पुनः लकडाउन !

काठमाडौं, २० साउन । सरकारले लकडाउन अन्त्य घोषणापछि कोरोना संक्रमित संख्या बढिरहेको छ । समूदायमा संक्रमण फैलिएको भन्दै केही स्थानीय तहहरूले लकडाउन घोषणा गरिसकेका छन् । केही जिल्ला तथा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुकुलो भएसँगै खासगरी भारतसँग सीमा जोडिएका जिल्लाहरुमा कोरोनाको संक्रमण बढेको छ ।

TMart

समूदायमा संक्रमण फैलिएको र स्थिति थप जटिल बन्ने भन्दै कतिपयले पुनः लकडाउन गर्नुपर्ने बताउन थालिसकेका छन् । तर, अब दोस्रो चरणमा पुनः लकडाउन घोषणा गरिएमा देशले धान्न नसक्ने विश्लेषकहरू बताउँछन् ।

कोरोना संक्रमितहरू दिनदिनै बढ्न थालेपछि नेपालमा सरकारले फेरि लकडाउन जारी गर्न सक्ने चर्चा भइरहेको बेला स्वास्थ्य मन्त्री भानुुभक्त ढकालले प्रभावित जिल्लाहरूको अवस्था हेरेर लकडाउनबारे निर्णय लिइने बताए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फेरि लकडाउन गर्नेनगर्नेबारे विषयमा जनस्वास्थ्य विज्ञसँगको छलफलमा जुटेका छन् । छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरू तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई मंगलबार बोलाएका छन् । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझाव अनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो ।

साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ ।

यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ ।