उपमहानगरपालिकाबासी सबैको सहयोगबाट मात्रै विकास सम्भव

नरुलाल चौधरी
मेयर घोराही उपमहानगरपालिका, दाङ


DG Mobile Dang
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी आम उपमहानगरबासीको सहयोगबाट मात्रै विकास सम्भव भएको बताउनुहुन्छ । तीन वर्ष पहिले आफूहरुले जारि गरेको घोषणा पत्र अनुरुप काम भइरहेको उहाँको भनाई छ । उपमहानगरको विकासका विभिन्न पक्षमा केन्द्रित रहेर मेयर नरुलाल चौधरीसँग गरेको कुराकानि ।

सातौं नगरसभामार्फत तपाईहरुले आर्थिक बर्ष २०७७÷०७८ को बजेट विनियोजन गर्नु भएको छ । अहिलेको बजेटको विशेषता के छ ?

धन्यवाद । हामी खासगरियतिबेला कोरोना भाइरसको कारणले पारेको प्रभाव कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर लागेका छौं । कोरोना भाइरसका कारण विकासका योजनाहरु पूरा हुन सकेनन् । बजेट पनि प्रभावित भएको छ । यो देशव्यापीरुपमा समस्या हो । हामीले चालु आर्थिक वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारका विषयमा बढी ध्यान दिएका छौ ।ं हामीले यतिबेला रोजगारीको कुरालाई प्राथमिकता दिएका छौं ।

युवाहरुलाई रोजगार दिनका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर त्यसतर्फ बजेट विनियोजन गरेका छौं । घोराही उपमहानगरपालिकाको यस वर्षको बजेट अहिले एक अर्ब ८५ करोड रहेको छ । यस आर्थिक वर्षको बजेट बिशेष गरेर कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार मै केन्द्रित रहेको छ ।

तपाईहरु निर्वाचित भएर आएपछि उपमहानगरपालिकाले ल्याएको यो चौथो बजेट हो । विगतमा लिएका तीनवटा बजेट र यो बजेट बीच के भिन्नता छ ?

यसवर्षको बजेट विगतको भन्दा भिन्नता भन्दा पनि निरन्तरताको बजेट रहेको छ । हामीहरुले यस बर्षपनि विगतकै योजनाहरुलाई निरन्तरता दिएका छौं । पटक–पटक धेरै योजना ल्याउने र सम्पन्न नगर्ने अवस्थाबाट गुज्रन दिनका लागि हामीले यस्तो गरेका हो । हामीले घोराही उपमहानगरपालिकामा अहिले कृषिलाई निकै प्राथमिकतामा राखेका छौं । यही कारणले गर्दा तालतलैया निर्माण गर्ने अभियान शुरु देखि नै सञ्चालन गर्दै आएका छौं । अहिले पनि निर्माणका कामहरु भइरहेका छन् । अहिले हामीले २५ वटा कृतिम जलाशय निर्माण गरिसकेका छौं । आगामी दिनमा थप जलाशय निर्माण गर्ने हाम्रो योजना रहेको छ ।

हामीले शिक्षा क्षेत्रको विकासमा पनि योजना बनाएका छौं । पूर्वाधार विकास हाम्रो प्राथमिकता रहेको छ । त्यसैगरी विभिन्न तालिम तथा क्षमता अभिवृद्धिका कामहरु पनि रहेकाछन् । हामीले यसवर्ष स्वास्थ्य क्षेत्रको विकासका लागि पनि मनग्य बजेट विनियोजन गरेका छौं अहिलेको क्षेत्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो योजना रहेको छ ।

अहिले कोरोना भाइरसका कारण विश्व नै संकटको उत्पन्न भइरहेको छ । अहिलेको अवस्थामा पनि कोरोना भाइरस रोकथामका लागि के गर्न सकिन्छ भनेर नीति तथा कार्यक्रम र बजेटमा ल्याएका छौं ।

हाम्रो मुलुक कृषिप्रदान देश हो । कृषि क्षेत्रको विकास नगरिकन देशको विकास हुन सक्दैन । त्यसैले उपमहानगरपालिकाले यहाँको कृषि क्षेत्रको विकासका लागि आधुनिकरण को योजना अगाडि सारेको छ । परम्परागत ढंग कृषिले गरेर हुँदैन भनेर हामीले विभिन्न काम गरिरहेका छन् ।

तीन वर्षपहिले निर्वाचनमा जाँदा तपाईंले घोषणापत्र जारी गर्नुभएको थियो । तपाईंको अफिसको घर्रामा घोषणापत्र छ ?

