लमही नगरका अति विपन्न असहाय जेष्ठ नागरिकलाई नगद सहयोग जारी

शिवु खनाल

देउखुरी, असार १२ । लमही नगरपालिकाले महिला, बालबालिका तथा समाजकल्याण उप–शाखा मार्फत अति विपन्न असहाय जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिएको छ । नगर भित्रका ६० जना अति विपन्न जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत लमही नगरपालिका वडा नं. १ र २ वडाका ६ जना जेष्ठ नागरिकलाई बिहिवार सम्मान गरिएको हो ।

DG Mobile Dang

लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासेको बिशेष उपस्थितीमा प्रति जेष्ठ नागरिक सात हजार पाँच सय रुपैयाँ नगद प्रदान गरेर आर्थिक सहयोग गरिएको हो । वडा नं. १ मा वडा अध्यक्ष नुमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मनिराम चौधरी, धनिराम चौधरी, फुलीराम चौधरीलाई नगद ७ हजार पाँच सयका दरले नगद प्रदान गरिएको छ ।

वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वलिराम चौधरी, शतराम चौधरी, विगु चौधरीलाई ७ हजार पाँच सय रुपैयाँका दरले सहयोग गरिएको हो । नगरपालिकाका उप–प्रमुख देवका बेल्वासेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास समितिका अध्यक्ष शोभा घिमिरे, महिला सदस्य नुमाकुमारी पौडेल, महिला, बालबालिका तथा समाजकल्याण उप–शाखाका शान्ता शर्मा, शोभा पण्डित लगायतको उपस्थिती रहेको थियो । यस अघी लमही नगरपालिका वडा नं. ४, ५ र ६ का २५ जनालाई नगद सहयोग गरिएको थियो ।