बा आमा ईश्वरको रुप हो

नारायणप्रसाद श्रेष्ठ


प्रत्येक अभिभावक चाहान्छन् उनीहरुको बच्चा राम्रो, ज्ञानी, पढेलेखेको र बुद्धिजिवी बनोस् । उ सधै खुशी र सुखी रहोस् । उसको जीवनमा कहिल्यै कष्ट नपरोस् । उ सधैं खुशी र उमंगमा रहोस् । साथीभाई, इष्टमित्र, नाता कुलकुटुम्बसंग उसको सम्बन्ध राम्रो रहोस् । उसको प्रत्येक कर्म अरुको चहराईरहेको घाउको मलमपट्टी बनोस् । उसले जे गर्छ त्यो समाजसेवाको लागि मुखरित होस् । उसले समयलाई चिन्न सकोस् । समयको गतिसँगै उसको हरेक पाइला विवेकशील भएर अगाडी बढुन् ।

DG Mobile Dang

उ सधै निउरिन जानोस् । आदर, सम्मान उसको विशेषता बनोस् । उ सधैं निरोगी र आशावादी भएर अगाडी बढ्न सकोस् । निराशा उसको जीवनमा कहिल्यै नआओस् । उसका हरेक पाइलामा सफलता मिलोस् । उ आफु पुज्य होइन अरुको पुजारी बनोस् । बाबुआमा, इष्टमित्र, कुलकुटुम्बको इमान्दार मित्र बनोस् । उ आफ्नो लागि होइन अरुको लागि प्रिय पात्र बनोस् । आदर सम्मान र इमान्दारिता उसको विशेषता बनोस् । साथै उ अरुको विश्वास र भरोसाको पात्र बनोस् । उसको कारणले समाज आदर्श उन्मुख बन्न सकोस् । यस्ता कैयौं गुणहरु छन् जो सामाजिक पर्यावरणमा रहेका पाइन्छन् ति सबै मेरो बच्चामा रहोस् ।

यसरी प्रत्येक अभिभावक आफ्नो चाहाना राख्दछ । कैयौं रात चिसो ओछ्यानमा आफु सुती ओभानो ओछ्यानमा सुताएर आमाले बच्चालाई आफ्नो स्तनपान गराएकी हुन्छिन् । बाबु, बच्चाको प्रत्येक कर्ममा त्याग र समर्पण झल्कियोस् भनि दिनरात मेहनत गरि उसलाई पढाउने, लेखाउने र हुर्काउने कुरामा त्यत्तिकै चिन्तित भएर गुज्रेका हुन्छन् ।

यस्तो लाग्छ बा आमा साँच्चिकै ईश्वरको रुप धारण गरेर यस धर्तीमा आएका हुन् । जिम्मेवारी भएर प्रस्तुत भएका हुन् । कति रात आफु भोकै सुतेर पनि बच्चाको भविष्यको लागि उनीहरु चिन्तित हुन्छन् । आफुले नखाएर पनि बच्चा भोको नहोस् भनि उनी सँधै चिन्तित भइरहन्छन् । यतिमात्र होइन जीवनको उत्साह र उमंगको क्षणमा, राम्रो खाउँला राम्रो लाउँला भन्ने उमेरमा पनि बच्चाकै भविष्यप्रति बढी जिम्मेवारी बहन गर्न अभिभावक चुकेका हुँदैनन् ।

यसरी अभिभावकले आफुलाई जिम्मेवारी पूर्वक दायित्व निर्वाह गर्दै आएको कुरा प्रत्येक पिढीले अनुभव गर्दै आएका कुरा हुन् । यस्ता कैयौं अप्ठ्यारा सप्ठ्यारा समस्यालाई पार गर्दै उनीहरु स्वयम् बृद्ध भएको थाहै नपाउने अवस्था पनि छ । यो क्रम हिजो पनि थियो, आजपनि छ र भोलि पनि रहीरहनेछ । जबसम्म सृष्टिको रचना चलिरहन्छ तबसम्म यस्को गतिमा कतै रुकावट हुने छैन, यो यथार्थ सत्य हो । माया मोहको जन्जालमा रहेका प्रत्येक आत्माको यो नै कर्म र व्यवहार मानिदै आएको पनि छ ।

