रोल्पामा १४ जनाको कुटपिटबाट एक युवकको मृत्यु, ६ जना पक्राउ

रोल्पा, १७ साउन । रोल्पामा कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्लाको रुन्टीगढि गाउँपालिका-६ भनझ्याङ खोलामा सालडाँडा बस्ने २४ वर्षीय ईश्वर बस्नेतको हत्या आरोपमा ६ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि घाईते उनको उपचारको क्रममा मृत्यु भएको बताए ।

DG Mobile Dang

रुन्टीगढी गाउँपालिका-६ सालवाङ बस्ने ६५ वर्षीय गोठे बुढाको दाङ घोराही उमनपा-१२ हापुरबाट घरतर्फ आउँदै गर्दा बस्नेतले साथमा रहेको नगद ५ हजार र हातमा लगाएको घडीं लुट्न खोजेपछि स्थानीयलाई खबर गरेका थिए ।

स्थानीयलाई खबर गरे पश्चात १४ जनाको समूहले राती १ बजेको समयमा बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनि ढोका ढक्ढकाउँदा बस्नेत घरको झ्यालबाट हामफालि भाग्ने क्रममा घर नजिकै १४ जनाको समूहले छोपी कुटपिट गर्दा बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतलाई उपचारको लागि शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा रुन्टीगढि गाउँपालिका–६ भनझ्याङ खोला नजिक बस्नेतको मृत्यु भएको थियो ।