आजदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान

दाङ, २५ असार। आजदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

वैशाखदेखि अहिलेसम्म प्रसस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ ।’ प्राधिकरणका अनुसार पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ ।

DG Mobile Dang

कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । भोलीदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ ।

ठूला नदी नालामा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ उपलब्ध हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।