चुनावी घोषणापत्र टेबुलमा हुने या नहुने भन्ने कुरा ठूलो होइन । मुख्यकुरा हाम्रो मनमा घोषणापत्रमा उल्लेख भएको कुरा छ कि छैन भन्ने हो । हामीले अहिले पनि घोषणापत्र अनुसार काम गरिरहेका छौं ।

तपाईहरु निर्वाचित भएको पनि तीन वर्ष पुगिसक्यो । घोषणापत्र अनुसार के–के काम गर्नुभयो ?
हामीले १९ ओटै वडामा स्वास्थ्य संस्थाहरु स्थापना गरेका छौं । १९ वटै वडामा वडा कार्यालय स्थापना गरेका छौं । अहिले सबै वडामा त्यहींबाट सेवा सञ्चालन भइरहेको छ । जलाशय निर्माणको क्षेत्रमा पनि हामीले राम्रो उपलब्धि हासिल गर्न सफल भएका छौं । अहिलेसम्म २५ ओटा जलाशय निर्माण भइसकेका छन् ।

अन्य जलाशयहरु पनि निर्माण गर्ने हाम्रो योजना रहेको छ । जलाशय निर्माणका लागि प्रदेश र संघ सरकारले समेत सहयोग गरेका छन् । त्यसैगरी हामीहरुले १९ वटै वडालाई जोड्ने सडक कालोपत्रे गर्ने योजना अगाडि सारेका थियौं । सबै वडा जोड्ने सडक कालोपत्रे भइसकेका छन् । १९ नम्म वडा जोड्ने सडक कालोपत्रे भए पनि वडा कार्यालयसम्म अझै कालोपत्रे हुन सकेको छैन । हामीले केही समयभित्र सो वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्रे गर्ने छौं । हामी निर्वाचित हुनुभन्दा पहिले १९ नम्मर वडा जोड्ने एउटा सडकको मात्र सामान्य ट्रयाक खुलेको थियो । अहिले ४ ओटा सडक ट्रयाक खुलिसकेका छन् ।

१९ ओटै वडामा स्वास्थ्य संस्थाहरु स्थापना भएका छन् । यसबाट ग्रामीण क्षेत्रका जनताले सहजै रुपमा स्वास्थ्य सेवा पाउन सफल भएका छन् । भौतिक पूर्वाधकारको क्षेत्रमा धेरै उपलब्धिहरु हासिल भएका छन् । उपमहानगरपालिका क्षेत्रमा पर्ने विभिन्न ठूला सडकहरुको ट्रयाक खुल्ने काम भएको छ । अहिले गाउँ क्षेत्रका मुख्य सडकहरु पनि हामीले धमाधम कालोपत्रे गरिरहेका छौं । जस्तै उपमहानगरपालिका जोडिएको खैरा–कोठरी सडक खण्डको कालोपत्रेको काम भइरहेको छ । केही समयभित्र उपमहानगरको सिमा क्षेत्रसम्म कालोपत्रेको काम सम्पन्न भइसक्ने छ ।

सघन सहरी सडक सडकअन्तर्गत नारेवाङ–नारायण सडक कालोपत्रे प्रक्रियामा छ । सर्रा सडक पिच भइसकेको छ । अन्य धेरै सडकहरु कालोपत्रेको प्रक्रियामा छन् । सहज सघन सहरी सडक अन्तर्गतका सबै आयोजनाहरु यो आर्थिक वर्षभित्र सम्पन्न भइसक्ने छन् । हामीले हाम्रो कार्यकालभरिमा ठूला सबैजसो सडकलाई कालोपत्रे गरिसक्ने छौं । अहिले जनताको लागत सहभागितामा भित्रि बाटाहरु पनि धमाधम कालोपत्रे भइरहेका छन् ।

