खानेपानी निर्वाचनका लागि उम्मेद्वारी दर्ता, १८ वर्षदेखिको नेतृत्व तोड्ने कसरत

नवीन अभिलाषी

Buddha International Hospital

दाङ, माघ २१ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । माघ २६ गते निर्वाचनका लागि दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् भने स्वतन्त्र रुपमा पनि केहि पदका लागि उम्मेदवारी परेको छ ।

Advertise with us

घोराहीका करिव ६ हजार उपभोक्ताहरुले पिउने खानेपानीको संस्थाको आगामी कार्यकालका लागि नेकपा समर्थित एउटा प्यानल रहेको छ भने नेपाली काँग्रेस समर्थित एउटा प्यानल चुनावको मैदानमा छ । १८ वर्षदेखि निरन्तर अध्यक्ष भएर काम गर्दै आएका देविबहादुर डिसी पुन ः अर्को कार्यकालका लागि नेतृत्वको लडाईमा हुनुहुन्छ । तीन वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि नेकपाको तर्फबाट गणेशप्रसाद श्रेष्ठ अध्यक्षको लागि चुनावमा होमिनु भएको छ । यस्तै स्वतन्त्र रुपमा पदमप्रसाद पाण्डे पनि अध्यक्ष पदमा उम्मदवारी दर्ता गर्नुभएको छ ।

६ कार्यकाल अध्यक्ष बनेका डिसी र यसअगाडी सदस्यको रुपमा काम गरेका श्रेष्ठ विचको चुनावि प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । देविबहादुर डिसी नेतृत्वको लोकतान्त्रीक प्यानलमा अधिकांश पुरानै पदाधिकारी तथा कार्यसमिति दोहोरिएको छ । उपाध्यक्षमा भरत पाण्डे नयाँ हुनुहुन्छ भने सचिवमा सुमन शर्मा, कोषाध्यक्षमा ध्रुव केसी पनि आगामी कार्यकालका लागि निर्वाचनमा होमिनु भएको छ । यस्तै सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी हुनुहुन्छ भने महिला सदस्यहरुमा खुमा खड्का थापा मगर, यशोदा पाण्डेय र लक्ष्मी सिंह ठकुरी पनि प्यानलमा हुनुहुन्छ ।

यता नेकपाले समर्थन गरेको गणेशप्रसाद श्रेष्ठ नेतृत्वको बामपन्थी प्रगतीशिल प्यानलको उपाध्यक्षमा मधुसुदन अर्याल, सचिवमा निर्मला गौतम र कोषाध्यक्षमा नरबहादुर बुढाथोकी निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । सदस्यमा दुर्गा खत्रि र दिलिप खनाल हुनुहुन्छ भने महिला सदस्यमा विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमारी पुन निर्वाचनमा होमिनु भएको छ ।

सचिव पदमा दिपक कुमार श्रेष्ठले समेत उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै सदस्य पदका लागि कालीबहादुर खत्री, राजेन्द्र श्रेष्ठ र बसन्ता कुमारी भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ भने महिला सदस्यमा मोहनी देवि डाँगी, शारदादेवि थापा, सिता पोख्रेलले समेत स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएको छ । २ जना सदस्यको लागि ७ जना र ३ जना महिला सदस्यको लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा समर्थित घोराही खानेपानी तथा सरसफाई निर्वाचन परिचालन समितिले घोराहीमा पत्रकार सम्मेलन गर्दै प्यानलको घोषणा गरेको छ । संयोजक राममणी पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बामपन्थी प्रगतिशील प्यानलको अध्यक्ष पदका उम्मेदवार गणेशप्रसाद श्रेष्ठले लामो समयदेखि व्यक्तिको गोजीबाट चलेको घोराही खानेपानी संस्थालाई आम उपभोक्ताको बनाउने गरी निर्वाचनमा होमिएको बताउनुभयो ।

‘एकलौटीमा चलेको, भित्रि चलखेल बढि भएको र आम उपभोक्ताको बन्न नसकेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई पारदर्शी रुपमा चलाउन आबस्यक छ’ श्रेष्ठले भन्नुभयो । यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार देविबहादुर डिसीले लामो समय देखि घोराही खानेपानीमा आफुले लगानी गरेको भन्दै केहि योजनाहरु पुरा गर्नुपर्ने भएकाले उम्मेदवारी दिएको बताउनुभयो ।

‘मेरो कार्यकालमा घोराही खानेपानीले धेरै ठुलो प्रगती गरेको छ, घोराहीका उपभोक्ताहरुले राहत महसुस गरेका छन्, मेरो काममा अहिलेसम्म कसैले नकारात्मक टिप्पणी भएको छैन ।’ डिसीले भन्नुभयो । घोराही उपमहानगरपालिकाको वडा नं. १४, १५ १७ र १८ का ५ हजार ८ सय उपभोक्ताहरुले घोराही खानेपानी मार्फत पानीको प्रयोग गर्दै आएका छन् ।