संक्रमणको जोखिममा जनप्रतिनिधी

दाङ, असार ११ । दाङमा थप १ जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा बंगलाचुली गाउँपालिका–२ का वडा अध्यक्ष र १ जना महिला स्वास्थ्य स्वयम सेविकामा कोरोना संक्रमण देखिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिएका छन्।

महिला स्वास्थ्य स्वयमसेविका वडा नम्बर १ निवासी भएपनि वडा नम्बर २ को क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको थियो। उनीहरूको स्वाब संकलन जेठको २५ गते वडा नम्बर २ को प्रावि बोढिपोखरा क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेको १७ दिनपछि रिपोर्ट आज आएको हो।

योसँगै दाङमा कोरोना भाइरस संक्रमित हुने जनप्रतिनिधिको संख्या ४ पुगेको छ । यसअघि बंगलाचुली ५ र ६ का वडा सदस्य र घोराही उपमहानगरपालिका–२ का वडा अध्यक्षहरूमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू मध्य बंगलाचुली गाउँपालिका–५ का वडा अध्यक्ष उपचारपछि घर फर्किसकेका छन्।आज १ जना स्वास्थ्यकर्मी थपिएसँगै दाङमा संक्रमित स्वास्थ्यकर्मीको संख्या १४ जना पुगेका छन्।

DG Mobile Dang

बुधबार दाङको बंगलाचुली गाउँपालिका–२ मा १ जना महिला स्वास्थ्य स्वयम् सेविका संक्रमित भएपछि जिल्लामा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १४ जना पुगेको हो। यसअघि दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५ जना, घोराही उपमहानगरपालिकामा ५ जना, गढवा गाउँपालिकामा २ जना र राजपुर गाउँपालिकामा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्द्रले जानकारी दिएका छन्।