ऐलानी जग्गाको लालपुर्जा वितरणको तयारी

दाङ,  १६ साउन । सरकारले ऐलानी जग्गा प्रयोग गरिरहेकालाई लालपुर्जा वितरण गर्नका लागि आवश्यक कार्यविधि अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारी जग्गा लामो समयदेखि जोतभोग गर्दै आएका भूमिहिन नागरिकलाई लालपुर्जा वितरणको काम अघि बढ्ने भएको हो ।

DG Mobile Dang

ऐलानी जग्गा जोत भोग गरिरहेका नागरिकलाई लालपुर्जा वितरण गरी राजश्वको दायरामा ल्याउन भूमि समस्या समाधान समन्धि कार्यविधि अन्तिम चरणमा पुगेको भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाकासहित दंगिशरण, बबई र शान्तिनगर गाउँपालिका प्रमुखसंग तुलसीपुरमा भएको छलफलमा अध्यक्ष ज्ञावालीले लालपुर्जा वितरणका लागि आवश्यक तयारीका लागि तथ्यांक संकलन, नक्सांकन, जग्गा नापजाँच लगायतका कामलाई अघि बढाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

ऐलानी जग्गा भोगचलन गरिरहेकालाई लालपुर्जा वितरण गरेर ८ प्रतिशतदेखि २ सय प्रतिशतसम्म राजश्व उठाउने लक्ष्य राखिएको आयोगका विज्ञ सदस्य जगत देउजाले बताउनुभयो । ऐलानी जग्गा भोगचलनको विवरण संकलनको सहजीकरणमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले जग्गाको लगत, जोत भोग गर्ने नागरिकको वास्तविक विवरण स्थानीय तहले नै गर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकामा कार्यविधि आउने वित्तिकै ऐलानी जोतभोग गर्नेहरुलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

बबई गाउँपालिकामा अहिले पनि करिब ४० प्रतिशत ऐलानी उपभोग भइरहेकोले उनिहरुलाई राजश्वको दायरामा ल्याउनका लागि लालपुर्जा वितरण गरिने गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो ।

दंगिशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले सरकार जग्गा भोगचलन गरी रहेकाहरुका लागि कार्यविधि आउन लागेको स्वागतयोग्य रहेको बताउनुभयो । सुकुमबासीले पाउने विषय लामो समयदेखि चर्चामा आउने गरेपनि मूर्तरुप पाउन नसकेको छैन् ।