कस्तो रहयो २०७६ साल नेपाली चलचित्रका लागि

नेपाली चलचित्रको व्यापार २०७६ सालमा पनि अघिल्ला वर्षहरूको व्यापारभन्दा माथि उठ्न सकेन । २०७६ सालमा पनि चलचित्रको व्यापार अघिल्ला वर्षहरूमा जस्तै रह्यो भन्दा पनि फरक नपर्ला । २०७६ सालमा ५६ वटाजति नेपाली चलचित्र प्रदर्शन भएको बताइन्छ । यो संख्या विगतका वर्षहरूको भन्दा आधा नै कम हो भन्दा पनि फरक नपर्ला ।

Blog Post Ad

Blog Post Ad

२०७५ सालमा सयवटाजति नेपाली चलचित्र प्रदर्शन भएका थिए । त्यसो त कतिपयले कोरोेना भाइरसका कारणले चलचित्रको प्रदर्शनमा कमी आएको हो भनेर पनि भन्लान्, तर यो सालको अन्तिमतिर मात्र कोरोना भाइरसका कारणले चलचित्रहरू प्रदर्शन नभएका हुन् । २०७६ सालमा पहिलो चलचित्र २०७६ साल वैशाख १३ गते ‘कालो वर्ष’ को प्रदर्शन भएको थियो भने अन्तिम चलचित्र फागुन १६ गते ‘धुरो’ प्रदर्शन भएको थियो ।


यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै एक दर्जन चलचित्रले मात्र सफलता हासिल गरे भन्दा पनि फरक नपर्ला । आधा दर्जनजति चलचित्रले मात्र नाफा कमाउन सके भने आधा दर्जन चलचित्रले आ–आफ्नो लगानीसम्म उठाउन सकेको र बाँकी चलचित्रका लगानीकर्ताहरूले घाटा बेहोर्नुपरेको भन्ने भनाइ रहेको छ सरोकारवालाहरूको ।

त्यसो त विगतमा भन्दा पछिल्लो समयमा नेपालमा चलचित्र निर्माण बढ्नुका साथै चलचित्र क्षेत्रमा धमाधम नयाँ–नयाँ कलाकारहरू पनि धमाधम बढिरहेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रको लागत पनि बढ्दैछ, चलचित्रहरूको बजेट बढिरहेको छ । तर, पनि चलचित्रहरूमा लगानी बढेअनुसार लागत बढेअनुसार बजार बढेको भने पाइँदैन भन्दा पनि फरक नपर्ला ।

 

नेपालमा चलचित्र निर्माणको आधा शताब्दी भइसक्दा पनि नेपाली चलचित्रहरूको बजार त्यति बढ्न सकिरहेको छैन । नेपालमा २०२१ सालतिरबाट चलचित्र निर्माण भएको थियो । नेपालमा बनेको पहिलो नेपाली चलचित्र ‘आमा’ हो, तर पनि आजको समयसम्म आइपुग्दा पनि चलचित्रको बजारले व्यापकता लिन सकिरहेको छैन ।

नेपालका चलचित्रहरूले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा बजार लिन सकिरहेका छैनन् भने नेपाली चलचित्रकर्मीहरू अहिलेसम्म पनि विदेशी प्रभावबाट मुक्त हुन सकिरहेका छैनन् । अहिलेसम्म पनि कतिपय नेपाली चलचित्रकर्मीहरू, चलचित्र निर्माणकर्ताहरू विदेशी चलचित्र खासगरी भारतीय चलचित्रहरूको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्ने गरिरहेका छन् ।

नेपालमा नेपाली चलचित्र निर्माण भएको आधा शताब्दीभन्दा बढी भइसकेको छ, तर पनि नेपाली चलचित्र निर्मार्ताहरूले विदेशी चलचित्रको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्न भने छाडेका छैनन्् । पछिल्लो समयमा निर्माण भएका केही चलचित्र विदेशी चलचित्रको नक्कल गरी निर्माण गरेको चर्चा छ ।


त्यसो त अहिलेका दर्शकहरू चुजी भइसकेका छन् । विगतमा जस्तै नेपाली चलचित्र भनेपछि आँखा चिम्लेर हेर्ने दर्शक अहिलेका छैनन् । अहिले पनि चलचित्र निर्माण गर्दा दर्शकहरूको रुचि र चाहनालाई ध्यान नदिई निर्माण गरे लगानीकर्ताहरूको लगानी डुब्नेछ, तर पनि कतिपय चलचित्र निर्माणकर्ताहरू दर्शकहरूको रुचिलाई ध्यान नदिई भारतीय चलचित्रहरूको नक्कल गरी नेपाली चलचित्रहरू निर्माण गर्ने गरिरहेका छन् ।

अहिलेका दर्शकहरू केही नयाँपन, केही आफ्नोपन र भरपुर मनोरञ्जन खोज्न थालेका छन् । त्यसो त चलचित्र भनेको मनोरञ्जनात्मक हुनुपर्छ भन्ने अधिकांश दर्शकहरूको भनाइ रहेको पाइन्छ, तर पनि नेपाली चलचित्रहरू आफ्नै परिवेश, आफ्नै गाउँठाउँको विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नुपर्छ, तर पनि चलचित्रका लागि मात्र चलचत्र बनाउनु पनि उपयुक्त हुँदैन । चलचित्रले समाजलाई रूपान्तरित गर्न सक्ने हुनुपर्छ ।