रोजगारीको अवसर सृजना गर्नका लागि यहाँका उद्योग, धन्दा, कलकारखाना लगायतका ब्यवसायलाई प्रबधन गरिरहेका छौं । विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूसँग समन्वय गरेर रोजगारमूलक काममा यूवाहरुलाई कसरी प्रेरित गर्न सकिन्छ भनेर योजना बनाइरहेका छौं । सामूहिक कृषि खेती, बाख्रापालन लगायतका कामहरुमा पनि प्रोत्साहन गरिरहेका छौं । अहिले किसानहरुले भैसीपालन, गाईपालन र मौरी पालनको काम गरिरहेका छन् । हामीले अहिले पनि प्रोत्साहनका विभिन्न कार्यक्रम हेरेका छौं । आगामी दिनमा पनि प्रोत्साहनका कार्यक्रम ल्याउने छौं ।

बजार क्षेत्रको सरसफाइलाई व्यवस्थित गर्ने हाम्रो अभियान एकहदसम्म सफल भएको छ । सरसफाइको क्षेत्रमा पनि हामीले राम्रो गरेका छौं । अहिले हामीहरुले फोहोरबाट ग्याँस निकाल्नका लागि ग्यास प्लाण्ट निर्माणको काम पनि गरिरहेका छौं । कोरोना भाइरस संक्रमण नआएको भए यतिबेला ग्याँस उत्पादन भइसक्थ्यो । अब हामीले माघसम्म फोहोरबाट ग्याँस निकालिसक्ने छौं ।

हरियाली प्रर्वद्धनको क्षेत्रमा उपमहानगरपालिकाले राम्रो उपलब्धि हासिल गरेको छ । घोराहीको मुख्य सडक तुलसीपुरचोक देखि कटुवाखोलासम्म हरियाली प्रवद्र्धनको काम भएको छ । त्यसैगरी ट्राफिक चोकदेखि नवलपुर हुँदै प्युठान जाने सडकको मुख्य सडकमा पनि यसवर्ष वृक्षारोपण काम गरेका छौं । हरियाली प्रवद्र्धन गर्दै शहरलाई सौन्दर्य बनाउने हाम्रो विशेष योजना रहेको छ ।

कटुवा खोला देखि ट्राफिक चोक हुँदै तुलसीपुरचोक सम्म सोलार सिस्टमबाट सडक बत्तीको जडान भएको छ । तर, अहिले त्यो पनि विद्युत् बाटै सञ्चालन भइरहेको छ । यसले रातमा सडक झलमल्ल भएर सहरी सौन्दर्य देखिनुका साथै रातको समयमा चोरी लगायतका आपराधिक कामहरु हुनबाट बचाएको छ ।

हामीले निर्वाचनमा जे प्रतिबद्धता व्यक्त गरेका थियौं । त्यही प्रतिबद्धता अनुरुप अहिले तीन वर्षको काम पूरा गरिरहेका छौं । धेरै योजनाहरु घोषणापत्र अनुसार पूरा भइसकेका छन् । कतिपय योजनाहरु पूरा हुने क्रममा रहेका छन् । अझै कार्यकाल दुईवर्ष रहेकाले हामीहरु योजनाहरु पूरा गर्ने लक्ष्यमा अगाडी बढेका छौं ।

सामाजिक सुरक्षाको क्षेत्रमा पनि राम्रो काम भएको छ । हाम्रो कार्यकाल आएपछि एक हजार रुपैयाँ भत्ता बढेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि हाम्रो कार्यकाल भित्र पाँच हजार भत्ता पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामीहरु पनि ती प्रतिबद्धता अनुरुप हाम्रो काल कार्यकाल भित्र सामाजिक सुरक्षाभत्ता ५ हजार सम्म पु¥याउने छौं ।

यो हाम्रो चुनावी घोषणात्रपत्र अनुरुप भएको काम हो । यहाँको भाषा क्षेत्रको विकासमा पनि हामीले एक हदसम्म उपलब्धि हासिल गरेका छौं । थारु भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन हामी सफल भएका छौं । थारु भाषा सिक्नका लागि अरु भाषीहरुलाई पनि सजिलो होस् भनेर आधारभूत तहको शिक्षामा थारु भाषा बाट पाठ्यक्रम सञ्चालन गर्ने योजना अगाडि बढाएका छौं ।

यी अलवा हामीले बालमैत्री उपमहानगर बनाउनका लागि प्रक्रिया अगाडि सुरु गरेका छौं । हामीले पूर्ण सरसफाइ र पूर्ण स्वच्छ पानी आम नागरिकलाई पु¥याउनका लागि विभिन्न योजना सञ्चालन गरेका छौं । संघीय, सरकार प्रदेश सरकार र हामी स्थानीय सरकारको तर्फबाट विभिन्न योजनाहरु अगाडि बढाएर धेरैजसो बस्तीहरुमा स्वच्छ खानेपानी उपलब्ध गराइसकेका छौं । नपुगेका ठाउँहरुमा पनि यसरी नै स्वच्छ खाने पानी पु¥याउने हाम्रो योजना रहेको छ ।

हामीले घोषणापत्र कै आधारमा काम गरिरहेका छौँ र घोषणापत्रमा जारी गरेका प्रतिबद्धताहरु पुरा भइरहेका छन् । शिक्षाको क्षेत्रमा पनि हामीले सुधारका कामहरु गरिरहेका छौं । कक्षा ८ को परीक्षालाई पनि नगरस्तरीय बनाएका छौं । हामीहरुले शिक्षा क्षेत्रमा गरेको अर्को उपलब्धि भनेको दरबन्दी मिलान पनि हो ।

जहाँ विद्यार्थी धेरै छन् त्यहाँ शिक्षक कम हुने र जहाँ विद्यार्थी कम छन् त्यहाँ शिक्षक बढी हुने समस्या थियो । उपमहानगरले दरवन्दि मिलान गरेर यी सबै समस्याको समाधान गरेको छ । विद्यालय मर्जका काम पनि भएका छन् । अहिले सामुदायिक विद्यालयहरूको पनि गुणस्तर सुधार भइरहेको छ । अभिभावकहरुले पनि सामुदायिक विद्यालयमा ध्यान दिन थाल्नुभएको छ । यो पनि एउटा जागरण क्षेत्रमा भएको ठूलो उपलब्धी मान्नुपर्छ । क्रमशः अहिले सामुदायिक विद्यालयहरुमा पनि विद्यार्थीहरूको संख्या बढिरहेको छ ।

तपाईहरुले गरेका आयोजनाहरु मध्ये सबैभन्दा कृतिम जलाशय निर्माणको काम उपलब्धि मुलक देखिएको छ । यसले कस्तो प्रभाव पारेको छ ?

कृतिम जलाशय बहुउपयोगी भएका छन् । सुरुमा हेर्दा सामान्य पानी जम्मा भएको जस्तो मात्रै मानिन्छ । तर, यसका बहुआयामिक फाइदाहरु रहेका छन् । अहिले धमाधम शहरीकरण भइरहेको छ । ठाउँठाउँमा पक्की घरहरु तथा संरचनाहरु बनिरहेका छन् । आकाशबाट खसेको पानी जमीनको मुनि जान पाइरहेको छैन । यही कारणले गर्दा हाम्रो जमिनमुनि पानीको सतह घटिरहेको छ । यसरी पानीको सतह जान नपाउँदा हाम्रा कुराहरु सुक्न थालेका थिए ।

अहिले कृतिम जलाशयका कारण ती क्षेत्रहरुमा सुकेका कुवाहरु पनि रसाउन थालेका छने । त्यसैगरी सिँचाइका लागि पनि ती कृतिम जलाशयहरु उपयोउगी भएका छन् । त्यस आसपासका आम किसानहरुले बाह्रैमहिना सिचाई गर्न पाउने भएका छन् । त्यसैगरी वातावरण संरक्षणको सवालमा पनि जलाशयहरु अत्यन्त बहुउपयोगी भइरहेका छन् । पर्यटन क्षेत्रको विकासका लागि पनि अब हामीले निर्माण भएका जलाशयहरुमा डुंगा चलाउने योजना बनाएका छौं ।

निजी क्षेत्रसँगको सहकार्यमा ती क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यस्थल बनाउन चाहन्छौं । अब त्यहाँ होटेल तथा विभिन्न पसलहरु खुले छन् । यसबाट धेरै युवाहरूले प्रत्यक्ष रोजगारी पाउनेछन् । साथै कृतिम जलाशयमा माछा पालन गरेर पनि युवाहरुले आम्दानी गर्न सफल भएका छन् । जलाशय संरक्षण गर्न सवालमा त्यस क्षेत्रका जनताहरुले पनि निकै साथ दिइरहनुभएको छ , कृही ठाउँमा पानिमा डुव्ने जस्ता दुर्घटना नभएका होइनन् ।

