गरे पनि सकिदैन ।

हिजो मेरो कामको प्रशंसामा शब्दगुच्छा खर्चनेहरु नै म संक्रमितको दायरामा पर्दा वडा कार्यालयसम्म डेलिगेसन पुग्दैगर्दा लागेको दुःखको वर्णन कसरी गरुँ मैले ।

समाजबाट तिरस्कृत भइरहँदा जिल्ला प्रशासन कार्यालयबाट मप्रति गरिएको चिन्ता र चासोले प्रदान गरेको शितलताको बयान गर्ने मसँग ल्याकत छैन । रह बखत आउने फोनमा प्राप्त भएको सहानुभूति शब्दमा वर्णन गर्न सक्दैन म । ‘कस्तो छ हजुरलाई ? आफ्नो परिवारसँग कसरी अलग हुनुहुन्छ ? कुनै लक्ष्ण छ कि छैन ? होम आइसुलेसनको मापडण्ड अनुसार बस्नुभएको छ कि छैन ? केही हुनासाथ हामीलाई कल गर्नु होला’, प्रशासनबाट मेरो चिन्तामा खर्चिएका यी र यस्तै शब्दगुच्छाहरुले आधा रोग निको भएको भान भए त्यो मलाई ।

संकटको अवस्थामा स्वास्थ्यकर्मीहरु पनि मेरा लागि बरदानै सावित भइदिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट गरिएको चासो र चिन्ता जस्तै स्वाथ्यकर्मीहरुबाट पनि पाएँ–जसले मलाई एकान्तमा बाँच्न थप हौसला प्रदान गरे ।

संक्रमित भएर बस्दा समाजले मप्रति गरेको व्यवहारले भन्दा कैयौं गुणा बढी दुःख र पीडा कोरोना व्यवस्थापन समितिमा भएका व्यक्तिहरुको व्यवहारले पाएको छु । समाजको कोरोना व्यवस्थापन गर्ने जिम्मा पाएका व्यक्तिहरु नै संक्रमितको मनोबल कमजोर बनाउने कार्यमा लागेको पाउँदा अचम्मित मात्र भइन–त्यो भन्दा बढ्ता उनीहरुको बुझाई र औकातप्रति दया जागेर आयो ।

‘कस्तो छ हजुरलाई ?’ भन्ने जिज्ञासा मप्रति राखिएला भन्ने भ्रममा म रहेको महसुस मलाई उनीहरुको फोनसँगै भएथ्यो ।

‘तीन हजारमा खान बस्नको विशेष व्यवस्थापन छ । हजुरहरुको त बंैकले खर्च तिर्दिहाल्छ । किन घरमा बस्नुभएको छ ?’ भन्दै संक्रमित मानसिकतालाई घर छाड्न दवाव दिने व्यक्तिहरुले कसरी समाजलाई संक्रमणमुक्त बनाउन सक्छन् ? यस्तै जिज्ञासा मनभरि पैदा भइरहे ।
मलाई दवाव दिनका लागि आउने नम्वरलाई फन पार्क होटेलको नाममा सेभ गरँे । एक दिन होइन, दुई दिन होइन, सात दिन पुगिसक्दा पनि ती नम्वरबाट फोन आइरहे । घर छाड्न दवाव दिइरहे ।

यी सब व्यवहार सहिरहँदा मलाई लाग्यो–कोरोनाको जोखिममा काम गर्नु प्रहरी प्रशसन, स्वास्थ्यकर्मी, पत्रकार, बैंकरहरुको भुल नै हो त ? राज्यले कोरोना व्यवस्थापन समिति संक्रमितहरुको मनोबल गिराउनकै लागि हो त ? उनीहरुको नियतमाथि पनि शंका उब्जियो–कतै यिनीहरु संक्रमितहरुको हाजिरी पेस गरेर खर्च असुल्न त लागेका होइनन् ?

