सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?

सन्तोष अधिकारी

TMart

घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि पु¥याएर दुई जनाले लगातार पाँच घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो । समाजमा अहिले पनि सर्पले डसेका बिरामीलाई अस्पताल या स्वास्थ्यकेन्द्रको आधुनिक स्वास्थ्य उपचारभन्दा वैद्यले नै चुसेर विष झार्ने उपचार पद्धतिले निको हुन्छ भन्ने विश्वास छ ।

समाजमा सर्पले डसेका यस्तै प्रकृतिका कैयौँ घटनाको अध्ययन गर्दा निको भएको पनि पाइन्छ । वैद्यहरुसँग उपचार गराउनेको सङ्ख्या यकिन नभए पनि उपचार गर्नेहरुका अनुसार एकजना वैद्यले वर्षमा १५ देखि २० जना सम्मको यसैगरी चुसेर विष झारेर उपचार गर्ने गरेको बताउछन् । घोराही उपमहानगरपालिका– १० नारायणपुरका कमल पौडेल पेशाले शिक्षक हुनुहुन्छ । उहाँले २०४३ सालदेखि सर्पले टोकेका बिरामीको उपचार यस्तै पद्धतिबाट गर्दै आइरहनुभएको छ ।

पौडेलसँग वर्षभरिमा कम्तीमा एक सयको हाराहारीमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गर्दछन् । विसं २०४३ मा बडादशैँको नवदुर्गामा सर्पले डसेका बिरामीको भालुवाङका शाहवीर खानसँग यसैगरी चुसेर विष निकाल्ने उपचार पद्धति सिक्नुभएका पौडेलले अहिलेसम्म निरन्तर उपचार गरिरहेको बताउनुहुन्छ । उमेर ढल्कदै जाँदा उहाँले उपचार गर्ने विधि गाउँका अन्य १६ जना युवालाई समेत सिकाएको बताउनुभयो । खाली मुखले चुसेर विष निकाल्दा शुरुशुरुमा हल्का विष लागेको जस्तो भए पनि पटक पटकको चुसाइपछि भने विष पनि नलाग्ने उहाँको अनुभव छ ।

पौडेलले विगतमा यही पद्धतिबाट उपचार गर्दाको अनुभव सुनाउनुभयो करिब चार वर्षअघिको । उहाँले भन्नुभयो “करिव चार वर्ष पहले तुलसीपुर अञ्चल अस्पतालले मृत घोषणा गरेको व्यक्तिलाई बचाउन सकिने आशामा ती व्यक्तिको परिवारले नारायणपुरस्थित मेरो घरमा लिएर आए । नाडी छाम्दा ढुकढुकी कत्ति थिएन । एउटा आशा लिएर आएको बिरामीका परिवारलाई निराश बनाउनुभन्दा प्रयास गर्नु उचित सम्झेर चेलाहरुका साथमा चुस्न सुरु गर्यौँ ।

हामीले लगातार १० घण्टा चुस्दा ती बिरामीका अङ्गप्रत्यङ्गहरु सल्वलाउन थाले । मरेको मान्छे जाग्यो भन्दै हल्ला भयो । त्यसपछि प्रहरी आएर पौडेल र उहाँका चेलालाई उपचार गर्न नदिएर बिरामीलाई लिएर जानु भन्यो ।” पुलिसले त्यहाँवाट निकालेपछि बिरामीका आफन्तले नेपालगञ्ज मेडिकल कलेज पुर्याएर एक महिनासम्म अस्पतालमा उपचार गराएर, उनलाई निको भयो । ती बिरामी घर फर्केपछि बिरामीको छोरा पौडेलको घरमै आएर खुट्टा ढोगेर सम्मान प्रकट गरेको पौडेल बताउनुहुन्छ ।

विष चुस्ने प्रक्रियाबारे पौडेलले विस्तारमा बताउन नचाहे पनि बिरामीलाई पश्चिम फर्काएर वसाउने, धुप वालेर चुस्ने समूहका व्यक्तिहरुले मन्त्र जप गरेर शुरु गर्ने गरेका हुन्छन् । उहाँले चुस्ने व्यक्ति र बिरामीको बीचमा अरु प्रवेश नगरुन् भनेर गोल घेरा वनाई उक्त क्षेत्रलाई सुरक्षित बनाएर बाधेर विष चुस्ने कार्य शुरु हुने बताउनुहुन्छ । सर्पले टोकेको बिरामी कति समयपछि आएको छ त्यति नै समय लाग्ने पौडेलको भनाइ छ । विष चुस्दा शरीरमा विष रहँदासम्म मात्र चुस्न सकिन्छ ।

विष सकियो भने चुस्ने व्यक्तिलाई बिरामीको शरीरले नै हुत्याउने गरेको पौडेलले बताउनुभयो । यसरी विष चुस्दा सर्पले टोकेको घाउमा कतिपयको त दाँतसमेत झरेको चुस्ने क्रममा भेटिने गरेको उहाँको अनुभव छ । दाङमा प्रायःगराईच (करेत) र डुमिनी (कोब्रा) सर्पले डसेका बिरामी नै आउने गरेको पौडेल बताउनुहुन्छ । डुमिनी (कोब्रा) सर्पको विष मानिसको शरीरमा तुरुन्तै र गराईच (करेत) को विष बिस्तारै अर्थात् डसेको करिव एक घण्टापछि मात्र शरीरमा चढ्ने पौडेलले बताउनुभयो ।

चुसेर उपचार गर्ने पद्धति प्रत्येक वर्षको नवदुर्गामा सिकाइने गरेको पौडेलले जानकारी दिनुभयो । अहिले चुसेर विष निकाल्ने वैद्य पनि समाजमा धेरै नै रहेका छन् । “केहीले उपचारपछि तोकेरै पैसा लिने गरेका पनि छन् तर मैले सिकाएका गाउँका चेलाहरुलाई तोकेर पैसा लिन दिएको छैन” पौडेलले भन्नुभयो । घोराही उप महानगरपालीका–६ बचाहाका भीमप्रसाद खनालले पनि सर्पले डसेका बिरामीको उपचार गर्न थालेको १० वर्ष भयो । खनालले चुसेर सर्पको विष झार्ने पद्धति बङ्गाली विद्या भएको दावी गर्नुहुन्छ ।

उहाँका अनुसार देवी भगवतीको आराधना गरेर कन्याले बनाएको शुनपानीले शुद्ध भएर मन्त्रोच्चारण गर्दै बिरामीको शरीरमा बनेको घाउमा चुसेर विष निकाल्ने गरिन्छ । दाङका अस्पतालले नेपालगञ्ज सिफारिस (रेफर) गरेका बिरामी पनि आफूकहाँ आएर उपचारपछि निको भएको उहाँको अनुभव छ । “हाम्रो उपचार पद्धतिमा टोकेको ठाँउवाट चुस्ने भएकोले सबै विष निकालिन्छ”–खनालले भन्नुभयो ।

यता घोराही उपमहानगरपालिका–६ का केही वैद्यको उपचार विधि भने फरक छ । उनीहरुले सर्पले डसेको बिरामीलाई स्थानीयस्तरमा नै पाइने जडीबुटीको लेप लगाई उपचारगर्ने गरेको बताउछन् । घोराही उपमहानगरपालिका–६ का पदमप्रसाद अधिकारीले पनि सर्पले टोकेका बिरामीलाई उपचार गर्न थालेको ३३ वर्ष पुग्यो ।

सर्पले टोकेको बिरामीलाई उहाँले गाँउघरमै पाइने जडीबुटी घाउमा लगाइदिने र त्यही जडीबुटीको रस पिउन दिएर उपचार गर्ने गरेको बताउनुहुन्छ । अहिलेसम्म उहाँले पनि लगभग दुई हजार जतिलाई उपचार गरेको र उपचार गरेका सवै सफल भएको बताउनुहुन्छ । “धारापानी मन्दिर छेउछाउको जङ्गलमा पाइने जडीबुटी ‘एन्टीस्नेक भेनम’ जस्तै जडीबुटी हो, त्यसले नै उपचार गर्दै आएको छु” अधिकारीले भन्नुभयो ।

बुढेसकाल लागेकोले जङ्गल पुग्न कठिनाइ हुने भएकोले उहाँले त्यो जडीबुटी घरको करेसावारीमा पनि रोप्नुभएको छ । “अहिलेसम्म मैले उपचार गरेकाहरु सबै सञ्चो भएकोले जडीबुटीले काम गर्छ भन्नेमा म विश्वस्त छु,” अधिकारीले भन्नुभयो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.मिनचन्द्र अधिकारीका अनुसार चुसेर विष निकाल्छु भन्नेले समाजमा भ्रमपैदा गरिदिएको बताउनुहुन्छ । अधिकारीका अनुसार सर्पले टोकेको बिरामी दुई कारणले मर्ने गर्दछ ।

पहिलो मानसिकताले मर्ने गरेको बताउदै डा. अधिकारीले बिरामीलाई समाज तथा घर परिवारले नै पहिला ‘काउन्सिलिङ’ गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार सर्पले डसेपछि अस्पताल पुर्याउन ढिलाइ हुँदा विष शरीरमा फैलिएर मृत्यु हुने गरेको छ । “एन्टीस्नेक भेनम नै विष मार्ने अचुक उपाय हो भने बढी सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा मात्र सफल भएका छन्” अधिकारीले भन्नुभयो । अहिले पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एन्टिस्नेक भेनम प्रसस्त मात्रामा रहेको अधिकारीले जानकारी दिनुभयो ।

वर्षाको समयमा सर्प जमिनवाट बाहिर निस्कने भएकोले यो समयमा सर्पले डस्ने घटनाहरु बढी हुने गर्दछन । विषालु सर्पले टोकेकोलाई चुसेर विष निकाल्न नसकिने राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ सर्जन डा.जनार्दन पन्थीको भनाइ छ । सर्पले डसेका बिरामीको शरीरमा रगतमा मिसिएको विष कुनै पनि हालतमा चुसेर ननिस्किने उहाँले दावी गर्नुभयो ।

“सर्पले टोकेपछि विष रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्ने भएकोले चुसेर विष निकाल्छु भन्नेहरुले समाजमा भ्रम छर्ने काममात्र गरेका छन्” डा. पन्थीले भन्नुभयो । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गत आर्थिक वर्ष २०७६÷७७ मा सर्पले डसेर उपचार गराउन आउनेको सङ्ख्या ३६ रहेको थियो । अस्पतालका सूचना अधिकारी डिल्ली केसीका अनुसार उपचारका लागि आएका बिरामीहरुमध्ये सात जनालाई नेपालगञ्ज रेफर गरिएको थियो भने वाँकी २९ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

पहिला झारफुक तथा चुसेर उपचार गर्ने वैद्यलाई विश्वास गरेपनि अहिले अस्पतालमा उपचारका लागि आउनेहरु नै बढेको केसीले बताउनुभयो । यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गत आर्थिक वर्षमा १० जनामात्रै उपचारका लागि आएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उपचारका लागि आएका मध्ये छ जनालाई कोहलपुर रेफर गरिएको उहाँले जानकारी दिनुभयो ।

बाँकी चार जनामध्ये दुई जना अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका थिए भने दुई जनाको मृत्यु भएको थियो । वैज्ञानिक तथ्यअनुसार कुरागर्ने आधुनिक चिकित्सक, प्रकृतिक जडीबुटीको माध्यमबाट उपचार गर्ने तथा चुसेर विष निकाल्ने वैद्यहरुले आ–आफ्नै तरिकालाई उपचारको उत्तम माध्यम बताउछन् ।

समाजमा अहिले पनि अस्पतालको उपचार पद्धतिभन्दा पनि वैद्यहरुको उपचार पद्धतिमै विश्वास गर्नेहरुको सङ्ख्या पनि ठूलै छ । त्यसैले पनि सर्पले डस्दा चुसेर उपचार गर्ने पद्धति विश्वास हो कि बाध्यता ? समाजलाई नै छुट्याउन गाह्रो परेको देखिन्छ ।