के पुन: लकडाउन हुन लागेको हो ?

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताएका छन् ।

TMart

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘जहाँ सङ्क्रमण बढी हुन्छ, त्यहाँ सेवाहरू रोक्दै जानुपर्छ र जहाँ सङ्क्रमण कम छ, त्यहाँ खुकुलो हुन्छ ।’

उनले अहिले स्थानीय तह वा जिल्ला प्रशासनहरूलाई अवस्था हेरेर स्थानीय स्तरमा लकडाउन गर्नसक्ने व्यवस्था भएकाले अहिले नै त्रसित भएर पूर्ण देशव्यापी लकडाउनमा जानुपर्ने अवस्था नभएको पनि बताए ।

भदौंं १ गतेदेखि सञ्चालनमा आउने भनिएको लामो दूरीका सार्वजनिक यातायात तथा हवाई उडान के हुने हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चार मन्त्री खतिवडाले हालको अवस्था हेर्दा सञ्चालन गर्न सकिने अवस्था बनिनसकेका बताए ।खतिवडाले सार्वजनिक यातायात तथा हवाई उडान सञ्चालनका विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठक तथा आगामी मन्त्रीपरिषद्को बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने बताए ।