संक्रमितलाई खुवाएको, लक्षण नदेखिएको बिरामीलाई डाक्टर बोलाई चेक जाँच गरेको, अनेक थरी औषधि दिएको, हेर्ने मान्छे खटाएको जस्ता अनेक बिल बनाउन नपाएरै हो त उनीहरुले मप्रति त्यस्तो व्यवहार गरेको ? यस्ता धेरै जिज्ञासा मनभरि उब्जिरहे–जुन क्रम अझै जारी छ ।

र आज म उनीहरुप्रति प्रश्न तेस्र्याउँदैछु–‘लक्षण नदेखिएका, बिरामी नभएका संक्रमितहरुलाई सुरक्षित होम आइसुलेसनमा बस्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन पालना नगर्ने तपाईँहरुलाई व्यवस्थापन समितिमा बस्ने नैतीकता छ ? संक्रमितलाई दुःख दिएर कमाएको पैँसाले तपाईँ कति दिनसम्म रमाउन सक्नुहुन्छ ? संक्रमितका परिवारका आँशुको सराप लाग्ला भन्ने डर उत्पन्न हुँदैन ?’

आज म यत्ति भन्न चाहन्छु । मेरा प्रश्नको जवाफ दिँदै गर्नुहोला । फोनको रिङ टोन बज्दा डराएर थरथर काँप्ने मेरा बाआमाको अवस्थाले मलाई कस्तो अवस्थामा पु¥यायो होला । तपाईँहरुसँग मानवता छ भने महसुस गर्नुहोला–तपाईँहरुसँग वार्तालाप गर्दै गर्दा बाआमाको आँखाबाट तप्प–तप्प आँशु चुहिरहँदा मैले कसरी पीडा सहन गरेहुँला र कोरोना बिरुद्ध लड्ने ताकत कसरी जुटाएँ हुँला ?

तपाईँहरुसँग सुन्ने ताकत छ भने यो पनि भन्न चाहन्छु–जबरजस्ती अटेरी गरेर घर बसेको होइन म । मैले त नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको निर्देशनको पालना गरेको हुँ । तपाईँहरुले पालना नगरेको निर्देशन पालना गरेर राज्यको व्ययभार कम गरिदिएको हुँ ।

म होम आइसुलेसनमा बस्दाको दिनको तथ्याङ्क हेर्नुहुन्छ भने प्रदेश ५ मा ४ सय ८० जना र देशभर ६ हजार ९ सय होम आइसुलेसनमा बसेका छन् । कोरोना व्यवस्थापन समितिका सदस्यहरु म के आग्रह गर्न चाहन्छु भने हजुरहरुले मजस्ता कति जनालाई फन पार्कको आइसुलेसनमा राख्यौं भनेर गणना गर्नुभन्दा पहिला म जस्ता लक्षण नभएका कतिजना होम आइसुलेसनमा छन् ध्यान दिनु होला । हजुरहरुले यसलाई सेवाका रुपमा लिनुहोला । आफ्नो कर्तव्यका रुपमा लिनुहोला । व्यापारका रुपमा नलिनुहो । संक्रमितलाई मानसिक रोगी बनाउने गरी घरिघरि नतर्साउनुहोला ।

अन्त्यमा समाजको व्यवहारले मलाई झन् बलियो बनाएको छ । असंख्य अश्रु बगाउँदै भए पनि म बलियो बनेको छु । जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यकर्मीहरुबाट पाएको सौहार्दतालाई सञ्जिवनी बुटी बनाएर म रोगसँग लडिरहेको छु । स्वास्थ्यकर्मीहरुले भनेझैं स्वस्थ रहन प्रयासरत छु । सम्माननीय प्रधानमन्त्रीको निर्देशनलाई पालना गर्दै बेसार पानी, ज्वानो खाएरै कोरोना भाइरस बिरुद्धको लडाइ जित्दैछु ।

जिल्ला प्रशासन कार्यालय दाङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोरोना विशेष अस्पताल बेलझुण्डीका डाक्टरहरुप्रति ऋणी छु–जसले मलाई आत्मबल बढाउन मदत मात्र गर्नुभएन–समाज र रोगसँग लड्ने ताकत दिनुभयो । मेरो अभिभावको भूमिका निर्वाह गर्दैै हरपल मेरो स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्ने बैंकका मेरा अग्रज सरहरु । शुभचिन्तकहरु, साथीहरु सबैप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

कोरोना सङ्क्रमित दाङका बैंकरसँग गरिएको कुराकानीमा आधारित