चलचित्रमा समाजको यथार्थ चित्रण गर्न सक्नुपर्छ पनि भन्ने गरिन्छ, तर पनि चलचित्रलाई मनोरञ्जजनको साधनका रूपमा लिनुपर्ने हुन्छ र चलचित्र निर्माण भनेको रहर, सोख र व्यवसाय मात्र पनि होइन । चलचित्र निर्माण भनेको कला हो, चलचित्र समाजको ऐना पनि हो भन्ने कतिपय विज्ञहरूको भनाइ छ ।

नेपाली चलचित्रहरूको बजार हेर्दा नेपालमा वर्षमा सयभन्दा बढी नेपाली चलचित्र निर्माण हुने गरेका छन् भने लगभग त्यति नै चलचित्रहरू प्रदर्शन हुने गरेका छन् ।

२०७६ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरूमा व्यापारको हिसाबमा कमाउने चलचित्रहरूमा हास्यकलाकारहरूको समूहले निर्माण गरेको चलचित्र छ माया छपक्कै, कबड्डी कबड्डी–३ जात्रैजात्रा, दाल भात तरकारी, आमा आदि चलचित्रहरूले नाफा कमाएको बताइन्छ । त्यसै गरी छ माया छपक्कै, जात्रै जात्रा र कबड्डी कबड्डीले ५१ दिन मनाएको बताउँछन् सरोकारवलाहरू । त्यसो त आमा पनि पाँचौं हप्तामा चलिरहँदा कोरोना भाइरसका कारणले प्रदर्शन रोकिएको हो भन्दा पनि फरक नपर्ला ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र आमा अरू चलचित्रहरूभन्दा अलि कम लागतमा बनेको भए पनि राम्रो व्यापार गरेको बताइन्छ । त्यसो त विगतमा ब्यानर र चर्चित कलाकार र निर्माताहरूले निर्माण गरेको बिग बजेटका चलचित्रहरूले भने राम्रो व्यापार गर्न सकेन भने निर्माताहरूले घाटा बेहोर्नप-यो ।

आफूलाई सामाजिक अभियन्ता, समाजसेवी भन्न रुचाउने हास्यकलाकार सीताराम कट्टेलले निर्माण गरेको बिग बजेटको भनिएको २ करोड ५० लाखको बजेटमा निर्माण भएको भनिएको चलचित्र सेन्टिभाइरस व्यापारको हिसाबले सफल हुन सकेन, सेन्टिभाइरस कोरोना भाइरसजस्तै भइदियो । त्यसैगरी विगतका चर्चित कलाकार निर्माता निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्र रातो टीका निधारमाले पनि राम्रो व्यापार गर्न सकेन ।

त्यसैगरी भोजपुरी चलचित्रबाट फर्केर नेपाली चलचित्रमा पुनः प्रवेश गरेका विगतका नायक विराज भट्टले निर्माण–निर्देशन गरेको र नेपाल सुन्दरी निकिता चाण्डकले पहिलोपल्ट नायिकामा अभिनय गरेको चलचित्र साङ्लो पनि व्यापारका हिसाबले असफल नै रह्यो भने ठूलै घाटा बेहोर्नुपरेको बताइन्छ । २०७६ साल नेपाली चलचित्र क्षेत्र चलचित्रको व्यापारका हिसाबले शुभ भने रहेन ।

त्यसो त पछिल्लो समयमा नेपालमा थुप्रै नेपाली चलचित्र निर्माण भइरहेका छन् । चलचित्र निर्माण बढेसँगै चलचित्रको लगानी पनि बढिरहेको देखिन्छ, तर लगानीअनुसारको प्रतिफल लगानीकर्ताहरूले पाउन सकिरहेका छैनन् । त्यसो त चलचित्र बनाउँदा रहर र सोखले कलाकर्मी बन्न र आफन्तहरूलाई चलचित्रमा प्रवेश गराउनका लागि मात्र पनि चलचित्रमा लगानी गर्नेहरू नभएका होइनन् कलिउडमा ।

यसरी चलचित्रमा लगानी गर्ने गरेका कारणले चलचित्र स्तरीय र व्यायसायिक बन्न नसकेको हो कि ? चलचित्र र चलचित्रको बजारलाई हचुवाको भरमा नलिई चलचित्रलाई आफ्नो पेसा–व्यवसाय बनाई स्तरीय व्यावसायिक नेपाली चलचित्रहरू निर्माण गर्नुपर्ने देखिन्छ ।
चलचित्र निर्माण देशको अर्थतन्त्रसँग पनि गाँसिएको हुन्छ । चलचित्रमा वर्षमा अर्बौं लगानी भइरहेको छ ।

यस कारणले पनि चलचित्र निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसो त कुनै पनि चलचित्र निर्माणकर्ताहरू आफ्नो लगानी डुबोस् भनेर चाहँदैन, प्रतिफल पाउनका लागि नै चलचित्रमा लगानी गर्ने गरेका हुन्छन् ।

त्यसो त पछिल्लो समयमा नेपाली चलचित्र निर्माणमा नयाँ–नयाँहरूको प्रवेश भइरहेको छ भन्नुपर्दा पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई नवप्रवेशीहरूले नै बोकिरहेका छन् भन्दा पनि फरक नपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *