नेपालमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौं,२३ साउन । नेपालमा कोरोनाले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार नेपालमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएसँगै नयाँ रेकर्ड कायम भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो ।

TMart

योसँगै अहिलेसम्म कोरोनाकाका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ ।

बिहीबार पुष्टि भएका मृतक को हुन् ?

१. मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधवार कोशी अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भई ल्याउँदा मृत्यु भएको हो ।

२. मोरङ्गकै विराटनगर महानगरपालिकाका मधुमेह तथा मिर्गौलाको दीर्घरोगी ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको र मृत्युपछि परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

३. सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाण्डूमा बुधवार मृत्यु भएको हो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

४. धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाडौंमा गत शनिवार मृत्यु भएको थियो । उनमा दम, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी बताइएको छ ।

५. सप्तरी जिल्लाको रुपनी नगरपालिकाकी ४२ वर्षीय पुरुषको बुधवार राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा मृत्यु भएको हो । उनी डेढ महिना पहिले मलेशियाबाट फर्केको र घरमै क्वारन्टीनमा बसेको बताइएको छ ।

बिहीबार नेपालका विभिन्न स्थानमा थप ३६० जनामा कोभिड–१९ पुष्टि भएका थिए । यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,२९६ छ ।

बिहीबार २३३ हुँदा भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ । अहिलेसम्म नेपालमा चार लाख बढीको पीसीआर परीक्षण गरिएको छ ।