नेपालगञ्जमा अस्पतालदेखि अदालतसम्म कसरी फैलियो कोरोना संक्रमण ?

बाँके, २० साउन । कुनै समय कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुरमा अहिले संक्रमण नियन्त्रण उन्मुख छ। तर अहिले बाँके सदरमुकाम नेपालगञ्ज कोरोना ‘हटस्पट’का रूपमा देखिएको छ। अदालत, उपमहानगरका कर्मचारी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित सर्वसाधारणमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि यो क्षेत्र हटस्पट बनेको हो।

TMart

बाँकेमा सोमबार ८ जना संक्रमित थपिएका छन्। यसरी थपिनेमा नेपालगञ्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्षसहित ७ कर्मचारी छन्। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मंगलबारसम्म बाँके जिल्लाभर लकडाउन गरिएको छ।

बाँके कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार राति १२ बजेदेखि मंगलबार राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। यसअघि पनि त्यही क्षेत्रमा संक्रमित बढ्न थालेपछि लकडाउन गरिएको थियो। एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्दा कोरोना संक्रमण फैलन सक्ने भएकाले लकडाउन गरिएको प्रशासनले जनाएको छ।

अहिले नेपालगञ्ज उपमहानगरपालिकाको १, ३ र ८ वडामा बढी संक्रमित देखिएको उपमेयर उमा थापा मगरले बताइन्।  ‘बडा नम्बर १ का अध्यक्षमा कोरोना संक्रमण पुष्टि भयो,’ उपमेयर थापाले भनिन्, ‘सरकारी कार्यालका कर्मचारीसमेत संक्रमित हुन थालेपछि चिन्ताको विषय बनेको छ।’

जिल्लामा अहिलेसम्म ४ सय ४६ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ। यसरी संक्रमित भएकाहरुलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लाइन्स डेन्टल अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना समुदायमा फैलिसकेको बताए। लकडाउन खुलेपछि विस्तारै सीमाबाट मानिसहरू आएको कारण बाँके जिल्लाका केही क्षेत्र जोखिममा परेको उनले बताए। यही कारण अत्याआवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको उनले बताए।

स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, औषधि, खाद्यन्न र तरकारी आयातका सेवा सञ्चालन हुने बताइएको छ। एम्बुलेन्स, शववाहन, दमकल, कुटनीतिक नियोगका गाडी, लामा दूरीका मालवहाक गाडी पनि चल्न पाउनेछन्।

२१ देखि ३० का युवामा धेरै संक्रमण 
बाँकेमा संक्रमितमध्ये युवाको संख्या बढी छ। विदेशबाट फर्केका युवामा संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

बाँकेमा २१ देखि ३० वर्ष उमेर समुहका १५९ जनाका कोरोना संक्रमण देखिएको छ। त्यसपछि ३१ देखि ४० वर्षका युवामा देखिएको छ। उनीहरुको संख्या १०२ रहेको छ। १० देखि २० वर्षका ७५ जना युवामा कोरोना संक्रमण देखिएको छ। आइतबारसम्म संक्रमित महिलाको संख्या ५० छ भने ३ सय ८८ जना पुरुष संक्रमित थिए। सोमबार ८ जना संक्रमित थपिएका भए पनि कति महिला र कति पुरुष थपिए भन्ने खुलेको छैन।

वडाध्यक्षदेखि कर्मचारीसम्म संक्रमण, उपमहानरपालिका सिल 
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ। सोमबार कर्मचारी र जनप्रतिनिधि गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर उमा थापामगरले जानकारी दिइन्।

कर्मचारीमा समेत कोराना देखिन थालेपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको उनले बताइन्। यसरी संक्रमित भएका कर्मचारीको सम्पर्का रहेकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ शुरु भएको र अन्य कर्मचारीको पनि परीक्षण हुने उनले बताइन् ।

अदालत पनि पुग्यो संक्रमण 
आइतबार बाँके जिल्ला अदालतका पाँच जना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भयो। योसँगै संक्रमण समुदायमा फैलिएको र सबै क्षेत्रमा पुगेको आशंका बढायो। जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको भन्दै तीन दिन निषेधाज्ञा सुरु गरेको पहिलो दिन आइतबार नै अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको हो।

त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ। अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको हो। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको हो।

निषेधाज्ञासंगै सिल
समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएको छ। त्यसका साथै बाँके प्रशासनले कोरोना देखिएको कोर एरियालाई सिल गर्ने रणनीति बनाएको छ।

आइतबार बिहान जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले यस्तो रणनीति बनाएको हो। बैठकले संक्रमितको संख्या बढेमा नेपालगञ्जको वडा नं. ३, ८ र ११ नम्बरका केही भागलाई सिल गर्ने निर्णय गर्‍यो। नेपालगञ्जमा बढी भीडभाड हुने त्रिभुवनचोक, आन्तरिक राजश्व कार्यालय, यातायात र अदालतका कर्मचारीलाई पनि कोरोना देखिएपछि सिल गरेर परिक्षणको दायर वढाउने र अन्य क्षेत्रमा फैलन नदिने रणनीति जिल्ला प्रशासनले लिएको छ।

लकडाउन खुलैसँगै फैलियो संक्रमण 
सरकारले साउन ७ गते लकडाउन खोलेसगै संक्रमण पनि बढेको देखिन्छ। खुल्ला भारतीय सिमा रहेका गाउँ÷नगर क्षेत्रबाट कोरोना संक्रमण समुदायस्तरमा पुगेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए। समुदायका मानिसहरुले पनि सर्तकता नपनाउँदा यसले झन् फैलने समय पाएको उनको भनाइ छ।

मानिसहरुले सामाजिक दुरी पालना नगर्नु, मास्क लगाउने र हात धुने जस्ता काम नगर्दा थप जोखिम भएको उनले बताए।

‘लकडाउन अघि न्यून संख्यामा रहेको संक्रमण विस्तारै बढ्नुको कारण खुल्ला सिमा हो,’ उपमेयर थापाले भनिन्, ‘भारतबाट विस्तारै मानिस यता छिरे। यहाँ पनि सर्तकता भएन। सामाजिक दुरी र मास्क लगाउने जस्ता कार्यको पालना नहुँदा समुदायमा पुग्यो।’

नरैनापुर शुन्य संक्रमित क्षेत्र 
कुनै समय बाँकेको हटस्पट रहेको नरैनापुर गाउँपालिकामा अहिले संक्रमण नियन्त्रणमा छ। गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले अहिले निकै खुशी लागेको बताए।

‘भारतीय क्षेत्रबाट आउने मानिसलाई अहिल प्रतिबन्ध लगाइएको छ, गाउँपालिका भित्र पर्ने सबै सिमामा कडाइ गरिएको छ,’ अध्यक्ष शाहले भने, ‘नरैनापुरलाई अहिले नयाँ जीवन मिलेको छ। मान्छेहरुले कोरोना बुझे।’

शुरु शुरुमा  मानिसहरुले कोरोना नबुझ्दा धेरै समस्या आफूले भोग्न परेको भन्दै शाहले अबका दिनमा थप सर्तकता अपनाउने बताए।