दासताबाट जगडिएका मुक्त कमलरीहरु आत्मनिर्भर बन्दै

दाङ माघ २० । सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन।

Buddha International Hospital

Advertise with us

श्रीमानसँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्‍यो । अहिले जग्गाधनी भएकी छन्।

उनले २ वर्षअघि सहकार्य मुक्त कमैया समूहबाट २० हजार रुपैयाँ सहयोग पाइन् । त्यसबाट सुन्तला, केरा, बदाम, स्याउजस्ता फलफूल किनेर बेच्न थालिन्। दैनिक सरदर २ हजार रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन्। समूहको ऋण चुक्ता गरिसकिन् । मासिक ५ सय रुपैयाँका दरले समूहमा पनि बचत गर्न थालिन् । अहिले ६ लाख पुगिसक्यो।

त्यसबाट ऋण लगानी भएको छ । समूहकै सदस्यले ऋण लिएर विभिन्न काम गरिरहेका छन्।सन्तोलीले नजिकै एउटा घडेरीसमेत किनिसकिन् । ‘सधैं अर्काको जग्गामा काम गरियो । आफ्नो नाममा सम्पत्ति नहुँदा धेरै दुःख पाइयो,’ उनले भनिन्, ‘आफ्नै कमाइले घडेरी किन्न पाउँदा साह्रै गर्व लागेको छ।’

बजारमा सटर लिए भाडा तिर्न नसक्ने देखेर उनले घरदैलो व्यापार सुरु गरेकी हुन् । दिनहुँ बिहान खाना पकाएर छोराछोरीलाई विद्यालय पठाएपछि फलफूल बेच्न गाउँतिर निस्कन्छिन् । २ घण्टा डुल्दा सबै बिक्री हुन्छ।

कम्लरी बस्दा काम गरे मात्र खान पाइन्थ्यो । वर्षमा दुई जोर कपडा मिल्थ्यो । बालबच्चा पढाउन, लेखाउन सम्भव थिएन । सन्तानलाई आफूजस्तै कमैया कम्लरी बनाएर राख्नुपथ्र्यो । जमिनदारको घरभन्दा बाहिरको संसार थाहा थिएन । सरकारले कमैयाको लगत संकलन गरिरहेको, परिचयपत्र बनिरहेको उनीहरूले धेरैपछि मात्र थाहा पाए । सूचीमा नामै परेन । न परिचयपत्र पाए न सरकारबाट जग्गा।

अन्त्यमा छुट कमैयाले एकजुट भएर आन्दोलन गरे । जिल्ला प्रशासनका नाममा रहेको घोराही उपमहानगरपालिका १६ सानी अम्बापुरस्थित जग्गामा एकसाथ १ सय २० परिवारले टहरा बनाए । गाउँ–गाउँमा काम खोज्दै हिँडे । मजदुरी गरेर जीविका चलाए । बस्न नसक्नेहरू छाडेर हिँडे । अहिले ५० परिवार मात्र छन्।

सन्तोलीले टहरो फेरेर पक्की घर बनाइसकिन् । जेठा छोरा सुरज स्नातक पढेर भर्खरै एक संस्थामा जागिरे भएका छन् । छोरी सिर्जना र बुहारी सिर्जना १२ कक्षा पढ्छन् । कान्छो छोरा श्रवण ९ कक्षा पढिरहेका छन् । सबैको अध्ययन खर्च सन्तोली नै धानिरहेकी छन्।

श्रीमान् चुरमान फर्निचरको काम गर्छन् । यसले पनि घर खर्चमा सहयोग पुगेको छ । ‘जति दुस्ख भोग्नु थियो, भोगियो । अब सजिला दिन आएका छन्,’ उनले भनिन्, ‘व्यवसाय गरेर राम्रैसँग बाँच्न सकिन्छ । अब बस्न–खान कुनै दुःख छैन।’

सोही बस्तीमा बस्छ, जंगबहादुर चौधरीको परिवार । सिसहनियामा जन्मेका उनी ८ वर्षको उमेरदेखि कमैया बसेका हुन् । ‘आठ वर्ष भेडा चराएँ, सात वर्ष गाईगोरु अनि दुई वर्ष खेतीपाती गरें,’ उनले गिन्ती गरे ‘ओहो, जुनी त कमैया बसेरै बितेछ।’

मुक्तिपछि उनको पनि जीवन धान्ने उपाय थिएन । लामो समय घर अनि फर्निचर बनाउने काममा मजदुरी गरे । ज्यान कमजोर हुँदै गएपछि ४ हजार रुपैयाँबाट किराना पसल थापे।

अहिले पसलबाट दैनिक १ हजार ५ सय रुपैयाँ आम्दानी हुने बताउँछन् । त्यही कमाइबाट ५ लाख खर्चेर नयाँ घर बनाएका छन् । छोरा बेचन १० कक्षा पढ्छन् । छोरीको ९ कक्षा पढेर विवाह भयो । श्रीमती सुशीला अझै मजदुरी गर्छिन्यो । खबर आजको कान्तिपुर दैनिकमा दाङबाट दुर्गालाल केसीले लेखेका छन्।

Advertise with us