यि माथिका उद्गारहरु प्रत्येक अभिभावकले निर्वाह गर्न खोज्ने र खोजेको यथार्थ हो । चाहे त्यो धनी होस्, चाहे त्यो गरिब होस्, प्रत्येक अभिभावकको चाहाना आफ्ना बच्चाप्रति त्यत्तिकै जिम्मेवारी भएर प्रदर्शन भएका हुन्छन् । बाध्यता र विवशताले पनि असर गर्न नसकेका यि चाहाना अभिभावकको आफ्नै विशेषताभित्र देखा परेको हुन्छन् । हुन त यति कुरा गरिरहँदा कतिपय व्यक्तिले यि त सामान्य कुरा हुन् । श्रृष्टिको इतिहासमा यो भइरहेको छ । यस्तोपनि लेख हुन सक्छ र ? भन्ने गरिएला ।

आधुनिक साहित्यले भरिएका श्रृजनाका नयाँनयाँ चिन्तन पो आलेखमा हुनुपर्छ भनिएला । आलेख सामाजिक गतिविधि समेटिएको पद प्रदर्शक बन्ने किसिमको हुनुपर्छ भनिएला । तर हाम्रो विचारमा यि माथिका उद्गारहरु जसले समाजको लागि आदर्श गन्तव्य निर्वाह गर्न सक्छन् यो वर्तमानको लागि अचुक औषधी बन्न सक्छ ।

अँध्यारोमा उज्यालो ल्याउने ज्ञानको दियो बन्न सक्छ । समाजमा घटेका घटनाले भोलिको भविष्य निर्वाह गर्न सहायक सिद्ध हुन सक्छ । त्याग र समर्पणका आधारित आचरणहरु हुन सक्छ । भनि यो आलेखलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ । वर्तमान समयलाई सरसर्ति हेर्ने हो भने अहिले माथि उल्लेखित विचार र भावनाप्रति मानिसको टिप्पणी र धारणा बेग्लै देखिएको छ । बच्चा जन्मनु, हुर्कनु यो प्रकृतिको नियम हो । यो त बाबुआमाको मनोरन्जनले निम्त्याएको परिस्थिति मात्र हुन् ।

तसर्थ जन्म दिएपछि कर्म दिनु अभिभावकको जिम्मेवारी र कर्तव्य हो । यो उनीहरुको कुनै बाध्यता होइन । बच्चाले आमाको दुध चुस्न पाउनु अधिकार हो । बाबुले बच्चालाई पढाउनु, लेखाउनु, हुर्काउनु यो उनीहरुको जिम्मेवारी हो भनि अधिकारप्रति बढी व्याख्या र विश्लेषण गरेको पाइन्छ । जन्म दिएपछि कर्म पनि दिनुपर्छ । यो उनीहरुको समर्पण र त्याग होइन । यो त अभिभावकको जिम्मेवारी हो । यसरी पनि भन्ने गरेको पाइन्छ । तर के यही यथार्थ सत्य हो ।

बाबुआमा भनेका बच्चा जन्माउने मेसिन हुन् । के उनीहरुको दायित्व हुँदैन ? शिक्षा, स्वास्थ्य र सामाजिक वातावरणमा हुर्काएका र हुर्काउने परिस्थिति जन्माएका बाआमालाई वर्तमानले जे जस्तो किसिमले हेर्ने दृष्टिकोण राख्नु यो कतै सामाजिक संस्कार किन बनिरहेको छ ? बच्चा र अभिभावक बीचको सम्बन्धमा अधिकार र कर्तव्य को नाममा यति बिध्न दरार किन परिरहेछ ।

सम्बन्धमा चिसोपन, व्यवहारमा रुखोपन के यही हो वर्तमान परिवेशको उपलब्धी ? हामी बृद्धाश्रम बनाउँदैछौं किन ? आफु अभिभावक हुनु नपर्ने गरी बृद्ध बाआमालाई सत्तलको बासिन्दा बनाउन हामी किन लालयित छौं । क्षणिक स्वार्थ तथा लोभ मोह र आसक्तिमा फसी अभिभावकप्रति गैरजिम्मेवार हुनु कति जायज ? के यही हाम्रो आधुनिक युगको शिक्षा र मानसिकता हो ।