तर, हामी सबै सचेत भएर आफ्नो ख्याल गर्नुको विकल्प छैन । जलाशय क्षेत्रका किसानहरुले अहिले त्यहाँ फलफूल खेति र तरकारी खेति गरिरहेका छन् । हाम्रा तातलैयाहरुलाई बहुउपयोगी बनाउँदै त्यसबाट आम्दानि गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

तपाई किसान परिवारमा जन्मेर लामो संघर्ष पश्चात राजनीतिमा स्थापित हुनुभएको नेता हो । तपाई घोराही उपमहानगरपालिकाको मेयर भइसकेपछि यहाँका आम किसानहरुले देखिनेगरी के फाइदा लिन सके ?

हामीले निर्वाहमुखी खेती प्रणालीलाई अन्त्य गर्दै व्यवसायिक खेती गर्नुपर्छ भनेर भनेका छौं । यसकुरालाई सचेतना मुलक ढंगले अगाडि बढाइरहेका छौं । हामीले बनाएका कृतिम जलाशयका वरपर अहिले धमाधम व्यवसायिक कृषिको काम भइरहेको छ । हामीले त्यहाँका किसानहरुलाई व्यवसायिक खेतीका लागि अभिप्रेरित गरिरहेका छौं । उपमहानगरले अगाडि सारेको योजना कै कारण त्यहाँका स्थानीय हरुले केहि हदसम्म आम्दानी पनि बढाउन सफल भएका छन् ।

उदाहरणका निमित्त अहिले जितपुरको तल्लोभागमा जलाशयको नजिक तरकारीखेती बाहेक अरु केही गर्नुभएको छैन । रामपुरमा पनि किसानहरुको धमाधम व्यवसायिक कृषिमा लाग्नु भएको छ । सिचाइँको अभावका कारण व्यवसायिक कृषि गर्न नसक्नु भएका आम किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई कृतिम जलाशयले निकै फाइदा पु¥याएको छ । हामीले उपमहानगरमा व्यसायीक खेति तथा पशुपालन गर्ने किसानहरुलाई विभन्नि औजार तथा अनुदान प्रदान गरिहेका छौं । फलफूल खेती र टिमुर खेतिको भइरहेको छ ।

कृषिलाई यान्त्रिकरण गर्नका लागि हामी स्थानीय तहबाट पनि पहल गरिरहेका छौँ र प्रदेश सरकारले पनि आफ्ना योजनाहरू अगाडि बढाइरहेको छ । अहिले धेरै किसानहरुले गोरु जोत्न छाडेका छन् । टेक्टरको प्रयोग भएको छ । धान कात्ने, दाउने मेसिनहरु आएका छन् । हामीले कृषि क्षेत्रको सुधारमा गरेको योजना कै कारणले गर्दा घोराही उपमहानगरपालिकाका किसानहरूको आम्दानी बढेको छ ।

र, अन्त्यमा आम नगरवासीलाई थिए भन्न चाहनुहुन्छ ?

धन्यवाद रु म आम नगरवासीलाई आह्वान गर्न चाहन्छु । हामी सबैको सामूहिक प्रयासबाट मात्रै सफल हुन सकिन्छ । हामीले अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धिहरु आम जनता र सरोकारवाला निकायको सहयोग र सहकार्यमा नै सफल भएको हो । आगामी दिनमा पनि उपमहानगरले अगाडि सारेका योजनाहरु सफल बनाउनका लागि आम नागरिक तथा नगरवासीको तर्फबाट सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।

हामीले गरेका सबै विकासका योजनामा नागरिकहरूको अपनत्व हुन सकेन भने त्यो विकासको प्रभावकारिता हुन सक्दैन । सबैलाई कोरोना महाभारीबाट बच्नका लागि स्वास्थ्य सर्तकता अपनाउदै आफ्नो नियमित काम गर्न हार्दिक अनुरोध गर्दछु ।