आश्रममा मन भुलाउदै जेष्ठ नागरिक


रीता लामा
घोराही, । घोराही स्थीत तेरौटेमा रहेको बृद्धआश्रममा अहिले १७जना बृद्धबृद्धाहरु बसिरहेका छन । उनीहरुको सम्पुर्ण लालनपालन रेखदेख, स्याहार सुसार र स्वास्थ्य उपचारको व्यवस्था बृद्धाआश्रमले गरिरहेको छ । बृद्धआश्रममा बस्ने अधिकांस, परिवारको हेला र अपहेलना सहन नसेकेर यता आइपुगेको बताउने गरेको छन ।

Advertise with us


त्यस मध्यकी एक हुन । रोल्पा, गजुर घर बताउने ६० बर्षिया लालकुमारी पुरी । उनले अहिले त्यही आश्रममा दिन काटिरहेकी छन । भएको एउटा छोरा पनि काम खोज्दै भारत पुगे पछि उनी बुहारीसँग बस्दै आएकी थिइन ।

Buddha International Hospital


कमजोर शरीर, बनपाखा र घाँस दाउराको काम गर्न नसके पछि उनी बुहारीको आँखामा कसिङ्गर जस्तै भइन । काम गर्न नसक्ने भए पछि बुहारीले गाली गर्न थालेको र कुटपिटसम्म गरेको उनले सुनाइन । निकै भावुक हुदै उनले भनिन ‘हातपाखुरा बजारेर मात्रै खाने हो, घरमा बसीबसी खाने होइन भन्दै रातदिन गाली गर्थी ।’ बुहारीको गाली मात्रै होइन पटक पटकको कुटाइले उनलाई आफैले बनाएको घरमा बस्न मन लागेन र लालकुमारी २०७४ कात्तिक १५ गते घरबाट निस्किइन ।


केही समय दाङका विभिन्न गाउँ शहरमा भौतारिए पछि उनी बृद्ध आश्रमको सम्पर्कमा आइन । घरबाट निस्किएको करिव १० महिना भयो, परिवारबाट कोही पनि खोज्न आएका छैनन । आफैले जन्माएको छोरा, आफैले खेलाएर हुर्काएको नातिनातिले समेत उनलाई कसैसँग सोधको खोजको सुन्नपाएकी छैनन । आफन्तले हेला गरे पछि अहिले उनलाई त्यही बृद्ध आश्रम प्यारो भएको छ । भन्छिन ‘मलाई सबैले माया मारे मैले पनि मार्नै परयो । ’ घरको याद गरेर मन दुखाउनु भन्दा यतैका दिदीबैनीसँग हासेर मन बुझाउने गरेको लालकुमारी बताउछिन ।


उनी मात्र होइन प्युठानको माडिखोला घर बताउने इश्वरी पाण्डे हेर्दा ७० काटि सकेको जस्तो देखिन्छिन । तर उनलाई आफ्नो एकिन उमेर समेत थाहा छैन । उनको दृष्टी र श्रबण क्षमता निकै कमजोर छ ।


दाजुभाउजुको हेला सहन नसकेर घरबाट निस्किएकी अविवाहित इश्वरी पनि लामो समय दाङका विभिन्न गाउँमा घरेलु कामदारको बनेर जिउ पालिन । र करिव १० बर्ष अघि आश्रमको सम्पर्कमा आइन र अहिले यतै बस्दै आइरहेकी छन । यस बीचमा न उनका आफन्त उनलाई भेट्न आएका छन । नत उनको कसैसँग भेट भएको छ । उनलाई पनि घरको याद भन्दा बृद्धाआश्रमको बसाइ प्यारो लाग्न थालेको छ ।
बृद्धआश्रमले बृद्धबृद्धालाई पारिवारिक बातारण दिएको भन्दै घोराही १२का दुर्गाप्रसाद पाण्डे पनि बृद्धआश्रममा रमाइरहेका छन ।

आफुले जन्माएका छोराछोरीको मृत्यु भए पछि श्रीमतीसँगै नातिनातिनाले घरसम्पत्ति बेचेर उनलाई छोडेर गए । उनी अहिले ८१ बर्षको भए । नातिनातिनाले हेला गरे पछि उनी पनि अहिले बृद्धआश्रममा बसिरहेका छन । ‘जसले मलाई हेला गरे उनीहरुको माया मलाई पनि लाग्दै ।’ उनले चित्त बुझाउदै भने ‘छोडेर गएकाहरुको सम्झेर झन दुखि हुन मन लाग्दैन ।’ मनमा घाउ दिएकालाई सम्झेर झनै मनमा घाउ नबनाउने उनले दृष्ढता लिए ।

जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष भोलानाथ योगी अहिले आश्रममा ५ जना कर्मचारी बृद्धबृद्धाको सेवाको लागि राखिएको जानकारी गराछन । अहिले मासिक ५० हजार खर्च बृद्धबृद्धाको खानपानमा मात्र भैरहेको छ । तर आफ्नै ५ विगाहा सम्पत्तिबाट आउने अन्न र दाताहरुको सहयोगबाट आश्रम चलिरहको उनले बताए ।

घोराही उपमहानगरपालिकाले पनि बर्षै पिच्छे आश्रमको लागि बजेट छुटयाउदै आएको छ । यस बर्ष पनि तीन लाख बजेट विनियोजन गरेको उपमहानगरकी महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोति विश्वकर्माले जानकारी दिइन । पछिल्लो समय आधुनिकता र एकल परिवारमा रमाउने चलन आए पछि बृद्धबृद्धाहरु हेलामा पर्ने गरेका छन ।

दाङमा हाल घोराही, देउखुरीको सुनडवरी र तुलसीपुरमा गरि तीन स्थानमा बृद्धआश्रम खोलिएको छ । जहाँ परिवारको हेलामा परेका, एकल, दुखि बृद्धबृद्धाहरुलाई लालनपालनको काम विभिन्न सरकारी एवम गैरसरकारी निकायको सहयोगमा भैरहेको छ ।