के हाम्रा पुर्खाले पनि आफ्नै स्वार्थको लागि हामीप्रति जिम्मेवारी निभाएका हुन् । अहिलेको पुस्ता वर्तमानको परिवेशलाई किन गम्भीर दृष्टिले हेर्दैनन् ? तसर्थ हामीले वर्तमानलाई जे सरी सामाजिक वर्तमानमा संस्कार बसाल्ने कुचेष्टा गर्दैछौं यसतर्फ सबै गम्भीर बन्नुपर्दछ ।

हालै मात्र फेसबुकमा एउटा समाचार आयो– छोरा तिमिले मेरो क्रियाक्रम केही नगर्नु । एक बृद्ध बाआमाको यस्तो संवेदनशील भनाई किन आयो । यसमा कसको हात छ ? के त्यो बच्चा आफु अभिभावक बन्नु पर्दैन र ? के उसलाई बृद्ध हुनु पर्दैन र ? किन बृद्ध बाआमालाई यस्तो शब्द ओकल्न लगाउँछन् । अभिभावक भनेको ईश्वरको प्रतिमूर्ति हुन् । यिनीहरुसंग जीवनका भोगाई छन् । अनुभव छन् । स्नेह र ममतामा अल्झिएका छन् । जस्तै सुकै समस्या आएपनि विचलित नहुने दृढ इच्छाशक्ति छ ।

असी वर्ष पुगेका बाआमालाई घरबाट निकाल्न खोज्नु, सम्पत्ती हत्याएर अरुलाई पोस्नु । खान नदिएर दुःख दिनु, कति उपयुक्त ? यि त सामाजिक अपराध हुन् । यस्ता अपराधी प्रबृति गर्नु र यस्तो विचारमा हुर्कनु भनेको सामाजिक कलंक हो । चाहे छोराछोरी होस्, चाहे बुहारी होस् । चाहे जोसुकै किन नहोस् ? अभिभावकलाई दुःख दिने र उनको मन रुवाउनु भनेको पापको कुण्डमा आफै फस्नु हो । स्मरण गर्ने कुरा के हो भने बाआमाले छोरा विग्रियोस् भनेर कहिले चिताउँदैन । यो कुरा स्वयम् अभिभावक भैसकेकाले बुझ्न जरुरी छ ।

यो स्ट्याटस साँचो हो या झुटो हो, त्यो सम्बन्धित व्यक्तिलाई नै थाहा होला । यस्तो घृणित कार्य वास्तबमै समाजकै लागि कलंक हो । किनकी बाआमा भनेका ईश्वरका स्वरुप हो । बच्चा जस्तै ज्ञानी र विद्धान् भएपनि बाआमाको लागि ऊ सानै हुन्छ । यो फेसबुक स्ट्याटसले हाम्रो मनमा धेरै तरंग पैदा ग¥यो ।

यस्तो अपराधी प्रबृत्ति समाजमा कसरी आयो । के हाम्रो संस्कारमा विचलन आएको हो ? तसर्थ यसतर्फ अब प्रत्येक सामाजिक सचेतकले गम्भीर भएर बुझ्नु पर्दछ । लोग्ने स्वास्नी भनेको एक रथको दुई पांग्रा हो, जीवनको गति हो । यो गति सँधै संगै बस्न चाहान्छ । छुट्टिनु यिनको चाहाना होइन । जन्ममरणको इतिहासमा छुट्टीनु उनको बाध्यता हो ।

तसर्थ आफ्ना अभिभावकलाई सत्तलको बास होइन, छोराको न्यानो माया र काँखमा हुर्काउनु सबैको जिम्मेवारी र दायित्व हो । यो कुरालाई विर्सनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । प्राप्त मान प्रतिष्ठा र इज्जतलाई तिलान्जली दिनु हो ।

त्यसैले कुनैपनि व्यक्ति वर्ग वा समाजमा कहिकतै यस्तो घटना घटेको छ भने यसलाई धैर्य र सहनशील भई आफ्नो आचरण र व्यवहारमा सुधार गरौं । अभिभावक हाम्रा आदर्श हुन्, यसकुरालाई मनन् गरौं । वर्तमान यही खोजीरहेछ । अस्तुः